मनांग नेपालको सवैभन्दा सानो जिल्ला हो । जसमा जनसंख्याले वसोवास गर्दछन् । समुन्द्र सतहवाट १८८० मिटरदेखि ८१६३ मिटर उचाइमा फैलिएको यस जिल्लामा १७७६ घरधुरी रहेकोछ । २१५२ हेक्टर मात्र खेतियोग्य जमिन रहेको यस जिल्लामा १९, ११६ हेक्टर बन, ४८९० हेक्टर चरण र १,८६,२८९ हेक्टर पहरो रहेकोछ । पर्यटन, जंगली जडिवुटी र पशुपालन मुख्य आयस्रोत रहेकोछ ।
तल्लो र माथिल्लो मनांगका रुपमा विभाजित यस जिल्लाको सवै क्षेत्र पर्यटनका लागि उपयुक्त रहे पनि कृषि तथा पशुपालनको रुपमा तल्लो भेगमा रहेको ६ गाविसमा भेडा÷वाख्रा पालन र ७ गाविस रहेको माथिल्लो भेगमा फलफूल खेतीका रुपमा विकास गर्न सकिने त्यहाका मानिसको भनाइ रहेकोछ ।
जेण्डर सम्बन्ध
मनांगलाई नेपालभित्र मातृसत्ता भएको जिल्लाको रुपमा पनि चित्रित गर्ने गरिन्छ । यस परम्परागत रुपमा मनांगमा विवाह गर्दा सामान्यतया महिला र पुरुषको उमेर उस्तै हुने र कहिलेकाही महिलाको उमेर पुरुषभन्दा केही बढी हुने रहेछ । यसको पछाडीको कारण विवाह भएपछि नव दम्पती आमा बाबुसंग नबसेर छुट्टै बस्ने र घरव्यवहार चलाउन महिला परिपक्व हुनपर्दछ भन्ने सोच रहेछ । विवाह गरेर महिला जाने र पुरुषले ल्याउने भन्ने सोच खासै पाइदैन । उनीहरु विवाह गर्दछन् र उपयुक्त लागेको ठाउमा आफ्नो परिवार बसाउदछन् । आमाबाबुको हेरचाहको लागि भने छोरी–छोरी भएमा जेठी छोरी ज्वाइ र छोरा भएमा कान्छा छोरा वुहारी साथमा रहने चलन रहेछ ।
परम्परागत रुपमा नै छोरीलाई पनि अंश दिने चलन रहेको यस जिल्लामा अधिकांश महिलाहरु उद्यमशिलतामा सरिक छन् ।
सम्पत्तीमाथिको अधिकांश रुपमा महिलाको स्वामित्व रहने गरेकोछ । जिल्लामा मात्र होइन, जिल्ला वाहिर समेत मनांगका मानिसको सम्पत्ती आम रुपमा श्रीमतीको नाममा रहने गरेकोछ । प्राय घरपरिवारको व्यवस्थापन महिलाको छ । पुरुषहरु कमाउ व्यवसायका लागि जिल्ला वाहिर वा विदेश नै गए पनि महिलाहरु आफ्नो व्यवशाय धानेर गाउमा बसेका छन् । यसै कारण पनि यहा महिलाहरुप्रति गरिने व्यवहार मर्यादित र हेर्ने दृष्टिकोण सम्मानजनक रहेकोछ । जिल्लामा बहुसंख्यक मानिस गुरुंग जाति भए पनि अन्य जातीका मनिसहरु पनि वसोवास गर्दछन् । तर, यस जिल्लामा जातिय विभेद तथा छुवाछुतको व्यवहार पाइदैन । सवैको विचमा समानताको व्यवहार न रहेको पाइन्छ ।
नेपालको अन्य भागमा महिलाहरु बढी पिडित हुने सामाजिक व्यवहार यहा खासै पाइदैन । यस जिल्लालाई बालविवाह, बहुविवाह र महिला हिंसा मुक्त जिल्लाका रुपमा घोषणा गर्दा पनि फरक नपर्ने त्यहाका वासिन्दाको भनाइ रहेन गरेको छ । विधवा वा विदुर व्यक्ति जिल्लामा खासै पाइदैन । सामान्यतया विवाह गर्ने उमेरमा नै कोही विधवा र विदुर भएमा अर्को विवाह गर्ने प्रचलन महिला पुरुष दुवैका लागि सामान्य रहेकोछ । तर आजकल यी व्यवहारहरुमा केही परिवर्तन हुदै पन हुन थालेको छ । यस जिल्लामा नीजि विद्यालय छैन, तर सार्वजनिक विद्यालय जाने क्रममा छोरा–छोरीमा विभेद छैन । छोरी जन्मदा खुशी हुने र छोरी नहुदा बाबुआमाले आफुलाई अभागी ठान्ने यस जिल्लामा समयमा नै उचित ध्यान दिन सक्ने हो लैंगिक समानताको दृष्टिकोणवाट नमुना जिल्लाका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावानाहरु रहेकोछ पाइन्छ यस जिल्लामा, जहा हाल राष्ट्रको प्रमुख कार्यभारको रुपमा भन्ने गरिएको आर्थिक, सामाजिक–सांस्कृतिक रुपान्तरणसहित संविधानको कार्यान्वयन परम्परगत रुपमा नै हुदै आएकोछ ।
पुर्वाधारको हिसावले शिक्षा, स्वास्थ्य, वाटो लगायतका पक्षको विकास गर्नुपर्ने धेरै काम वाकि रहेकोछ । एअरपोर्ट छ वर्षभरी प्लेन चल्दैन । मोटर वाटो जोडिएकोछ, तर ग्रावल÷पिच हुनै वाकि छ । मस्र्यांदी नदिको मुहानको रुपमा रहेको यस जिल्लामा भनाइ नै रहेछ– खोला छ, माछा छैन । फाट छ, धान फल्दैन । प्रशासननिक रुपमा अदालत छ, मुद्दा छैन । यस जिल्लाको जमिन व्यवस्थापन आफैभित्र हुने गरेकोछ । वाहिरका जिल्लाका मानिसलाई जग्गा वेच्ने खासै चलन छैन । अन्य जिल्लाका मानिस यहा शिक्षक, कर्मचारी लगायतको पेशामा मात्र रहेको पाइन्छ, जो लामो समय वसेर पनि यहा अचल सम्पत्ती जोडेको अवस्था छैन ।
सम्भावनाको केन्द्र विन्दु
जल विद्युत र जडिबुटीको अथाह सम्भावना रहेको यस जिल्ला स्याउ खेतीको राजधानी हुन सक्ने अवस्था रहेकोछ । यही सम्भावनालाई हेरेर पाल्देन छोपांग गुरुंगले भ्रातांगमा मुलुककै नमुना स्याउ खेती शुरु गरेका छन् । ७३५ रोपनीमा तिन किसिमका उच्च जातीका ६०७४२ वटा विरुवा लगाइ एग्रो मनांग कम्पनीको नामवाट स्याउको खेती शुरु गरिएकोछ ।
सन् १९५९ मा जन्मिएका गुरुंग आफ्नो बुवाको भनाइ “मान्छेले आफ्नो लागि मात्र होइन, समाज र जन्मभुमीका लागि पनि केही गर्नुपर्दछ“ लाई प्रेरणाको रुपमा लिएर यस कामको शुरुवात गरेको बताउछन् ।
काठमाडौमा रहेको होटल वेचेर स्याउखेती शुरु गरेको बताउने गुरुंग परिवारले यस कामको शुरुवात माथिल्लो मनांगको सात गाउको साझा जग्गाका रुपमा रहेको जमिन २५ वर्षको लागि लिजमा लिएर यस कामको शुरुवात २०१५ वाट गरेका हुन । रोपेको ६ महिनामा नै फल दिने यस जातको स्याउको विरुवा इटालीवाट ल्याइएको हो भने आगामी दिनमा नेपालमा नै नर्सरी बनाएर अन्य जिल्लामा पनि विस्तार गर्ने योजना उहाको रहेकोछ । स्याउ रोपेको पहिलो वर्ष नै २० हजार केजी उत्पादन दिएको यस खेतीमा यस वर्ष १४८ हजार किलो उत्पादन भएकोछ । एकपटक रोपेको विरुवाले २५ वर्षसम्म उत्पादन दिने यस योजनामाले पुर्ण रुपमा उत्पादन दिदा वार्षिक २१ लाख किलो उत्पादन हुने अनुमान गरिएकोछ ।
स्याउ खेतीको लागि आवशयक मलको लागि साथमा १०० वटा उच्च जातीको वाख्रा पाल्ने योजना रहेकोछ । प्रति वाख्रा २–३ लिटर दुध दिने यस किसिमको वाख्रालाई युरोपमा गरिवको गाइ भन्ने गरिएको उहाको भनाइ छ । यी वाख्राको दुधवाट छुर्पी, चीज लगायत उत्पादन गर्ने योजना छ भने बर्कौला र पिसाववाट ग्यासको उत्पादन गर्ने र त्यहावाट निस्किएको वेस्टेजलाई स्याउको लागि मलका रुपमा प्रयोग गरिनेछ । साना आकार र कमसल गुणस्तरको स्याउको ब्राण्डी र जुस बनाउने, त्यसवाट निस्किएको छोक्रामा अन्य जिल्लावाट मकै लगेर मिसाइ वाख्राको दाना बनाउने सहितको योजना सुन्दा लाग्छ, सिंगो इकोसिष्टमका रुपमा संचालन गर्ने सोचसहित शुरु गरिएको यो योजना त्यही रुपमा सफल भएमा अन्यका लािग पनि नमुना परियोजना सावित हुनेछ ।
नेपालमा नै नर्सरी तयार भएपछि यसलाई हुम्ला जुम्ला, मुस्तांग, रसुवा लगायतका हिमाली जिल्लामा विस्तार गर्ने योजना पनि गुरुंगको रहेको बताए । १० वर्षमा नेपाललाई स्याउमा आत्मनिर्भर बनाउने सपना सहित अगाडी बढेका गुरुंग मुलुकको आवश्यकताको ५० प्रतिशत स्याउ मनांगमा मात्र उत्पादन गर्ने सोचमा छन् । यसका लागि मनांगमा बाझिदै गएको खाली जग्गाालाई आगामी दिनमा प्लटिंग गर्ने र जग्गा धनीलाई परियोजनाको सेयरधनी बनाएर यस कार्यलाई अभियानको रुपमा अगाडी बढाउने सोच गुरुंगको छ । मुलुक नर्माणको रुपमा नमुना कामको सोच सहित शुरु भएको यस परियोजनामा पाल्देन छोपांग गुरुंगलाई सफलता मिलोस हार्दिक शुभकामना ।