कमरेड बिष्णुभक्त फुयाल आफ्नो कर्म गर्दागर्दै कर्ममैदान मै हामी सवैवाट सदाका लागि विदा हुनुभएकोछ । कसैसंग कुनै पनि ठाउमा पुन भेट नहुने गरी विदा हुने भएकोले नै होला हरेकको मृत्युमा “अल विदा“ भन्ने गरिएको । तर उहाको मृत्यु जसरी भयो, जानपहिचान भएका वा नभएका व्यक्ति तर उहाको इच्छा बचन “नाटक खेल्दाखेल्दै मर्न पाउ“ अर्थात जो जे कर्म गर्दैछ, त्यही कर्मभुमीका क्रियासिल हुदाहुदै मर्न पाउ भन्ने भनाइ सुन्ने र पढ्ने हरेक मनमा सायद उहाको तयो इच्छा बचन अमर भएर बाचि रहने छ । यो बचन सायदै कसैको जीवनवाट विदा हुनेछ । यस अर्थमा बिष्णुभक्त फुयाल अर्थात बिष्णु बा सुनाखरी फुल झै हरेक जानकारको जीवनमा बाचिरहनु हुनेछ । उहाको वाक्य अमर भएको छ । सायद अव उप्रान्त नाटक हेर्न जाने हरेक नेपाली नागरिकको मनमा÷दिमागमा उहाको झल्को आउनेछ । यसर्थ बिष्णु बा वित्नु भएको भन्दा पनि कर्मभुमीमा अमर हुनुभयो भन्ने मलाइ लाग्छ । बिष्णु बा तपाइलाई हार्दिक श्रद्धान्जली ।
मृत्यु अवश्यमभावी सत्य हो, जुन कसैले टार्न चाहेर सदाकालका लागि टर्दैन । तपाइको मृत्यु धेरैको इच्छामा वाचिरहनेछ । धेरै मानिसहरु तपाईको मृत्युमा आरिस गर्नेछन् । धेरैको व्यक्तिगत मागको सुचीमा तपाइको मरण शैली पर्नेछ । तर, यो प्रकृतीले सवैलाई दिन वा पुरा गर्न नसक्ने माग बन्यो, जुन तपाइले पाउनु भयो । सामान्यतया मृत्यु कसैका लागि पनि ग्राह््य र गर्वको कुरा हुदैन, हुनै सक्दैन । तर, विष्णु बा जसरी तपाइको इच्छा अनुसारको मृत्युभयो, यसमा तपाइमाथि गर्व छ ।
बिष्णु वासंग चिनजान भएको सायद चार दशक नै भयो । जुन समय म त्रिचन्द्रमा आइएससी पढ्दै थिए, अनेरास्ववियु काठमाडौले एउटा नाटक प्रदर्शन गरेको थियो । त्यसमा अधिकांश हाम्रा पिढीका साथिहरु कलाकार थियौ । अग्नी शिखाले लेख्नुभएको त्यही नाटकको तयारी गर्ने सन्दर्भमा उहासंग सायद सरस्वती क्याम्पसमा पहिलो पटक भेट भएको थियो । त्यसपछि उहालाई खास गरी प्रगतिशिल सांस्कृतिक कार्यक्रमहरुमा देख्ने गथ्र्यौ । उक्त नाटकका अर्का कालाकार उहाको छिमेकमै भएका तत्कालिन युवा प्रमोद न्यौपाने पनि उक्त नाटकका पात्र हुनुहुन्थ्यो । त्यही नाताले पनि अलि नजिक त भइयो । तर, खासै कुराकानी हुदैन थियो । सन्दर्भ नै नभएपछि निकटता हुने कुरा भएन । २०४९ सालमा जव म नेपाल टे«ड युनियन महासंघसंग सम्बद्ध भए, त्यसपछिका दिनमा उहासंग खास गरी कार्पेट युनियनका तर्फवाट युनियनको कार्यक्रममा भेटघाट हुन थाल्यो । त्यही चरणमा म अनेमसंघको गतिविधिमा पनि देखिन्थे । यही सिलसिलामा एकपटक नेपानको कार्यालयमा केही सुचना÷तथ्य–तथ्यांकका लािग अध्ययन प्रतिवेदनहरु लिनुपर्ने भएपछि त्यहा जादा बिष्णु बाको छोरा कमलजी त्यहा हुनुहुन्छ भनेपछि त्यही उहाको नाम लिएर म कमलजीलाई भेट्न गएको थिए । विष्णु बा को नामसंगै परिचित हुदा काममा अलि सहजता अनुभुती पनि भएको थियो । त्यसरी उहाको परिवारसंग निकट हुने क्रममा पछि अर्का छोरा विमलजीसंग कामको सिलसिलामा कतिपय सन्दर्भमा विचार आदानप्रदान गर्ने तहको साथि हुनुभयो । यसले विष्णु बाप्रतिको श्रद्धा र सम्मान अझै बढ्दै जानु स्वाभाविक थियो । किन की उहाको छोरा साथि भएपछि उहालाई हामीले भन्ने गरेको बिष्णुबाको नाता अझै गाढा बन्न थाल्यो ।
म संविधानसभामा भएको समयमा भुमि अधिकार र महिला अधिकारको सन्दर्भमा छलफल हुने क्रममा उहाको बुहारी जुलिया चित्रकारसंग पनि भेट भयो । एकपटक विमलजी र जुलियाजीसंग बा को खवर के छ भन्दा ठिकै छ उहा चुच्चेपाटी बस्नुहुन्छ भन्दा शुरुमा मलाइ यो बुढेसकालमा एक्लै बस्नुपर्ने हो भने सन्तान÷परिवारको के अर्थ भन्ने कुरा पनि दिमागमा नआएको होइन । तर मैले थप कुरा सोध्नै चाहिन ।
पछि भेट हुदा एकदिन प्रसंगवस मैले विष्णु वालाई नै सोधे छोरा वुहारीसंग बस्नुभएको भए राम्रो हुदैन थियो बा कमरेड (अनौपचारिक रुपमा कुरा गर्दा म बा कमरेड भन्थे)? उहाले हास्दै भन्नुभयो । आम चलनमा हेर्दा तपाइको कुरा राम्रो हो कमरेड (हामिले बा भने पनि उहा जहिले पनि कमरेड वा जी नै लगाएर कुरा गर्नुहुन्थ्यो) । तर हाम्रो संसार आ–आफ्नै छ । संलग्नताको क्षेत्र, काम, रुची, जीवनशैली आ–आफ्नै छ । मानिसको लागि स्वतन्त्रता सवैभन्दा ठुलो रहेछ । छ महिना अमेरिका गएर बसे । छोराको परिवारले उतै वस्न आग्रह गरेको थियो । तर मलाई उकुसमुकुस भयो । मैले जीवनमा जे गरे र जे कमाए, त्यो सामाजिक सम्बन्ध र गतिसिलता सवै गुमाए जस्तो लाग्यो । त्यसपछि मलाई अमेरिका पुग्यो बाबु म आफ्नै मुलुक जान्छु र आफैले जानेको काम गर्छु भनेर फर्किए ।
यहा पनि विमलले आफुसंगै बस्न भनेको थियो । केही समय बसे पनि । तर, उनी वसेका ठाउ पनि मेरो जन्मे हुर्केको समाजभन्दा पर रह्यो । मलाई आफ्नो काममा आउन जान पनि सहज भएन । अनि मलाई लाग्यो सकुन्जेल आफ्नै खुट्टामा उभिनुपर्छ । आफ्नो इच्छामा बाच्नु र क्रियासिल हुनुपर्छ । आखिर आफ्नो सवैभन्दा नजिकका साथि भनेको आफै र आफैले गर्ने काम हो भन्ने लाग्यो । अनि मैले भने तिमिहरुलाई म केही डिस्टर्व गर्दिन । आफ्नो सहजतामा वस । मलाई मेरो सहजता र इच्छामा बाच्न देउ । म आफ्नै घर चुच्चुपाटीमा बस्छु र सकेसम्म सामाजिक कार्यमा क्रियासिल हुन्छु । भर अभरमा तिमिहरु छदैछौ । अन्यथा नमान । छोरा–बुहारी मेरो कुरामा सहमत भए । त्यसपछि म आफ्नै दुनियामा रमाएको छु । म अन्तिमसम्म पनि कसैको भर पर्न नपरोस भन्ने चाहन्छु ।
विष्णु बा को कुरा सुनिसिकेपछि उहाको उच्च विचार र जीवन बाच्ने सरल र सहजशैलीमा थप भन्ने कुरा थिएन । मैले मनमनै सोचे आधुनिक समाजमा हरेक बाबुआमाले यस किसिमको सोच राख्ने हो र समय अनुसार आफ्ना सन्तानलाई हावाका कावा खादै आकासिन दिएर आफ्नो धर्तीमा उभिएर उनीहरुको सफलतामा मुस्कुराउदै आफ्नो गोरेटोमा निरन्तर यात्रा गर्ने हो भने सायद हामीले भन्ने गरेको “सुखी नेपाली र समृद्ध नेपाल“ हाम्रै पालामा अनुभुत हुन सक्थ्यो होला । किन की सुख “मन शान्ती“ मा र समृद्धी “सुसंस्कृती र असल सोचमा“ वास गरेको हुन्छ भन्ने मेरो बुझाइ हो । यसैले नेकपा एमालेको नवौ महाधिवेशनले पनि सुखी नेपाली र समृद्ध नेपालको लागि आर्थिक सामाजिक सास्ंस्कृतिक रुपान्तरणलाई आफ्नो मुख्य कार्यभारको रुपमा पारित गरेकोछ । यद्यपी कार्यान्वयनको सन्दर्भमा आर्थिक पक्षमा धेरैको ध्यान गए पनि सामाजिक सांस्कृतिक रुपान्तरण हरेकको वोल्ने भाषा, जीउने जीवनशैली, अप्नाउने संस्कार–संस्कृतिमा अरुले देख्ने र अनुभुती गर्ने कुरा हो र जवसम्म मानिस सुसंस्कृत–सुसंस्कारयुक्त हुन सक्दैन, आर्थिक सम्पन्नताले मात्र समाज समृद्ध हुनै सक्दैन भन्ने मेरो ठम्याइ हो । संस्कार विनाको आर्थिक सम्पन्नताले बरु मानिसमा अमानवीय पक्षहरु घमण्ड, ढोंगीपन, लोभलालच, बढप्पन जस्ता कुराको जन्म गराउन सक्छ, जुन समृद्ध समाज निर्माणको प्रक्रियाका यी सवै बाधक तत्व हुन । बिष्णु बा का जीवनमा यी अमानवीय पक्ष खासै अनुभुती गर्न परेन ।
सानैदेखि श्रमिककाे रुपमा जीवन जीउनु भएकाे िवष्णु बा अन्तिम अवस्थासम्म श्रमजीवी जनताकाे पक्षमा रहनु भयाे । युनियन अान्दाेलनमा विभिन्न भुमिकामा रहदै अन्तिम अवस्थासम्म उहा जिफण्टकाे वरिष्ट युनियनकर्मीकाे सदस्य तथा मजदुर जिल्ला कमिटी एमालेकाे सल्लाहकार हुनुहुन्थ्याे । जीवन जीउने तपाइका सरल र सहजशैली र श्रमप्रतिकाे सम्मान श्रमजीवीप्रतिकाे मर्यादापुर्ण व्यवहार हरेक श्रमिकका लागि अनुकरणीय बनिरहेछन् ।
उहा विद्धानलाई भन्दा विद्धतालाई सम्मान गर्ने, मानवीय कर्तव्यलाई धर्म ठान्ने र सक्दासम्म आफ्नो क्षमता अनुसारको मेहनतमा जीउनु आफ्नो कर्म ठान्ने साधारण जीवन, तर असाधारण रुपमा श्रमलाई सम्मान गर्ने एक आम नेपालीका रुपमा सम्मानित हुनुभयो । र, संसारवाट विदा हुने वेलामा आफुले इच्छा गरेको मृत्यु प्राप्त गर्नु भयो । यस रुपमा हेर्दा बिष्णु बा तपाईको जस्तो सफल, सरल र क्रियासिल जीवन धेरै नेपालीको इच्छा बन्न सकोस । मानिसले समझदारी र इच्छाशक्ति राख्ने हो भने तपाइकै जस्तो जीवन धेरैले प्राप्त गर्न सक्नेछन् । तर मृत्यु ? सम्मानजनक मृत्यु मानिसको इच्छा र योजनाभन्दा वाहिरको कुरा हो । कतिले चाहेको जस्तो मृत्युवरण गर्न पाउछन, त्यो भन्न सकिने कुरा रहेन । तर पनि, तपाइको जस्तो मृत्युको कल्पना र इच्छा जनजनले आफ्नो मनमा सजाएर राख्नेछन् ।
फेरी पनि हार्दिक श्रद्धान्जली ।