समय सवैभन्दा बलवान कुरा हो । मानव जीवन र समाज मात्र होइन, प्रकृती समेत समयको प्रवाहसंगै परिवर्तित हुदै अगाडी बढ्छ । मानव जीवनसंग सम्बन्धित पक्षले त समयसापेक्ष परिवर्तन हुनुको विकल्पै हुदैन । कसैले पनि समयको गतिसंगै परिवर्तन हुन सकेन वा चाहेन भने दोषको भागिदार हुने मात्र होइन, सजायको समेत भागिदार हुनुपर्ने अवस्था समयक्रमले नै निर्धारण गर्दछ । यसर्थ, हाम्रो सोच, व्यवहार, विश्वास र जीवनशैलीलाई पनि समयको गतीसंगै परिवर्तन गर्न जरुरीछ । समय अनुसार हाम्रा सोच, व्यवहार र संस्कार संस्कृतीमा रुपान्तरण गर्न सकेनौ भने परम्परादेखि चल्दै आएका कतिपय असल संस्कार संस्कृती समेत कि त लोप भएर जान्छ कि त अपभ्रंषीत रुपमा प्रकट हुने गर्दछ ।

सन्दर्भमा तीज

तीजलाई नेपाली महिलाहरुको मौलिक पर्वको रुपमा लिने गरिन्छ । परम्परागत रुपमा भन्दा आर्य समाजका महिलाहरुको पर्वका रुपमा मनाइने तीज आज आम महिलाको साझा पर्वको रुपमा विस्तार हुन थालेको छ । परम्परागत रुपमा तीज पर्वका दुइ पक्ष छन् । एउटा पक्ष असाध्यै मानवीय छ, जसले पारिवारिक र सामाजिक सम्बन्धलाई दरिलो र कसिलो बनाउदछ । दोस्रो पक्ष यति अमानवीय छ कि हरेक मानवलाई जन्म दिने आमा समुदायका महिलालाई अछुत, अशुद्ध, पापकर्मी वा अधर्मीको रुपमा व्यवहार गर्दछ ।

तीज पर्वको पहिलो सन्दर्भ, खास गरेर विवाह गरेर पठाइएका छोरी चेलीहरु माइती आउने, पारिवारिक पुनरमिलन हुने र आपसमा सुखदुख वाड्ने र पुनरताजकी गर्ने पर्वको रुपमा यस चाडलाई लिइन्छ । शहरी क्षेत्रमा यस पक्षको महत्व कम हुदै गए पनि ग्रामिण भेगका महिलाहरुको जीवनमा यो पक्षले अझै पनि विशेष महत्व राख्दछ । महिनौदेखि विछोडिएका आमा–बुवा, दाजु–भाइ, दिदि–वहिनी र साथि–संगीसंग भेटघाट गर्ने, भएको मिठामसिनो खाने र रमाइलो गर्ने यस पक्ष ग्रामिण नेपालमा आज पनि सान्दर्भिक छ ।

परम्परागत रुपमा भन्दा यस पर्वमा जम्मा भएका साथिसंगी मिलेर गीतको माध्यमवाट पारिवारिक रुपमा भोगेको दुख र पिडाहरु पोख्ने गरिन्थ्यो । अलि पछि जव महिलाहरु संगठित हुन थाले । चेतना बढ्न थाल्यो । राज्य व्यवस्थासंग अधिकारको माग गर्ने चरणमा पुगे । तीज पर्वलाई महिला समुदायमाथिको थिचोमिचो, शोषण र दमनको विरुद्ध चेतना छर्ने र मुक्तीका लागि संगठित हुन आव्हान गर्ने अवसरको रुपमा प्रयोग गर्न थालियो । यस क्रममा खास गरेर २०४० देखि २०४७ को विचमा थुप्रै पटक दर्जनौ महिलाहरुले प्रहरी दमनको सामना गर्दै कष्टडीको यातना भोगेको इतिहास छ । बहुदलिय व्यवस्थाको आगमनसंगै यस किसिमका पर्वहरुलाई परिवर्तनकारी शक्तिहरुले कसरी उपयोग गर्ने भन्ने स्पष्ट दिशा दिन नसक्दा कतिपय सन्दर्भमा यो पर्व विकृत रुपमा समेत देखा पर्न थालेको आभाष हुन्छ । तीजमा गाइने गीत संगितको मौलिकता हराउने मात्र होइन, खासगरेर शहरी क्षेत्रमा महिनौसम्म भोजभतेर चल्ने र गहना कपडा प्रदर्शनको प्रतिष्पर्दा नै चल्न थाले झै लाग्छ । मुलुक अहिले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको मुल कार्यभारकासाथ अगाडी बढिरहेको सन्दर्भमा रुपान्तरणका पक्षपाती शक्तिहरुले यस किसिमका पर्वहरुसंग जोडिएको पारिवारिक र समाजिक सम्बन्ध विस्तारको मौलिक पक्षलाई जोगाउने र भड्किलोपन हटाउने विषयलाई पनि आफ्नोे एजेण्डासंग जोड्न सक्नुपर्छ।

यस पर्वको अर्को पक्ष रुढिवादीतासंग जोडिएकोछ । त्यसका कतिपय पक्ष आजको संविधान र कानुनसंग समेत वाझिन्छ । त्यस्ता पक्षलाई हटाउनै पर्दछ । तीज पर्वसंग जोडिएको रातभर खाने र दिनभर पानी पनि नखाइ व्रत वस्ने कुराले पर्न सक्ने नकारात्मक असरको वारेमा जानकारी राख्न र व्रतसंग जोडिएर विश्वासको रुपमा रहेको अन्धविश्वासयुक्त व्यवहारमा सुधार गर्न जरुरी छ । यस सन्दर्भमा, खास गरेर परिवारभित्रैका महिला र पुरुष सवैले आजको परिवर्तित जीवनशैलीका कारण देखा पर्दै गरेका नया–नया स्वास्थ्य समस्या, लामो समय भोकै वस्दा त्यसले पार्नसक्ने दिर्घकालिन असर, त्यससंग जोडिएर आउने आर्थिक पक्ष लगायतको विषयमा समेत छलफल गर्दै हरितालिका तीजका नाममा निराहार व्रतसंग जोडिएर विश्वासको रुपमा रहेको अन्धविश्वासको अन्त्यको पहल गर्न जरुरीछ ।

त्यसैगरी, श्रृषी पञ्चमीसंग जोडिएको परम्परा अन्धविश्वसमा आधारित र महिलाप्रतिको विभेद मात्र होइन, संविधान र कानुनसंग समेत वाझिएको छ । यो दिनमा गरिने गतिविधिको सम्बन्ध महिलाको महिनावारीसंग गासेर हेरिन्छ । महिलाहरु महिनावारी हुदाको वखत अशुद्ध र अछुत हुन्छन् र त्यतिखेर उनीहरुले कतिपय स्थानमा जान र छुन हुदैन भन्ने रुढिवादी मान्यताका आधारमा, यदी अन्जानमा गइएको वा छोइएको रहेछ भने त्यसको पाप कटौती गर्ने नाममा पंचमीको दिन गोवर, माटो लगायत विभिन्न समग्रीको प्रयोग गरी नुहाएर आफ्नो पाप कट्टी गर्ने पर्वका रुपमा लिइन्छ । यसरी महिनावारीसंग जोडेर आर्य समाजका सिंगो महिला समुदायलाई दिन दहाडै सामुहिक रुपमा पापी वा अधर्मीको रुपमा व्यवहार गर्नु सरासर गलत मात्र होइन, महिला विरुद्धको हिंसाको चरम रुप पनि हो ।

संविधानको उलंघन र राजनीतिको लज्जा

आजको दुनियामा ती महिला वा पुरुष जसले विज्ञान र स्वास्थ्य शिक्षा सम्बन्धि सामान्य मात्र पनि ज्ञान राख्दछन्, उनीहरुलाई थाहा छ महिनावारी न पाप र धर्मको विषय हो, न त शुद्ध र अशुद्धताको नै । यो हरेक महिलाको स्वास्थ्य अवस्थासंग जोडिएको नियमित र प्राकृतिक कुरा हो । तथ्य कुरा यही हो कि महिलाको महिनावारी कै कारण आज मानव समाजले निरन्तरता पाएकोछ । अर्को कुरा, त्यही अवस्थामा रहेका अन्य समुदायको महिलालाई अछुत वा अशुद्ध मानिदैन । अनि, आर्य समाजका महिलामाथि अशुद्धता र पाप नामको अन्धविश्वासको आडमा अझै पनि यो दुष्कर्म थोपरिनु एक्काइशौ शताव्दीको चेतना र विज्ञानको विकासमाथिको उपहास हो । सात दशकको निरन्तर आन्दोलनपछि प्राप्त गणतन्त्र र समाजवाद उन्मुख भनिएको नया संविधानको उल्लंघन हो । परिवर्तनका वाहक राजनीतिक र सामाजिक नेतृत्वदेखि अभियन्तासम्मको लज्जा हो ।
संविधानको धारा १८ मा कसैलाई पनि स्वास्थ्य अवस्थाको आधारमा विभेद गर्न नपाइने कुरा उल्लेख छ । उक्त संविधानको घोषणा भएको दुइ वर्ष हुन लाग्दा समेत महिलाहरुले महिनावारी भएकै कारण घरभित्र पस्न र सुरक्षित ठाउमा बस्नसम्म नपाएर गोठमा वस्नुपर्ने अमानवीय व्यवहारको कारण आज पनि कैयौ नेपाली छोरीहरुले अनाहकमा जीवन गुमाउनुपर्ने वाध्यताले दुनियाको अगाडी उत्कृष्ट संविधानको उछित्तो काडेको छ ।

अझ संविधानको कार्यान्वयनको प्रमुख दायित्वकासाथ निर्वाचन जितेका जनप्रतिनिधिसमेत छाउगोठमा वसेको समाचार पत्रपत्रिकामा आउनु आफैमा विडम्वना हो । यीनै दृष्टान्त समेतलाई ध्यानमा राखेर भरखरै संसदवाट पारित फौज्दारी संहिताले महिनावारी हुदा वा सुत्केरी हुदाको शारिरीक अवस्थाको आधारमा अछुत वा अशुद्धताको व्यवहार गर्नेलाई तीन महिना जेल वा तीन हजार रुपैया जरिवाना वा दुवै सजाय हुनसक्ने (दफा १६८) कानुन पारित भएको छ । अव पनि महिलालाई अछुत वा अशुद्धको नाममा विभेद कायम राखिएमा रुपान्तरणको नारासहित मैदानमा आएका सम्बन्धित दलका नेता÷कार्यकर्ताको शिर झुक्नुपर्ने हो । तर, विडम्वना तिनै राजनीतिक र सामाजिक अभियन्ताहरु समेत आफ्नै परिवारका महिला यो कुसंस्कार र कुपरम्परालाई पछ्याउदै पाप र अशुद्धतावाट मुक्त हुन पञ्चमी नुहाउन जादैगर्दा विज्ञान र कानुनका कुरा बुझाउनुका साटो चुपचाप बस्ने मात्र होइन, खुट्टा धोएको पानी खाने र खान दिने कुसंस्कारको निरन्तरताले संविधानको मुल मर्म प्रस्तावनाकै धज्जी उडाएकोछ ।

आशा गरौ यस पटकवाट कम्तिमा पनि संविधान र कानुनका निर्मातादेखि कार्यान्वयनको नेतृत्व गर्ने दायित्व वोकेर निर्वाचित भएका जनप्रतिनिधिहरु र सुशासनको माग गर्दै मतदान गर्ने नागरिकहरुले महिलामाथिको यो कुसंस्कारयुक्त परम्पराको अन्त्य र नया संविधान र कानुन कार्यान्वयनलाई व्यवहारिक रुप दिदै सुशासन र सुसंस्कारको शुरुवात घरैवाट थाल्ने छन् । समानताको लागि मैदानमा देखा परेका आम महिलाहरुले परिवर्तन आफैवाट शुरु गर्नेछन् । संस्कार र संस्कृतीका नाममा हुने गरेका तर समय क्रममा संविधान र कानुन विपरित हुन पुगेका रितिरिवाज र रुढिवादी व्यवहारको अन्त्य हुनेछ । सामजिक सम्बन्ध र चाडपर्वका मौलिक पक्षलाई जनचेतना र जनचासो विस्तार गर्ने रुपमा विकास गरिनेछ ।

चाडपर्वकाे रुपान्तरण – सन्दर्भमा तीज

http://kantipur.ekantipur.com/news/2017-08-24/20170824070107.html चाडपर्वकाे रुपान्तरण