सभासद कोष खोसाखोस
Copied from Net
काठमाडौ, अषाढ ४ – निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सभासदले चुनिएको या आफूले छानेको क्षेत्रमा सरकारी १० लाख रुपैयाँ खर्च गर्न पाउँछन् । त्यो कार्यक्रमको नियमावलीमा सम्बन्धित सभासदले आफ्नो सिफारिसमा कार्यान्वयन गरेका कार्यक्रमको वर्षमा कम्तीमा एकपटक अनुगमन गर्नुपर्ने व्यवस्था छ । तर महालेखा परीक्षकको ४८ औं वाषिर्क प्रतिवेदन ०६७ का अनुसार अघिल्लो वर्ष ‘अधिकांश जिल्लाले (ती कार्यक्रमको) अनुगमन गरेको पाइएन ।‘
एक सभासदको सिफारिसमा रूपन्देही जिविसले गोनाहा गाविसस्थित स्थानीय बासिन्दालाई तालिम दिन कम्प्युटर किनेर उपलब्ध गराउने एक युवा क्लबसँग सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । ‘उक्त क्लबले ४ लाख ५० हजार रुपैयाँमा कम्प्युटर किनेको बिल जिविसमा पेस गरी भुक्तानी लिएको छ,’ प्रतिवेदन भन्छ, ‘ती कम्प्युटर प्रयोगका सम्बन्धमा आश्वस्त हुन सम्बन्धित गाविसमा ०६७ पुस ७ मा निरीक्षण गर्दा त्यो क्लब नै पत्ता लागेन । जिविसका कर्मचारीमार्फत सम्बन्धित गाविस सचिवसँग सम्पर्क गर्दा उक्त क्लब तथा कम्प्युटरका विषयमा जानकारी नरहेको बताइयो । अतः यस सम्बन्धमा छानबिन हुनुपर्छ ।‘
सभासदले कुनै पनि गैरसरकारी संस्था वा व्यक्तिलाई आर्थिक सहायता दिने, दामासाहीले रकम बाँड्ने, कुनै राजनीतिक वा तिनका भ्रातृ संगठनलाई आर्थिक सहायता दिने गरी कार्यक्रम छनोट तथा सञ्चालन गर्न नपाउने नियमावलीले तोकेको छ । दोलखाका तीन सभासदले भने एक एफएम सञ्चालन गर्न ३ लाख र एक सभासदले व्यक्तिलाई ५० हजार आर्थिक सहायता दिएको महालेखा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै तनहुँका चार सभासदले सहिद परिवारलाई आर्थिक सहायताबापत ८ लाख बाँडेको र बाराका दुई सभासदको सिफारिसमा पत्रकार महासंघलाई एक लाख ५० हजार दिएको फेला परेको छ । त्यस्तै बैतडीका तीन सभासदको सिफारिसमा सहिद स्मृति भवन र दशरथ चन्द स्मृति भवन बनाउन १४ लाख ६० हजार र स्याङ्जाका दुई सभासदको सिफारिसमा बीपी स्मृति प्रतिष्ठान र मदन-आश्रति स्मृति प्रतिष्ठान बनाउन सात लाख ९४ हजार भुक्तानी दिएको महालेखाले जनाएको छ । ‘ती भवन रहेको जग्गा संस्थाको नाममा दर्ता भएको प्रमाण पेस भएन,’ प्रतिवेदनमा उल्लेख छ ।
एक आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिने ५० हजारभन्दा बढी लागत भएका बढीमा सातसम्म कार्यक्रम छनोट गरी सम्बन्धित जिविसको कार्यालयमा पहिलो चौमासिकभित्र पेस गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था छ । तर रूपन्देही जिल्लाका १२ सभासदले दोस्रो चौमासिक अन्त्यमा चारदेखि १४ सम्म कार्यक्रम बनाई पेस गरेको महालेखाले पत्ता लगाएको छ । ‘आर्थिक वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेमा तेस्रो चौमासिकको अन्त्यमा १ करोड ४ लाख १६ हजार पेस्की दिएको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘कानुनविपरीत हुने गरी कार्यक्रम बनाउने, पेस गर्ने तथा पेस्की लिने दिनेजस्ता कार्यलाई नियमसम्मत मान्न सकिएन ।‘
कार्यविधिमा कम्तीमा ५० प्रतिशत रकम पूर्वाधार निर्माणमा खर्च गरिनुपर्ने भने पनि सभासदहरूले बढीजसो अनुदान र सहयोगमा खर्च गरेका छन् । विद्यालय, गुम्बा, रेडियो र स्मृति प्रतिष्ठानमा अनुदानका रूपमा रकम हालेर निर्वाचन क्षेत्र कार्यक्रमको रकम सकेको पाइएको छ । योजना अर्कै खर्च पार्टी काममा गरेको आरोप पनि निर्वाचन क्षेत्रवासीले लगाएका छन् ।
पूर्वाधार विकासमा जलविद्युत् आयोजना, खानेपानी, पुलमा, महिला, दलित, जनजाति र आयआर्जनमा खर्च गरेर नीति अवलम्बन गरेको देखिन्छ । बाँकी रकम सामान खरिद, अनुदान, सहयोगको बिल भर्पाई पेस गरेर क्षेत्र विकास कार्यक्रमलाई निष्प्रभावी बनाएको पाइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम प्रायः बिल भर्पाई पेस भएकै आधारमा भुक्तानी र फछ्र्योट हुने गरेको आरोप छ । मूल्यांकन, अनुगमन र भुक्तानीको कडाइलाई सभासदको पदले किचेपछि जिविसबाट कार्यविधि र नियमावलीलाई अनुशरण गरिँदैन । जिविसका कर्मचारीहरूका अनुसार सभासदका रकमहरू धेरैचाहिँ कागजी प्रक्रियामा सीमित रहेको छ । सभासदहरू विद्यालयलाई दिएको रकमप्रति बढी सन्तुष्ट छन् ।
रुकुम संवाददाता कृष्णप्रसाद गौतमका अनुसार बितेका तीन वर्षमा जिल्लाका चार सभासदले १ करोड २० लाख रकम खर्च गरे पनि देखाउन मिल्ने केही बनेको छैन । आफ्नो र वरपरका गाविस तथा पार्टीका कामकाजमा सभासदले पैसा खर्चेकाले प्रभावकारी हुन नसकेको हो । माओवादीका चार सभासदले आव ०६५/६६ को बजेट आफ्नो पार्टीको लगानी रहेको एफएम र माओवादीकै सक्रियतामा बनेको सहिद स्मृति भवनका लागि जग्गा किन्न खर्चे । कमला रोका र लोकेन्द्र बिष्टले भवन बनाउन खलंगा सेगाउमा जग्गा किन्न १०/१० लाख खर्चे भने सानीभेरी एफएमको स्तर वृद्धिका लागि जनार्दन शर्मा र जुनकुमार रोकाले १०/१० लाख दिए । अघिल्लो आवमा रोकाले आफू सदस्य रहेको माओवादीद्वारा सञ्चालित बलिदान जनकम्युनमा बाख्रापालनका लागि १ लाख ९० हजार दिइन् । चालू वर्षमा सोही बाख्रापालनमा ३ लाख ५१ हजार, कृषि औजार साना उद्योगमा २ लाख २५ हजार, रन्मामैकोटको पेल्मामा स्याउ खेतीका लागि २ लाख २५ हजार तथा कृषि वन तालिममा ९८ हजार खर्च गरेकी छन् ।
सभासद शर्माले केही विद्यालयको भवन निमर्ाण कोषको बजेट खर्च गरे । त्यस्तै, माओवादीद्वारा सञ्चालित वासु स्मृति नमुना विद्यालयका लागि १ लाख ९० हजार, माओवादी सहिद कामी बुढाको सालिक निर्माणमा २ लाख २५ हजार खर्च गरेका छन् । त्यस्तै, रोकाले माओवादीद्वारा सञ्चालित फलफूल फाराममा ३ लाख ४९ हजार र माओवादीको लगानी रहेको सानीभेरी एफएममा २ लाख २५ हजार सहयोग गरेकी छन् ।
दोलखा संवाददाता राजेन्द्र मानन्धरका अनुसार माओवादी सभासद देवी खड्का, हेमबहादुर श्रेष्ठ र चुनबहादुर श्रेष्ठले तीन वर्षमा एउटै रेडियोलाई १८ लाख दिए । भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्का आफूद्वारा वितरित रकम दुरुपयोग भयो भन्न रुचाउँदिनन् । बरु उनी ठोस काम गर्न नसकिएकोमा खिन्न छिन् । ‘कनिका छरेजस्तो भएकाले तीन वर्षमा देखाउने केही भएन,’ उनीले दुःख मानिन् ।
एमाले सभासदद्वय शान्ति पाखि्रन र शान्ति जिरेलले पनि पार्टी नेता मनमोहन अधिकारी र जिल्ला नेता बुद्धिमान पाखि्रन स्मृति प्रतिष्ठानमा खर्चेका छन् । दुई सभासदले मनमोहन स्मृति प्रतिष्ठानमा झन्डै १७ लाख सुम्पिएका छन् । बुद्धिमान स्मृति प्रतिष्ठानमा दुवै सभासदले १२ लाख जति बुझाए । पाखि्रनले ०६६/६७ मा त आउने १० लाखमध्ये ९ लाख २० हजार पूरै हालेकी छन् । यी दुवै सभासदले अर्को एक रेडियोलाई तीन वर्षमा ३ लाख ५० हजार दिएका छन् । यी रकम व्यावहारिक रूपमा पूर्णतः सदुपयोग भएको दाबी सभासद पाखि्रनको छ । तर उनीचाहिँ पार्टीको निर्णयमा रकम खर्च गरिने भएकाले निर्देशिका अनुसरण नगर्नुको पूर्णतः दोषको भागीदार आफू बन्न चाहँदिनन् । ‘बर्सेनि दस लाख बाँड्दा खुसी हुनेभन्दा रिसाउने बढी भएको र दुरुपयोगको भागीदार हुनुपरेकाले निर्वाचन क्षेत्र विकास कार्यक्रम अर्थहीन ठान्छु,’ उनले भनिन्, ‘छुट्टै संयन्त्र बनाएर सभासदलाई करोडभन्दा माथिको बजेट भए ठीकै छ, हैन भने १० लाख खर्च गर्नु बेवकुफ बन्नुमात्र हो ।‘
संघसंस्था, व्यक्तिलाई अनुदान वा सहयोग गर्न नपाइने नियम भएकाले रेडियो र प्रतिष्ठानहरूले रकम लिनु कार्यविधिविपरीत भएकैले उक्त रकम बेरुजुमा परेका हुन् । यस अर्थमा, जिविस दोलखाको थाप्लोमा झन्डै छ करोड बेरुजु बोकाउने भागीदारको सूचीमा सभासद पनि परेका छन् ।
पार्टी वा उसको भ्रातृ संगठनलाई सहयोग दिन नपाइने कार्यविधिले किटान गरे पनि काङ्ग्रेसनिकट सभासद जिपछिरिङ लामाले जिरी गाउँ पार्टी समितिलाई दिएको ५० हजार बेरुजु हुने निश्चित छ । उनी बढी गुम्बा केन्दि्रत भएका छन्, जसमध्ये आफ्नो गृहगाउँ श्यामाको एक गुम्बालाई दिएको १ लाख २२ हजार बेरुजु देखिएको छ । एक आर्थिक वर्षमा बढीमा सात योजना मात्र छनोट गर्नुपर्ने भनिए पनि १८ योजना छरेर सस्तो लोकपि्रयता लिन सभासद लामा अघि छन् । बढी योजना दिएर कार्यविधि मिच्नेमा हेमबहादुर श्रेष्ठ दोस्रोमा पर्छन । १५ वटासम्म योजना उनले वितरण गरेका छन् । सातको हाराहारीमा योजना बाँडेर आफू कार्यविधि अनुसरण गर्ने सभासद भएकीमा देवी खड्का गर्व गर्छिन् भने शान्ति पाखि्रन पहिलो वर्षको बजेट पूर्णतः नियमअनुसार सदुपयोग भएकोमा सन्तुष्ट छिन् ।
व्यक्तिलाई आर्थिक सहायता दिन नपाउने भनिए पनि शान्ति जिरेलले सगरमाथा आरोहण गर्न लालबहादुर जिरेललाई सघाएको ५० हजार बेरुजु भएको छ । माओवादी सभासद केन्दि्रत रहेको जिरीस्थित सहिद स्मृति आवासीय विद्यालयलाई सभासदहरू देवी, हेम, चुनबहादुरले दिएको सबै रकम बेरुजु भएको छ ।
तनहुँ संवाददाता पूर्ण विकेका अनुसार यहाँका सभासदहरू रामचन्द्र पौडेल, किरण गुरुङ, सुरेश आलेमगर, श्रीराम ढकाल, सावित्री दुराले नियमविपरीत कार्यक्रमको पैसा
बाँडेका छन् ।
सबैजसो सभासदले आफ्ना कार्यकर्ताको बाहुल्य आधारमा बजेट बाँडेका छन् । निमित्त एलडीओ गजेन्द्रनाथ शर्माले आफू केही दिनअघि मात्रै जिल्ला आएकाले कुन सभासदले कहाँ कति रकम बाँडेको थाहा नभएको बताए ।
कान्तिपुरले जम्मा गरेको विवरणअनुसार पौडेलले १९ वटा योजनामा बजेट वितरण गरेका छन् जबकि ७ वटा शीर्षकमा मात्र खर्च गर्नुपर्ने नियम छ । उनले ४ वटा विद्यालय, ३ वटा कच्ची मोटर बाटो र सामुदायिक भवन निर्माण जस्तामा बजेट खर्चिए । व्यास ११ स्थित युवा सचेतना कार्यक्रम शैक्षिक समाज तनहँुलाई १ लाख ५० हजार र बाँकी ४० देखि ५० हजार रुपैँयाँका साना कार्यक्रममा बजेट खर्चिएका छन् । आलेमगरले १४ वटा कार्यक्रमलाई बजेट बाँडेका छन् । उनले सहिद परिवार समाज तनहुँलाई २ लाख दिएका छन् ।
किरण गुरुङले १५ वटा कार्यक्रमका लागि पैसा बाँडे । फिफरे गाविसस्थित चन्द्रमुखी मोटर बाटोका लागि एक लाख दिएका उनले फर्निचर खरिद, प्रतीक्षालय निर्माणमा पनि पैसा दिएका छन् । उनले १३ वटा गाविसलाई बजेट बाँडे । व्यास नगरपालिकासहित ११ गाविसका १७ योजनामा पैसा बाँडेकी दुराले सहिद परिवार समाज तनहुँलाई २ लाख दिइन्
सभासद श्रीराम ढकालले पनि ११ वटा गाविसमा विभिन्न १५ वटा शीर्षकमा बजेट वितरण गरे । उनले पनि सहिद परिवार समाजलाई २ लाख दिए । कांग्रेस समानुपातिक सभासद उर्मिला थापामगरले व्यास २ स्थित बीपी विचार समाजलाई ५ लाख रुपैयाँ
दिइन् । उनले जिल्लाका दुई विद्यालयलाई १ लाख ५० हजार दिइन् र बाँकी रकम आमा समूह, सामुदायिक भवन निर्माणमा छुट्याइन् ।
इलाम संवाददाता विप्लव भट्टराईका अनुसार जिल्लाका तीन प्रत्यक्ष र पाँच समानुपातिक सभासदमार्फत आएको ८० लाख रुपैयाँ पूर्ण सदुपयोग भएन । प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवासचन्द्र नेम्वाङ चुनिएका इलामका सबैजसो निर्वाचन क्षेत्रमा राजनीतिक कार्यकर्ताले केही न केही रकम ‘अनुदानका नाममा मिलाएर खाएको‘ जिविस स्रोत बताउँछ । ‘बिल भर्पाई मिलाएर ल्याउँछन्,’ स्रोतले भन्यो, ‘हामीले रोक्न मिल्दैन ।‘
झापामा पूर्वाधार निर्माणभन्दा पनि मन्दिर र टहरा बनाउन, खेलकुद सामग्री किन्न र खेल मैदान मर्मत गर्न पैसा खर्च भयो । एमाले सभासद दीपक कार्कीले आफ्नै क्ष्ाेत्रको खजुरगाछी ४ मा दिनाभद्री मन्दिर बनाउन ७५ हजार खर्चे । उनलाई मन्दिर बनाउन निकै सोख रहेजस्तो देखिन्छ । बैगुनधुरास्थित कृष्ण प्रणामी मन्दिरका लागि पनि कार्कीले ५० हजार विनियोजन गरेका छन् तर निकासा भइसकेको छैन । उनले कुल २ लाखमात्रै खर्च गरेको देखियो । अर्का सभासद युवराज कार्कीले कुल १ लाख २५ हजार मात्रै खर्च गरेका छन् । उता, कांग्रेस सभासद जगतबहादुर ताजपुरियाले एक रुपैयाँ पनि खर्च गर्न भ्याएका छैनन् । उनले टहरा निर्माण, सडक ग्राभेललगायतमा रकम विनियोजन गरे पनि खर्च गर्न पाएका छैनन् । एमाले सभासद मानसिंह राजवंशीले ३ लाख ३१ हजार, कांग्रेस सभासद उषा गुरुङले ४ लाख ६१ हजार, माओवादीका विश्वदीप लिङ्देनले ३ लाख ६९ हजार, कांग्रेसका केशवकुमार बुढाथोकीले १ लाख १९ हजार, स्वर्गीय गौशंक खड्काले ३ लाख ३३ हजार, चन्द्र मेचेले ३ लाख ७ हजार पूजा खनालले १ लाख ७० हजार, कांग्रेसका अमृतलाल राजवंशीले २ लाख ८५ हजारमात्रै खर्च गरेका छन् । अन्य सभासदले पनि रकम खर्च गर्न भ्याएका छैनन् । समय हुन्जेल आलटाल गर्ने असार मसान्त नजिक हतारमा ल्याएर पैसा सक्ने सभासदको पुरानो बानी भएको जिविसका एक कर्मचारीले बताए ।
दाङ संवाददाता दुर्गालाल केसीका अनुसार सांसद विकास कोषको अधिकांश रकम पार्टी निकटका संघसंस्थाका भवन निर्माण र गोष्ठीमा खर्च भएको छ । जिल्लाका १४ सभासदमध्ये सबैजसोले पार्टी तथा जनवर्गीय संगठनका भवन र आफूनिकट व्यक्तिलाई उपभोक्ता समितिमा राखेर विद्यालय भवन निर्माण र संघसंस्थाका अन्तरक्रिया तथा गोष्ठीका लागि रकम दिने गरेका छन् । कतिपयले कुलो र बाटो निर्माणमा पनि खर्च गरेका छन् । सबैजसोले एउटा न एउटा गोष्ठी र तालिमका लागि रकम छुट्याएका
छन् । तालिम तथा जनचेतनामूलक कार्यक्रम भनेर १ लाखदेखि ६ लाख २० हजारसम्म छुट्याइएको छ ।
सचेतना कार्यक्रमका नाममा सबैभन्दा धेरै रकम संघीय लोकतान्त्रिक मञ्चकी रूक्मिणी चौधरीले गरेकी छन् । उनले प्रशिक्ष्ाण, सशक्तीकरणजस्ता शीर्षकमा ६ लाख २० हजार छुट्याएकी छन् । यसैगरी तालिम र गोष्ठीका लागि नेपाली कांग्रेसका विमला नेपालीले २ लाख, एमालेका महेश चौधरीले १ लाख ९५ हजार, राष्ट्रिय जनमोर्चाका श्यामराज नेपालीले १ लाख ३५ हजार, कांग्रेसका बलदेव शर्मा मजगैयाले १ लाख ५ हजार र माओवादीका कुवेर ओलीले १ लाख रुपैयाँ छुट्याएका छन् ।
कोष परिचालनमा सभासदहरूकै अधिकार भएकाले त्यसमा जिविसले हस्तक्षेप नगर्ने एलडीओ रमेश न्यौपानेले बताए । बाटो ग्राभेल भन्दै बालुवा छर्ने कामलाई भने पूर्ण रूपमा रोक लगाएको उनले बताए ।
रोल्पा संवाददाता काशीराम डाँगीका अनुसार सभासदले ‘कार्यकर्ता र पार्टीको अनुकूलमा बजेट‘ बाँडेको जिविस स्रोतले बतायो । रोल्पामा ६ माओवादीका र एक एमाले सभासद छन् । माओवादी सभासदले आफ्नो पार्टीनिकट संघसंस्थामा रकम विनियोजन गरेका छन् । बितेका तीन वर्षमा माओवादी जिल्ला समितिले बनाउन लागेको सहिद स्मृति भवनमा माओवादी सभासदले लगानी गरेका छन् । पार्टी निर्णयका आधारमा यो रकम विनियोजन गरिएको माओवादीले जनाएको छ । माओवादीले लिबाङ सदरमुकाम नजिक बनाउन लागेको उक्त भवनमा लाखौं लगानी गरिएको छ । यस्तै, माओवादीले बनाएको ओतस्थित जननमुना अस्पताल, थबाङमा रहेका जनकम्युन र आफूनिकट एफएममा पनि लगानी भएको छ ।
माओवादी सभासद सन्तोष बुढामगरका प्रतिनिधि सुन्दरकुमार वलीले सभासदको सल्लाहमा योजना बनाएको बताए । शिक्षकको तलब, शौचालय निर्माण गर्न र आफूनिकट खेलकुद समितिलाई पनि रकम विनियोजन गरिएको छ । एमालेले कोषकै सहयोगमा मदन-आश्रति स्मृति भवन बनाएको छ । केही सभासदको रकम बेरुजु रहेको छ । गत वर्ष मात्र करिब ८ लाखको पेस्की फछ्र्योट गर्न बाँकी छ । एक जना सभासदले पाउने १० लाखमध्ये जिविसमा प्राविधिक खर्च भनी १५ हजार छुट्याइन्छ भने प्रतिनिधिले कोठा भाडाबापतमा ५० हजार खर्च गर्न पाउँछन् ।
बाँके संवाददाता ठाकुरसिंह थारूका अनुसार जिल्लाका ११ सभासदले बितेका आर्थिक वर्षमा खर्च गरेको १० करोड ९९ लाख ९ हजार ८ र ९० रुपैयाँमध्ये अधिकांश बजेट आफ्ना कार्यकर्तालाई खुसी पार्न गरिएका
छन् । ‘मनोमानी खर्च भएको छ अनुगमन कसले गर्ने‘ जिविसका एक अधिकृतले भने, ‘जथाभावी योजनाले भ्रष्टाचार बढाएको छ ।‘
विद्यालय भवन निर्माणमा ३३ लाख ८३ हजार १ सय ११ रुपैयाँ खर्च भएको छ भने मन्दिर, मस्जिद, गुम्बा, प्रतिष्ठान, प्रतीक्षालय, समाधिस्थल निर्माणका लागि ३२ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ खर्च गरिएको छ । खानेपानी सरसफाइ र नाली निर्माण शीर्षकमा १० लाख, सडक निर्माणमा ३ लाख हजार, विद्युत् पोल खरिदका लागि ८ लाख र सामाजिक क्षेत्रमा २१ लाख खर्च गरिएको छ । प्रत्येक सभासदहरूले ५० हजार प्रशासनिक खर्च गरेका छन् । प्रशासनिक खर्चमा ५ लाख ५० हजार खर्च भएको जिविस तथ्यांकमा उल्लेख छ ।
स्याङ्जा संवाददाता जानु पंगेनीका अनुसार माओवादी सभासद अमृता थापामगरले आर्थिक वर्ष ०६५/०६६ मा आठ लाख रुपैयाँ कार्यकर्ताका लागि खर्च गरेकी छन् । माओवादीसँग सम्बन्धित सहिद प्रतिष्ठान नेपालका लागि ७५ हजार, नेपाल गणतान्त्रिक खेलकुद महासंघ एक लाख, –सहिद, बेपत्ता, घाइते परिवारका लागि) आयआर्जन कार्यक्रम दुई लाख रुपैयाँ, सहिद स्मारक संग्रहालय विशेष दुई लाख पचहत्तर हजार, सहिद पार्क संरक्ष्ाण २५ हजार, सहिद स्मृति भवन ५० हजार, सहिद स्मृति प्रतीक्षालय २५ हजार, जनक्रान्ति घाइते अपांग मञ्च व्यवस्थापन २५ हजार, सहिद गेट निर्माण २५ हजार रुपैयाँ दिइएको छ । कुल बजेटको ८० प्रतिशत रकम माओवादी कार्यकर्ताले सञ्चालन गरेका यी संस्थाहरूमा मात्र दिइएको जिविसको अभिलेखमा उल्लेख छ । यसैगरी सोही आर्थिक वर्षमा माओवादीकै सभासद गोमा पाठकले पनि त्यसैगरी वितरण गरेकी छन् । सहिद प्रतिष्ठान नेपाल, नेपाल गणतान्त्रिक खेलकुद महासंघ, –सहिद बेपत्ता घाइते परिवारको) लागि आयआर्जन कार्यक्रम, सहिद स्मृति प्रतीक्षालय ५० हजार, दलित आयआर्जन तालिम ५० हजार गरी कुल ७ लाख ५० हजार रुपैयाँ दिइएको छ । ७५ प्रतिशत रकम माओवादी कार्यकर्ताको हालिमुहाली रहेको संस्थाहरूले पाएका छन् ।
माओवादीकै सभासद मोहम्मद साफिक मियाँले सहिद प्रतिष्ठान नेपाललाई एक लाख पचास हजार, गणतान्त्रिक खेलकुद महासंघ, एक लाख, सहिदका परिवारलाई आयआर्जन शीर्षकमा दुई लाख, दलित नेतृत्व विकास तालिमलाई २५ हजार खर्च गरेका छन् । निर्वाचन क्षेत्र छुट्याएर खर्च गर्नुपर्ने निर्देशिकाविपरीत सबै सभासदले उही संस्थालाई अनुदान दिएका छन् ।
कांग्रेसका सभासद धनराज गुरुङले पार्टी कार्यालय भवन निर्माणलाई बीप्ाी स्मृति भवनको नाममा विभिन्न्ा आर्थिक वर्षमा गरी ६ लाख रुपैयाँ दिएका छन् । कांग्रेसकै अर्का सभासद इन्द्रबहादुर गुरुङले विभिन्न आर्थिक वर्षमा गरी आठ लाख रुपैयाँ सोही भवनलाई दिएका छन् ।
एमाले सभासद पद्मा अर्यालले पार्टी कार्यालय निर्माणमा दुई लाख पचास हजार, अखिल नेपाल महिला संघका लागि एक लाख पचास हजार, संविधान निर्माणका लागि विद्यार्थी दबाब तालिम शीर्षकमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन –अनेरास्ववियु) लाई ८० हजार रुपैयाँ खर्च गरेकी छन् ।
कांगे्रसका सभासद मोहन पाण्डेले संसद् कोषको रकम विकास निर्माणका पूर्वाधारहरू स्वास्थ्य शिक्षालगायतका शीर्षकहरूमा खर्च गर्नुपर्ने बताए । पाण्डेले भने, ‘पार्टीका नाममा
खर्च गरिनु भनेको राज्यको कोष दुरुपयोग गर्नु हो ।‘ एलडीओ रामजी बरालले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम खर्च नियमविपरीत भएको स्विकारे ।
बुटवल संवाददाता अमृता अनमोलका अनुसार सभासदले एउटै संस्थालाई दुई शीर्षकमा पनि रकम छुट्याइएका
छन् । आफ्ना कार्यकर्ताले व्यवस्थापन गरेका विद्यालय, महिला तथा युवा क्लबलाई पनि रकम छुट्याइएको छ । दक्षिणी भेगका सभासदहरूले मन्दिर, मस्जिद मदरसा र धर्मशालामा बढी रकम खर्च गरेका छन् । जस्तै, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका सभासद -जो अहिले पदमा छैनन्) श्यामसुन्दर गुप्ताले यो वर्ष १० लाखै रुपैयाँ सिद्धार्थनगरको धर्मशाला निर्माणमा छुट्याएका छन् । यस्तै राप्रपा नेपालकी बबिता धोवीले ५ लाख ५५ हजार मस्जिद र मदरसालाई छुट्याएकी छन् । सभासदहरूले सडक र हेन्डपाइप विस्तारमा पनि बजेट छुट्याएका छन् ।
प्रकाशित मिति: २०६८ अषाढ ४ ०९:१५