लोकतन्त्रमा सवैभन्दा महत्वपुर्ण संगठित संस्था राजनीतिक पार्टी हो । राज्यको केन्द्रिय तहमा नीति निर्माण गर्नेदेखि स्थानिय तहमा योजना बनाउने र कार्यान्वयन गर्नेसम्म जनताको प्रतिनिधिका रुपमा काम गर्ने राजनीतिक पार्टीका प्रतिनिधिहरुले नै हो । राजनीतिक रुपमा जनताको प्रतिनिधित्व गर्ने भनेको तिनै राजनीतिक दलका नेता÷कार्यकर्ताले हो, जो आवधिक निर्वाचनमा जनताको मतव्दारा अनुमोदित भएर आउने गर्दछन् ।
यसर्थ जव राजनीतिक दल र यसका नेता÷कार्यकर्ताहरु जनताप्रति इमान्दार, आफ्नो पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रति प्रतिवद्ध, जनताको समस्या र आवश्यकताप्रति संवेदनसिल हुनेछन्, तव जनताको मानविय सम्मान र मर्यादा उचो हुनेछ । समाज सभ्य, सचेत र नैतिकवान हुदै जानेछ । र, राजनीतिक क्रान्तिवाट प्राप्त अधिकारलाई संस्थागत गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको प्रक्रिया अभियानको रुपमा नै अगाडी बढ्ने छ । यसो हुन सकेमा मात्र नागरिकले जीवनमा लोकतन्त्रको महसुस गर्ने छन् । परिवर्तनलाई जीवनमा अनुभुत गर्न थाल्ने छन् । र, राजनीतिक नेतृत्वप्रतिको आस्था, विश्वास र भरोसामा सकारात्मक परिवर्तन आउने छ ।
अस्तव्यस्त राजनीतिका कारण आफैले मत दिएर जिताएको प्रतिनिधिप्रति पनि आशावादी हुन नसक्ने विद्यमान अवस्थालाई चिर्दै जनतामा आशा र भरोसाको अंकुरणका लागि कम से कम नेकपा एमाले पार्टीको स्थानिय तहदेखि केन्द्रीय स्तरसम्मका प्रत्येक राजनीतिकर्मीले सकारात्मक कामको शुरुवात आफुवाट गर्दै “रोल मोडल” बन्न प्रयत्न गर्नुपर्दछ ।
गञ्जागोलको राजनीतिलाई नजिर बनाएर आफु पनि त्यसैको शिकार हुनुभन्दा हरेक असल कामको शुरुवात एकजनावाट पनि हुन सक्दछ र त्यो एकजना “म किन नहुने” भन्ने कुरामा राजनीतिक नेता÷कार्यकर्ताले सोच्न र कार्यान्वयन गर्न थाल्नु आजको नितान्त आवश्यकता बनेको छ ।
यस अभियानमा प्रत्येक व्यक्तिले मनन गर्नुपर्ने कुरा के हो भने “नेता त्यो हो, जसले नया कुराको नेतृत्व गर्न, समुहलाई पनि निर्देशित गर्न र आफुसंगै हिडाउन सक्दछ ।” नेता पदभन्दा बढी क्षमता हो, दृष्टिकोण हो र आफुले मात्र ठिक काम गर्ने भन्दा पनि अरु धेरैलाई पनि सही मार्गमा प्रेरित र परिचालन गर्न सक्ने व्यक्तित्व पनि हो । नेतृत्व क्षमताका लागि कतिपय जन्मजात गुण र क्षमताले पनि साथ दिनुपर्ला, तर मुल कुरा भनेको पारिवारिक वा सामाजिक वातावरण, व्यक्तिगत पहलकदमी, नेतृत्व क्षमता देखाउने अवसर लगायतका कुराले नेतृत्व क्षमताको प्रदर्शन र विकास गर्न सहयोगी भुमिका निर्वाह गर्दछ । यसैले त जनताको बहुदलिय जनवादले भन्दछ “पहलकदमीवाट प्रतिष्पर्दाको विकास र प्रतिष्पर्दावाट श्रेष्ठता” हासिल गर्दै जनकार्यमा जुट्न सक्नु नै असल नेतृत्वको विकास गर्ने र समाजमा स्थापित गर्दै जाने तरिका हो ।
नेता र नेतृत्वको परिभाषा क्षेत्र अनुसार फरक हुन्छ । फौजमा भनिने नेतृत्व निर्देशनात्मक हुने गर्दछ भने सामाजिक क्षेत्रको नेतृत्व आम रुपमा समन्वय र सहकार्यमा आधारित हुन्छ । राजनीतिक नेतृत्व यी दुवैभन्दा फरक हुन्छ र हुनुपर्दछ । संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको नेपाली समाजको राजनीतिक नेतृत्वमा सोही प्रणाली सुहाउदो व्यवहार हो । जसलाई सामाजिक रुपान्तरणको प्रक्रियासंगै थप विकसित र सुदृढ गर्दै लैजानका लागि लोकतान्त्रिक प्रणाली अनुसार मुल्य, मान्यता, प्रबृत्ती र प्रक्रियालाई अझ सुदृढ गर्दै जानु हो । यसको लागि आधारभुत रुपमा “राजनीति समाज सेवाको सवैभन्दा उच्चतम रुप हो” भन्ने कुरालाई यस क्षेत्रमा लाग्ने सवैले स्विकार गर्न सक्नुपदर्छ । न कि राजनीति कुनै कमाउ धन्दा वा पेशा । यही मान्यतालाई स्थापित र विकसित गर्दै लानका लागि सिंगो सामाजिक आन्दोलन, नागरिक समाज, सञ्चार क्षेत्र लगायत सवैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्दछ । त्यसो हुन सक्यो भने मात्र राजनीति पनि सुध्रन्छ र राजनीतिक नेतृत्वप्रतिको आदरभाव र सम्मान पनि उचो हुन सक्दछ । यसो हुनु भनेको सवैे नागरिकले मानवीय मर्यादा र सम्मानपुर्ण जीवनको अनुभुती गर्न पाउनु पनि हो ।
राजनीतिक नेतृत्वमा समाज सम्बन्धि विषयमा आधारभुत ज्ञान, अनुभव र सीप हुनु जरुरी छ । हाम्रो जस्तो पछाडी परेको समाजमा नेतृत्वका रुपमा विकास हुनका लागि लामो अनुभव र निरन्तरताको पनि आवश्यकता हुन्छ । हरेक समय नया कुरा सिक्ने र व्यवहारमा लागु गर्ने तत्परता र प्रबृत्ती नेतृत्वमा हुनुपर्ने अत्यावश्यक गुण हो । अन्यथा आजको तिव्रगतिमा परिवर्तन हुदै गएको दुनियामा राजनीतिक नेतृत्व गर्छु भन्ने व्यक्तिले त्यसलाई पछ्याउन नसक्ने हो भने परम्परागत नेतृत्व शैलीले समाजलाई समयसंगै हिडाउन सक्दैन । र, जनताको आस्था र विश्वास कायम राख्न सकिदैन । जसको परिणाम कि त विकल्पमा नया नेतृत्व अगाडी आउछ र पुरानो नेतृत्व पछाडी पर्नेछ या जनतामा निराशा बढ्दै जान्छ र सिंगो समाज नै पछाडी पर्दै जानेछ ।
अर्को कुरा राजनीतिक नेतृत्वले समयको आवश्यकताको पहिचान गर्दै व्यक्तिको क्षमता र संस्थाको आवश्यकता अनुसार जिम्मेवारी दिने र लिने कुरामा ध्यान दिन सक्नु पर्दछ । यसो गर्दा मात्र सम्बन्धित व्यक्तिले पनि आफ्नो क्षेत्रमा थप विज्ञताको विकास गर्न सक्दछ भने संस्थाले पनि व्यक्तिमा भएको क्षमताको भरपुर उपयोग गरी अधिकतम उपलव्धी लिन सक्दछ ।
सफलता सानै किन नहोस, त्यसले सम्बन्धित व्यक्तिलाई थप प्रेरणा र प्रोत्साहन दिने गर्दछ । सफलताले हरेक व्यक्तिमा सुखद अनुभुती दिनुको साथै सिंगो टिम र मातहत कमिटीलाई समेत प्रोत्साहित गर्दै थप गतिशिलता र जागरुकता संप्रेषण गर्दै परिचालित हुन सहयोग गर्दछ ।
कमिटीगत रुपमा भन्दा हरेक नेता माथिल्लो तहको आखामा कार्यकर्ता हो भने मातहतको लागि नेता हो । यसर्थ उसले संधैभरी यो दुवै भुमिकालार्ई दिमागमा राखेर नै आफ्नो क्रियाकलाप गर्नु जरुरी छ । परिवर्तनको पक्षमा क्रियासिल हरेक व्यक्ति आफ्नो क्षेत्र र विषयको अगुवा हो र हुन सक्नुपर्दछ । “ज्ञान, सीप र क्षमतामा कुनै पनि मानिस कहिले पनि पुर्ण हुदैन” भन्ने कुरालई आत्मसात गर्दैै हरेक कुराको जिम्मेवारी लिने व्यक्तिदे आफ्नो विषयको स्पष्ट जानकारी राख्ने र विषयबस्तुमा परिष्कृत हुदै जान सिक्ने क्रमलाई निरन्तरता दिनु पर्दछ । यसको लागि अध्ययनलाई जीवनको एउटा अनिवार्य पाटो बनाउन सक्नु पर्दछ । खास गरी राजनीतिक आन्दोलनमा एउटा विश्वास छ “अध्ययन विना निरन्तर काममा मात्र घोटिने कार्यकर्ता भन्दा कम्तिमा दिनमा एक÷दुई घण्टा अधययन गर्ने र वाकी समय काम गर्ने कार्यकर्ता दिगो, सक्षम, प्रतिस्पर्दी, सिर्जनसिल र सचनात्मक हुन सक्दछ ।” किन कि नेतृत्व आफै विषयमा अलमल भयो वा दोमन हुन थाल्यो भने निर्णय लिनसक्ने र टिमलाई हाक्न सक्ने क्षमतामा हस आउछ । अन्तत परिणाम उसमाथिको वाह्य विश्वास र अपेक्षा घट्न थाल्दछ भने आफैमा पनि निरासा बढ्ने र सक्रियता घट्न थाल्दछ । यो कुनै पनि क्षेत्रको अगुवाका लागि राम्रो कुरा होइन ।
यसर्थ नेतृत्वले आफुमा अनुभव, अध्ययन, कामको लगनसिलतावाट प्राप्त ज्ञान र सीपलाई व्यवस्थित बनाउन र अझै परिष्कृत बनाउने काममा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।
नेतृत्वमा हुनुपर्ने अर्को गुण भनेको फराकिलो सोच र खुल्ला व्यवहार पनि हो । संकुचित सोच र शंकास्पद व्यवहार भएको मानिसले कुनै पनि क्षेत्रमा सफलतापुर्वक नेतृत्व दिन सक्दैन । काम गर्ने सन्दर्भमा कतिपय विचारहरु आफुलाई मन नपर्ने पनि हुन सक्दछ । तर पनि त्यसलाई हार्दिकतापुर्वक सुन्न र सिंगो संस्था र समाज उपयोगी रहेछ भने ग्रहण गर्न सक्ने धैर्यताले मात्र कुनै पनि व्यक्तिलाई नेतृत्वको रुपमा स्थापित गर्दछ । “मन नपरेको मानिसको सासै गन्हाउने” भन्ने नेपाली उखानको प्रबृत्तीवाट मुक्त हुन नसक्ने व्यक्ति आजको दुनियामा स्थापित नेतृत्व हुन सक्दैन ।
त्यसै गरी कुरा परिवर्तनको गनेर्, तर आफ्नै वोलाइ अनुसारको व्यवहार गर्न नसक्ने व्यक्तिमाथि भरोसा कम हुदै जान्छ । यस विषयमा नेतृत्व चनाखो हुनुपर्दछ । आफुले अंगालेको नीति, सिद्धान्त, भनेका कुरा र अरुमा गरिएको परिवर्तनको अपेक्षा नेतृत्वले आफुमा पनि लागु गर्ने निरन्तर प्रयत्न जारी राख्नुपर्दछ ।
नेतृत्वले जनता, आफ्नो वर्ग र समुहको साचो रुपमा प्रतिनिधित्व गर्न सक्नुपर्दछ । व्यवहारलाई नीति र कार्यक्रमसंग एकतावद्ध र परिवर्तनशिल बनाउदै लैजान सक्नुपर्दछ । सामुहिक नेतृत्व विकास र सुदृढ गर्नुकासाथै टिमका सदस्यलाई प्रोत्साहित गर्दै अगाडी बढ्न सक्नुपर्दछ
समस्या पहिचान गर्नुकासाथै त्यसलाई प्राथमिकताको क्रममा राख्ने र सही समाधानको उपाय सुझाउदै अगाडी बढ्न नेतृत्वले अगुवाको भुमिका निर्वाह गर्न सक्नुपर्दछ ।
नेतृत्व सफल हुनका लागि उसको जनतासंग निरन्तर सम्पर्क र सम्बन्ध हुनुपर्दछ । अन्यथा उसको ज्ञान, अनुभव र जनतासंगको घनिष्टता कम हुदै जान्छ र जनतासंग अलग हुदै जाने क्रमले जनभावनाको प्रतिनिधित्व गर्न सक्ने क्षमतामा हस हुन्छ । जो नेतृत्व विस्थापनको कारक बन्न सक्दछ । यस विषयमा जहिले पनि चनाखो हुन जरुरीछ ।
गल्ति मानविय पक्ष हो र हरेक मानिसले काम गर्ने सन्दर्भमा कमजोरी गर्दछ । तर महत्वपुर्ण कुरा उसले आफुले गरेको कमजोरीलाई कत्तिको सहर्ष रुपमा स्विकार गर्दछ र सुधार गर्नका लागि तयार हुन्छ भन्ने कुरा हो । जसले आफुले गरेको गल्ती र कमजोरीलाई हार्दिकतापुर्वक स्विकार गर्दछ र सहजतापुर्वक सच्याउन तयार हुन्छ, उप्रति आम जनता र समुहका सदस्यहरुको आस्था र विश्वास बढ्दै जान्छ । यो गुण हरेक नेतृत्वको लागि महत्वपुर्ण सम्पत्ती हो ।
तर, जसले आफुले गरेको कमजोरी वा गल्तीलाई ढाकछोप गर्ने वा लुकाउने प्रयत्न गर्दछ, त्यस्तो प्रबृत्तीले नेतृत्वमाथि शंका बढाउने र विश्वास घटाउने काम गर्दछ । जसले इमान्दारितामाथि नै प्रश्न चिन्ह खडा गरिरहन्छ । यस्तो प्रबृत्तीवाट नेतृत्व संधै अलग रहन सक्नुपर्दछ ।
नेतृत्वले आफुभन्दा माथिल्लो कमिटी वा तहका नेतृत्व, समकक्षी साथिहरु र मातहतको कमिटी वा कार्यकर्तासंग निरन्तर र घनिष्ट सम्बन्ध राख्न सक्नुपर्दछ ।
नेतृत्वले कसैलाई पनि “आफ्नो र अर्काे” को भाव राख्नु हुदैन । यस्तो भाव राख्ने नेतृत्वले कार्यकर्ता र सदस्यमाथि त अन्याय गर्दछ नै, आम जनतालाई समेत अन्याय गर्दछ । खास गरी राजनीतिक नेतृत्वले यस विषयमा अझ धेरै सोच्नुपर्दछ । लामो समयसम्म राजनीतिक आन्दोलनमा क्रियासिल आफ्नो पार्टीको कार्यकर्तालाई समेत क्षमता, अनुभव, ज्ञान, आवश्यकता, रुची, विज्ञताको आधारमा परिचालन गर्ने काम हुदैन भने त्यस्तो नेतृत्वले जनताको भलो गर्दछ भनेर कसैले पनि विश्वास गर्न सक्दैन । यस विषयमा असाध्यै चनाखो हुनु आवश्यक छ ।
आफैभित्र समेत विभेद गर्न थालियो भने यस किसिमको व्यवहारले मानिसहरुलाई अलमलमा पार्दछ । कार्यकर्ता र सदस्यको क्रियासिलता र निरन्तरतामा असर गर्दछ । निराश बनाउदछ र जसले गर्दा उनीहरुको सिर्जनसिलतामा हस आउदछ ।
गलत नेतृत्व आफ्नो प्रशंसामा प्रफुल्ल हुने र आलोचनाप्रति पुर्वाग्रही बन्ने गर्दछ । यस्तो प्रबृत्तीले पार्टी वा संगठनभित्र सामुहिक नेतृत्व विकास हुन दिदैन । यस्तो प्रबृत्तीले भविष्यका लागि वैकल्पिक नेतृत्वको पनि विकास हुन दिदैन । अन्तत नेतृत्व हस्तान्तरणमा समस्या आउदछ । किन कि जुनै पनि नेतृत्व अजम्वरी छैन । एक दिन त नेतृत्व छाड्नै पर्दछ । यसका लागि सक्षम नेतृत्वले आफु पछाडीको पुस्ता समयमा नै तयार गर्दछ । भनिन्छ “नेताले नेता जन्माउछ, पछुवा होइन” । आफुपछिको नेतृत्व पुस्तालाई कत्तिको क्षमतावान र प्रतिस्पर्दी रुपमा विकास गरेको छ भन्ने आधारमा हरेक नेतृत्वको मुल्यांकन गर्ने गरिन्छ । धामी÷झाक्री प्रबृत्तीमा जस्तो एउटा नरहेपछि सवै सकियो भन्ने प्रबृत्ती राजनीतिक नेतृत्वमा विलकुल देखिनु हुदैन ।
यसर्थ आजको बदलिदो परिवेसमा समाजको रुपमान्तरणको अगुवाइ गर्छु भन्ने हरेक व्यक्तिले उल्लेखित महत्वपुर्ण बुदाहरुमा ध्यान दिनै पर्दछ । अन्यथा अवको दुनियामा कसैले भनेको वा लेखेको आधारमा भन्दा पनि जनता र मातहतका कार्यकर्ताले देखेको र भोगेको आधारमा नेतृत्वप्रतिको धारणा बनाउनेछन् । कसलाई स्थापित गर्ने र कसलाई विस्थापित गर्ने भन्ने कुराको लेखाजोखा र न्यायनिसाफ अव माथिवाट होइन, जनता वा मातहतका कार्यकर्तावाट हुनेछ । सवेलाई चेतना हुनुमा कल्याण छ ।