सन्दर्भ– अन्तरराष्ट्रिय श्रमिक महिला दिवस २०१५
आज १०५औ अन्तररराष्ट्रिय श्रमिक महिला दिवस अर्थात मार्च ८ । इतिहासमा महिलाहरु पनि कामको क्षेत्रमा समान पारिश्रमिक, सेवा । सुविधा पाउनुपर्ने अनि समाजमा नागरिक सरहको समान अधिका
र प्राप्त हुनुपर्ने सन्दर्भमा उठेका आन्दोलन र घन्किएका आवाजहरुको सम्मान र सम्झनामा सन १९११ देखि मनाउन थालिएको प्रेरणादायी दिवस । महिला माथिको विभेद र हिंसा अन्त्यको त्यो लडाइ अझै जारी छ । यस सन्दर्भमा समानता र मानव मर्यादाको उक्त अभियानले अझै फराकिलो सहभागिता र विषयको गहिराइकोसाथ अगाडी बढ्न जरुरी छ । यस कार्यमा सफलता मिलोस भन्ने कामनासहित सवैमा हार्दिक सम्मान र शुभकामना छ ।
विश्व टे«ड युनियन आन्दोलनले यस वर्षको मार्च ८ महिलाहरुको आर्थिक स्वायत्तताको मागसहित मनाइदैछ । चौथो विश्व महिला सम्मेलन सम्पन्न गर्दै वेइजिंग ग्लोवल एक्सन पारित भएको २० वर्ष भएको छ, जसको कार्यान्वयनका लागि सवै सरकार, नागरिक समाज, ट्रेड युनियन आन्दोलन लगायतले प्रतिवद्धता जाहेर गरेका थिए । यस वर्ष २० वर्षको उपलव्धीको सिंहावलोकन गर्ने र थप रणनीति बनाउने वर्षका रुपमा संयुक्त राष्ट्र संघले लिएको छ । यस दिनको सन्दर्भमा “इम्पावरिंग विमेन–इम्पावरिंग ह्युमानिटी, पिक्चर इट” अर्थात “महिला सशक्तिकरण – मानवताको सशक्तिकरण हो । यसलाई चित्रण गरौ” भन्ने नारा तय गरेको छ ।
इतिहासमा कार्यथलोमा न्याय र समानताको लागि श्रमिक महिलाहरुले उठाएको आवाज र चालेको कदमको सम्झना र सम्मान गर्दै विश्व टे«ड युनियन आन्दोलनले यस दिनलाई विशेष महत्वकासाथ मनाउदै आएको छ । वेइजिंग सम्मेलनको विस वर्षमा सन्दर्भमा विश्व युनियन आन्दोलनलाई नजिकवाट नियाल्दा हाल युनियनको सदस्य संख्यामा महिला सहभागिता ४० प्रतिशत पुगेको छ । तर, नीति निर्णय गर्ने तह अर्थात पदाधिकारीको रुपमा १५ प्रतिशत मात्र महिला रहेका छन । विश्व श्रम बजारमा महिला श्रमशक्ति पुरुषको भन्दा २६ प्रतिशतले कम रहेको छ ।
महिला श्रमिकको बहुसंख्यक सहभागिता अझै पनि अनौपचारिक, कम पारिश्रमिक र सेवा सुविधा भएको र श्रम कानुनव्दारा संरक्षण हुन नसकेको असुक्षित प्रकृतिका काममा रहेको छ । औपचारिक क्षेत्रमा कार्यरत महिलाको पारिश्रमिकमा समेत महिला र पुरुषको विचको फरक ४ देखि ३६ प्रतिशतसम्म रहेको कुरा अन्तरराष्ट्रिय टे«ड युनियन महासंघ (आइटियुसी)को तथ्यांकले बताउदछ ।
कार्यथलोमा हुने जेण्डर आधारित हिंसाले अमानविय र असहनिय रुप लिदै आएको छ । यसको वारेमा अझै पनि अन्तरराष्ट्रिय कानुनको व्यवस्था हुन सकेको छैन भने राष्ट्रिय रुपमा पनि केही मुलुकले मात्र कानुन बनाएका छन् । तर प्रभावकारी कार्यान्वयन सवैका लािग चुनौती बनेको छ । यस सन्दर्भमा आइएलओले छुट्टै महासन्धि बनाउनुपर्दछ भन्ने कुराको अगुवाइ ट्रेड युनियन आन्दोलनको तर्फवाट आइएलओको गभर्निंग बडीमा भइरहेको छ ।
हाम्रो सन्दर्भमा युनियन आन्दोलनमा महिला सदस्यको अवस्था करिव २० प्रतिशतको हाराहारीमा रहेको छ भने कमिटीहरुमा एकतिहाइ महिला सहभागिता पु¥याउने अभियान जारी छ । श्रमजवारमा महिलाको सहभागिता ८०.१ प्रतिशत रहेकोछ, जुन पुरुषहरुमा ८७.५ प्रतिशत छ । श्रम क्षेत्रमा संलग्न औपचारिक र अनौपचारिक दुवै क्षेत्रलाई संयुक्त रुपमा हेर्दा महिलाले पाउने पारिश्रमिक पुरुषको तुलनामा ५९ प्रतिशत अर्थात महिलाले पाउने पारिश्रमिक पुरुषको भन्दा ४१ प्रतिशतले कम छ ।
कार्यथलोमा रहदै आएको जेण्डर विरुद्ध हिंसाको वारेमा भरखरै संसदवाट कानुन बनेको छ । यसको प्रचार र कार्यान्वयन गर्न सके केही राहत हुने छ । तर सिंगो समाजमा हुने हिंसा विरुद्ध नै कानुन नबनेसम्म कार्यथलोभित्र मात्र लागु हुने कानुनले समग्रमा विकराल बन्दै गएको जेण्डर आधारित हिंसामा नियन्त्रण हुने कल्पना गर्न सकिदैन । त्यसैगरी केही वर्ष पहिला बनेको घरेलु हिंसा विरुद्धको कानुनको कार्यान्वयन अपुग रहेको अनुभुती एकातर्फ छ भने भएकै प्रावधानको पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
यस परिवेसमा मनाउन गइरहेको मार्च ८ को सन्दर्भमा विश्व युनियन आन्दोलनले यस खास गरी सरकार, व्यवसायी समुदाय र युनियनहरु समेतको नीति निर्माण तहमा रहेको नेतृत्वसंग महिलाको आर्थिक सशक्तिकरणको विषयलाई आफ्नो एजेण्डामा समावेस गर्न आग्रह गरेकोछ । उसले काउन्ट अस इन अर्थात हाम्रो वारेमा चासो राख अभियान सञ्चालन गर्दै आर्थिक उत्पादन, श्रमवजार, नेतृत्व तह र नीति निर्माण प्रक्रियामा महिला सहभागितामा चासो राख भन्ने कुरामा जोड दिएको छ ।
विश्व श्रमिक आन्दोलनको पाटोको रुपमा नेपाल टे«ड युनियन महासंघले पनि यही अभियानमा सहमती र सहभागिता जनाउदै यस कार्यकालमा एकतिहाइ महिला सहभागिता र नेतृत्व विकासमा जोड दिने, सदस्य संख्यामा कम्तिमा पाच प्रतिशत बृद्धि गर्ने, परिवार र कामको विच सन्तुलन कायम गर्न पुरुषहरुलाई घरायसी भुमिकामा सहयोगी हुन अभिप्रेरित गर्ने, महिलामाथि हुने हिंसा कम गर्न शुन्य सहनसिलताको अभियान सञ्चालनमा गर्ने र जेण्डर आधारित विभेद अन्त्यको लागि त्रिलयासिल रहेन कुरामा जोड दिदै “काउन्ट अस इन” अभियानमा सहभागि हुदैछ ।
लोकतान्त्रिक आन्
दोलनवाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण अवको मुख्य कार्यभार रहेको नेपाली समाजमा जनतामा जागेको आशालाई विश्वासमा परिणत गर्दै जीवनमा अनुभुती गराउने काममा श्रमजीवी वर्गले अगुवाइ गर्नै पर्दछ । यसमा पनि सवभन्दा बढी श्रम गरेर पनि सिंगो समाजको किनारा र त्यसभित्र रहेको प्रत्येक समुदायको पिधमा रहन बाध्य पारिएको महिला समुदायलाई समाजको मुलधार र समुदायको समान सतहमा नल्याएसम्म समाज रुपान्तरणको अभिभारा पुरा हुनै सक्देन । यस कुरालाई आत्मसात गरी महिलाको अवस्था र मर्यादा परिवर्तनको प्रक्रियामा सहयोगी भुमिका सहित सहभागि हुनु समाज रुपान्तरणको पक्षपाती सवै अग्रगामी शक्तिको दायित्व नभइ रहन सक्दैन ।
अन्तमा, लोकतान्त्रिक आन्दोलनको उपलव्धीलाई संस्थागत गर्न नया संविधान निर्माणको संघारमा पुगेर पनि आफेमा रुमल्लिएका राजनीतिक दलहरुलाई पनि यस दिवसले मार्गनिर्देश गर्न सकोस र अधिकतम सहमतीकासाथ प्रत्येक नेपालीले आफुलाई सर्वार्भाैम र स्वतन्त्र नागरिकको हैसियत अनुभुत गर्न सक्ने संविधान निर्माण गर्न सफलता मिलोस । अन्तरराष्ट्रिय श्रमिक महिला दिवस– २०१५ को यही शुभकामना ।
Count us in