आज असार २५ गते । एक सय वर्षअघि आजैको दिन नेपालबाट सतीप्रथा घोषणा गरिएको थियो । जसकाकारण हजारँौ महिलाको जीवन रक्षा भएकोछ । लाखाँै वालवालिकाहरु टुहुरा हुनबाट जोगिएका छन् । यस कारण पनि आजको दिन नेपाली समाजको लागि महत्वपूर्ण दिन हो । सतीप्रथा श्रीमानको मृत्युपछि जिउँदी श्रीमतीलाई श्रीमानको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । प्राचीन कालमा योद्धाहरू आफ्नो मृत्युपछि आफ्ना श्रीमती आफूसँगै मर्ने वा मारिने कुरालाई गौरवको रूपमा लिने गर्दथे । महिलाको यो विभत्स मरण (हत्या) लाई समाजले सतीका नाममा परम्परा बनायो । शासक वर्गले महिला जीवनको अमानवीय बली, बीभत्स र नृशंस कृत्यको भयानकताबारे कुनै विचार गरेन । वरु, उल्टै धर्मकार्यको नाम दिइयो । शुरुमा राजकीय परिवारमा सिमित यो प्रथा क्रमश सामाजिक प्रतिष्ठा, आर्थिक हैसियतसंग जोडिदै पछिल्लो दिनमा राजनीतिक सत्ता र शक्ति मुख्य कारण बन्न गएको देखिन्छ ।

सतीेप्रथाको विगत हेर्दा वैदिक कालदेखि नै नैतिक कानुनका रुपमा यो प्रथा चल्दै आएको देखिन्छ । पूर्वीय दर्शनको प्राचीन ग्रन्थ ऋग्वेदका अनुसार आफ्ना मृत पतिको चितामा बसेकी पत्नीलाई आत्मदाह नगरी पुनः संसारमा नै फर्कन भनिएको पाइन्छ (ऋग्वेद १०।१८।८)। यसबाट त्यस समयमा सती प्रथा प्रचलनमा रहेको सङ्केत मिल्छ ।

इतिहासका प्राध्यापक वासुदेव लाल लेख्छन, “रामायण र महाभारत जस्ता ग्रन्थहरूमा पनि सती प्रथाको उल्लेख पाइन्छ । पाण्डुको मृत्युमा माद्री, धृतराष्ट्रको मृत्युमा गान्धारी, बलरामको मृत्युमा रेवती, कृष्णको मृत्युमा उनका आठजना श्रीमतीहरु र वासुदेवको निधनमा उनकी चारजना श्रीमतीहरु सती गएका थिए ।“ अन्य हिन्दु धर्मग्रन्थहरुमा पनि सतीको वारेमा उल्लेख गरिएका विभिन्न आलेखहरुमा पढ्न पाइन्छ । यसको आधारमा सतीप्रथा त्यो कालमा पनि रहेको थियो, मान्न सकिन्छ ।

सती संस्कृतबाट आएको शब्द हो, जसको अर्थ “असल पत्नी” हुन्छ । यस प्रथाको शुरुवातको बारेमा सती शब्द मुख्यतः हिन्दु देवी सतीबाट आएको मानिन्छ । सतीको पिता दक्ष प्रजापतिले शिवको अपमान गरेका कारण सतीले आगोमा फालहालेर आत्मदाह गरेको र त्यही परम्परामा टेकेर पछिल्ला दिनमा श्रीमानको मृत्युमा श्रीमतीहरू सँगै मर्ने वा मारिने चलन क्रमशः सतीप्रथाको रुपमा स्थापित हुन पुग्यो भन्ने किम्वदन्ती पाइन्छ । प्राध्यापक डा. दासको भनाइमा, “सती भनेको त्यस्तो नारी हो, जो पतिको देहान्तपछि स्वेच्छापूर्वक चितामा संगै आपूmलाई अग्निमा समर्पित गर्दछिन् ।“ हिन्दू धर्मावलम्बी समाजमा प्रचलनमा रहेको विधवालाई जीवितै जलाउने योे प्रथा वस्तुतः पितृसत्तात्मक समाजकोे सामाजिक कुरीति थियो । जसकाकारण पछिल्ला दिनमा संस्कारका रुपमा महिलालाई जवरवस्ती जलाउने वा जल्न वाध्य पार्न थालियो ।

मूलतः सतीप्रथा भारत र नेपालमा प्रचलित थियो । सतीप्रथाको बारेमा रिचा जैनले आफ्नो आलेखमा भनेकी छन, भारतको मध्यप्रदेशमा वि.सं. ५१० को दस्तावेजमा नै उल्लेखित यो प्रथा १५औँ देखि १८आँै शताब्दीको बीचमा सबैभन्दा आक्रान्त रुपमा रह्यो । त्यतिखेर सती हुने फरक तरिकाहरुको वारे आलेखहरुमा पाइन्छ, कुनै ठाउँमा श्रीमानको लास जलिरहेको चितामाथि नै श्रीमतीलाई राखेर पोल्ने गरिन्थ्यो भने कतै छेउमा अर्को चिता बनाएर जलाइन्थ्यो । कतिपय ठाउँमा विष पान गराएर अचेत बनाएर चितामा राखिन्थ्यो भने कतै विषालु सर्पलाई टोकाउने वा धारिलो ब्लेडले घाँटी चिरेर विक्षिप्त बनाएर चितामा राखिदिने चलन पनि थियो । आखिर जे होस यो मानवता विरुद्धको हदैसम्मको क्रुरता र बर्बरता थियो । यो चलन शुरुका दिनमा शासक वर्गले आफ्नो सान र औकात देखाउने कुरामा केन्द्रित रहे पनि समय क्रममा पुरेत–पण्डित हँुदै अन्य समुदायका आफूलाई शक्तिशाली र समाजमा प्रतिष्ठित ठान्नेहरुमा पनि विस्तार हुन पुग्यो । र, परिवारको सामाजिक प्रतिष्ठा र महिलाको पतिव्रताको रुपमा व्याख्या गर्न थालियो ।

भारतमा यस बर्बरतालाई रोक्न पन्ध्राँै शताब्दीदेखि धेरै प्रयत्नहरु भए पनि प्रभावकारी हुन सकेन । सन १८६१ मा कानुनी रुपमा बन्देज नै गरियो । तर, पनि रोकिएन । अन्ततः सर चार्ले नापिएरले सन् १८२९ मा सतीको लागि आदेश दिने पुरेत÷पण्डितलाई समेत मृत्युदण्ड दिने कानुन बनाए । तर पनि यो पूर्णतः अन्त्य भएन । एक्काइसौँ शताब्दी लागेपछि मात्र पनि कम्तीमा चारजना महिला सती बन्न वाध्य भएको कुरा संचार माध्यममा सार्वजनिक भएका थिए ।

नेपालमा पनि सतीप्रथाको वारेमा प्राचीन अभिलेखहरुमा उल्लेख गरेको भेटिन्छ । प्रा. दिनेशराज पन्तका अनुसार लिच्छवि कालका दुई सयभन्दा बढी अभिलेखहरुमा सतीप्रथाको प्रामाणिक तथ्य पाइन्छ । जसमा वि.सं. ५२२ को चाँगुनारायणको स्तम्भ लेखलाई सवैभन्दा पुरानो तथ्यका रुपमा मानिन्छ । लिच्छवी कालमा मानदेवकी आमा राज्यवती, भौमगुप्तकी आमा आभीरी, जयदेव (द्वितीय) की आमा वत्सदेवीहरु सती नगई धर्मकर्म गरी बसेका कुराले त्यतिखेर सतीप्रथा प्रचलनमा थियो, तर अनिवार्य थिएन भन्न सकिन्छ । अर्को कुरा, सती नगएको कुराहरु स्तम्भहरुमा उल्लेख हुनुले समाजको वौद्धिक समुदाय त्यस किसिमको आततायी प्रचलनको विपक्षमा थिए । तर, महिलाको जीवनमाथिको खेलवाडलाई शौख मान्ने शासकहरुको अमानविय प्रवृत्तीको कारण उक्त प्रथा कायम रहन गयो भन्न सकिन्छ ।

वि.सं. १५३३ को शिलापत्रले मल्लकालमा पनि सतीप्रथा रहेको वताउछ । कीर्तिपुरमा १५८७ मा स्थापित नारायणको मूर्तिको पादपीठको अभिलेखमा हकु जोशीको मृत्यु भएपछि उनकी श्रीमती हेरभी सती गएको कुरा उल्लेख छ । त्यसपछि पनि काठमाडौ उपत्यकाका मल्ल राजाहरुको मृत्युमा धेरै रानीहरु सती गएको अभिलेखहरु पाइन्छन । ति दिनहरुमा सतीका नाममा जिउँदो मानिसले शवसँगै डढ्दाको सुनि नसक्नुका चिच्याहटलाई मत्थर पार्न ठूल–ठूलो स्वरमा बाजा बजाउने गरिन्थ्यो भने कथन पाइन्छ । आगोको राप सहन नसकेर कतिपय सतीहरु भाग्ने गर्थे भन्ने कुरा वि.सं. १७३७ मा खोरतमसंगै सती पठाइएकी पत्नी चिताबाट भागेको भन्ने आलेखले पुष्टि गर्दछ ।

शाहकालमा पनि सतीप्रथा सत्ता र शक्तिको रुपमा कायम रह्यो । अवस्था हेरेर कोही सती जान्थे÷पठाइन्थे । कसैलाई जान दिइदैन थियो÷जादैन थिए । वि.सं. १७९९ मा नरभुपाल शाहको मृत्युमा कान्छी रानी सुभद्रावती सती गए पनि अरु रानीहरु गएनन् । पृथ्वीनारायण शाहको मृत्युमा श्रीमती नरेन्द्रलक्ष्मीसहित अरु धेरै महिलाहरु सती गए । प्रतापसिंह शाहको मृत्युमा अरु रानीहरु सती गए पनि राजेन्द्रलक्ष्मी सती नगई शासनसत्ता चलाउन बसिन् । रणबहादुर शाह मारिँदा जेठी रानी राजराजेश्वरीलाई माइतिबाट ल्याएर नवौँ दिनपछि पनि सती पठाइयो भने कान्छी रानी ललितत्रिपुरासुन्दरी राज्य सञ्चालनका लागि वसिन् ।

वि.सं. १९०३ मा जङ्गबहादुर प्रधानमन्त्री भए । उनि शासन सत्तामा निरंकुश बने पनि सतीप्रथाका भने विरोधी थिए । तर, लामो समय चलेको परम्परालाई एकै पटक हटाउने आँट उनमा पनि आएन । त्यसैले, नेपालको पहिलो मुलुकी ऐन जारी गर्दै जंगबहादुर राणाले सतीप्रथालाई निरुत्साहित गर्न १६ बर्षभन्दा मुनिका विधवा महिला र ९ वर्षभन्दा कम उमेरका सन्तानकी आमालाई सती जानबाट रोक लगाए । धेरै आफन्तहरुको मृत्युमा उनिहरुका श्रीमतीलाई सती जानबाट रोके । तर, १९३३ मा उनको मृत्यु हुँदा ४६ जना श्रीमतीहरु सती गएको इतिहासमा पाइन्छ । त्यसपछि, १९४४ मा वीर शमशेरले मुलुकी ऐन संशोधन गरी सतीप्रथा रोक्ने प्रयत्न स्वरुप उपयुक्त कारण र विना अनुमति सती जान नपाइने व्यवस्था गरे । तर, यो पहल पनि सफल हुन सकेन ।

समय क्रमसंगै सती प्रथाको विरुद्ध भित्रभित्रै आवाजहरु उठे पनि ती आवाजहरु मुखरित हुन सकिरहेका थिएनन् । वि.सं. १९७३ वाट योगमाया न्यौपानेको अगुवाइमा धर्मराज्यको मागसहित शुरु भएकोे नागरिक अभियानकोे सतीप्रथा अन्त्य पनि एउटा माग बन्यो । अन्ततः चन्द्रशम्शेरले १९७७ असार २५ गतेदेखि लागू हुने गरी सतीप्रथामाथि प्रतिबन्ध गरिदिए । यसरी कानुनी रुपमा नेपालमा सतीप्रथा पुर्णत गैरकानुनी भयो ।

आज सतीप्रथामाथि प्रतिवन्ध लागेको सय वर्ष पुरा भएको छ । यस विचमा हजारौ एकल (विधवा) महिलाहरुले जीवन पाएका छन । तर, अझै पनि समाजमा उनिहरुप्रति सम्मानपुर्ण दृष्टिकोण र मर्यादित व्यवहार पाइदैन । हिन्दु संस्कारको प्रभावमा आज पनि श्रीमानको मृत्युमा श्रीमतीमाथि जुन व्यवहार गरिन्छ, त्यो मानविय छैन । राज्यको कानुनले विभेद नगरे पनि सामाजिक संस्कारको नाममा अझै पनि श्रीमानको मृत्युपछि श्रीमतीको जीवनवाट खोसिने खुशीले हजारौ महिलाको वाकी जीवन निरस बनाएकै छ । उनका दिनचर्या र गतिविधिमाथि समाजले लगाउने प्रतिवन्ध, लान्छना र पाइलै पिच्छे राखिने कुदृष्टि र उठाइने प्रश्नहरुले उनिहरुलाई सार्वभौम जीवन वाच्न दिइदैन । उनिहरुका वारेमा राज्यले केही सकारात्मक कदम चाले पनि पितृसत्तात्मक मुल्य, मान्यता र संस्कार आधारित विभेदपुर्ण सामाजिक दृष्टिकोण र खोटपुर्ण व्यवहारका कारण मन र मष्तिष्कमा लागेका चोटहरुमा आशुको मल्हम लगाएर जीवन वाच्न वाध्य छन ।

यही चोट, पिडा, विभेद र अपमानको विरुद्ध सामुहिक रुपमा सामना गर्न विगत केही दशकदेखि एकल महिलाहरु संगठित रुपमा देशव्यापी अभियानमा छन । सामाजिक र सांस्कृतिक रुपमा विद्यमान अमानविय र कुसंस्कारयुक्त विभेद र अन्याय विरुद्ध उनिहरुको यो अभियानमा राज्य, राजनीतिक शक्ती र सामाजिक आन्दोलन समेत सचेतनतापुर्वक लाग्न सकेमा उनिहरुप्रतिको समाजको दृष्टिकोण र व्यवहारमा मानविय रुपान्तरण सम्भव छ । र, हरेक व्यक्तिको मानव मर्यादा र सम्मानपुर्ण जीवनले नै समाजलाई समृद्ध बनाउन सक्दछ । यस आधारमा पनि नेपाली महिला मुक्ति आन्दोलनको दृष्टिकोणबाट समेत यो दिनले विशेष महत्व राख्दछ । अवका दिनमा सवै एकल (विधवा) महिलाहरुको जीवनमा मानव मर्यादाका रंगहरु भरिन सकुन । हार्दिक शुभकामना ।

Gopa-Satipratha

https://gorkhapatraonline.com/opinion/2020-07-09-18103