महिलावाद लैंगिक समानतासहितको राजनीतिक–सामाजिक आन्दोलनको वैचारिक हतियार हो । महिलावादले लिंगका आधारमा हुदै आएका विभेदको अन्त्यका लागि मुल रुपमा सामाजिक–सांस्कृतिक विभेद, जसलाई एकशव्दमा पितृसत्ता भनिन्छ, को विरुद्धमा आवाज वुलन्द गर्दछ । त्यसैले आधुनिक समाजमा आर्थिक शोषण र विभेदको अन्त्यका लागि लड्ने वैचारिक हतियार माक्र्सवाद भए झै पितृसत्तामा आधारित विभेदको अन्त्यको वैचारिक हतियार महिलावाद हो । यसर्थ सामाजिक न्यायसहितको समानतामा आधारित समाज निर्माणको अभियानमा लामवद्ध कुनै पनि अभियन्ताले माक्र्सवाद र महिलावादलाई अलग धारमा राखेर हेर्न सम्भव छैन ।

समाजवाद निर्माणको अभियानमा राजनीतिक आर्थिक विषयमा मात्र जोड दिइयो भने आधाभन्दा बढी नागरिकमाथि पितृसत्ताका आधारमा हुदै आएको विभेदको अन्त्य हुन सक्ने छैन । आर्थिक पक्ष प्राविधिक पक्ष हो । समाजिक सांस्कृतिक मुल्य मान्यता मानव समाज विकासको कसी हो । आर्थिक पक्षसंग भौतिक सुख जोडिएको होला । तर मानविय सुख र खुशी सामाजिक मुल्य मान्यतामा आधारित हुन्छ । यसर्थ अहिले हामी जसरी समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ नया युग निर्माणमा लामबद्ध भएका छौ, सामाजिक–सांस्कृतिक रुपमा रहेको लिंग, जाति, क्षेत्रका आधारमा रहेको विभेदपुर्ण सोच, व्यवहार र जीवनशैलीमा परिवर्तन गर्न सकियो भने मात्र संविधानले परिकल्पना गरेको समाजवाद निर्माणको यात्रा सहज रुपमा अगाडी बढ्ने छ । यस कुरामा मुलत राजनीतिक नेतृत्वदेखि आर्थिक, सामाजिक सांस्कृतिक फाटका अगुवाहरुको सोच्ने तरिका, वोल्न शैली र गर्ने व्यवहारमा रुपान्तरण अनिवार्य छ । यसका लागि हाम्रो शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक छ । शिक्षा मार्फत समाजमा रहेका विविधतालाई नियाल्दै असल पक्षहरुको मुलप्रवाहीकरण र गतल व्यवहार र मान्यताहरुमाथि निर्ममतापुर्वक नियन्त्रणको वाटो समाउनै पर्दछ ।

महिलावादको विकास

विश्व इतिहासमा महिलावादी विचारको शुरुवात पन्ध्रौ शताव्दीमै भएको पाइन्छ । सिमोन द बउभोरका अनुसार क्रिस्ष्टिन द पिजन Kristine de Pizan) तयस्तो व्यक्ति हो, जसले पहिलो पटक महिला समानताको पक्षमा आफ्नो कलम उठाए । सोहै शताव्दीमा यस विचारको अगुवाइ हेन्रिच कोर्नेलिस अग्रिपा र मोडेस्टा पाज्जो डि फोर्जी (Heinrich Cornelius Agrippa and Modesta Pozzoo di Forzi) ले गरे भने सत्रौ शताव्दीमा मेरी ले जार्स डि कोर्ने, अन्ने व्राडस्ट्रिट । फ्रान्कोइस पोउलैन डि ला वारे (Marie Le Jars de Cournay, Anne Bradstreet and Francois Poullain de la Barre) हरुले यसलाई निरन्तरता दिए ।

अठारौ शताव्दीमा जव विश्व क्रमश औद्योगिक विकासको चरणमा प्रवेस गर्यो । महिलावादी आन्दोलनको अगुवाइ आम रुपमा श्रमिक महिलाका मुद्दासंग पनि जोडिन थाले । महिलाहरुको आर्थिक उपार्जनको क्षेत्रमा प्रत्यक्ष संलग्नता बढ्न थालेपछि सामाजिक सांस्कृतिक रुपमा रहदै आएका कार्यविभाजन र विभेदका कुरा वर्गिय आन्दोलनको पनि पाटो बन्न पुग्यो । १८६६ मा सम्पन्न श्रमिकहरुको पहिलो अन्तरराष्ट्रिय सम्मेलनपछि माक्र्सले श्रमिक महिलालाई आन्दोलनको मुलप्रवाहमा संगठित रुपमा अगाडी बढाउन पर्ने कुरा अगाडी सार्नुभयो । त्यस कुरालाई कार्यान्वयन गर्ने कामको अगुवाइ क्लारा जेटिकनले गर्नुभयो । र, १८८९ मा क्लारा जेट्किनले पुग्दा श्रम क्षेत्रमा रहेका विभेदको अन्त्यको लागि समान कामको समान पारिश्रमिक हुनपर्ने प्रस्ताव दोस्रो अन्तरराष्ट्रियको मञ्चवाट राख्नुभयो । जुन सर्वसम्मत पारित भयो । त्यसपछिका दिनमा कार्यथलोसंग सम्बन्धित श्रमिक महिलाका समस्याका साथै आम महिलाले समानताका पक्षमा उठान गर्दै आएकोे मताधिकार र सामाजिक सांस्कृतिक रुपमा रहेका सवै किसिमको विभेदको अन्त्यको माग गर्दै १९०७ मा समाजवादी महिलाको पहिलो र १९१० मा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन आयोजना भयो । सम्मेलनले समाजवाद निर्माणको आधारका रुपमा महिला विरुद्ध रहेका विभेदपुर्ण व्यवहारमा रुपान्तरणको लागि महिलावादी मान्यताहरुलाई समाजवादी आन्दोलनको पाटाको रुपमा व्याखया गर्दै विश्वभरका महिलाले समानताको लािग गर्दै आएको आन्दोलनको सम्झना र सम्मानमा मार्च ८ का दिनलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने घोषणा गर्यो । १९११ देखि यस दिनलाई महिला आन्दोलनको विश्वव्यापी ऐक्यवद्धता दिवसका रुपमा बनाउन थालियो ।

समाजवाद र महिलावादको अन्तरसम्बन्ध

समाजवादी आन्दोलनले आर्थिक अधिकार र सामाजिक रुपान्तरण विना महिला र पुरुषको विचमा समानता कायम हुन नसक्ने कुरालाई शुरुका दिनवाट नै अनुभुत गर्दै आएको हो । त्यसै कारण १८६७ मा नै माक्र्सले क्रान्तिका लागि श्रमिक महिलालाई संगठित गर्न थप रणनीतिकको आवश्यकता अनुभुत गर्दै उनिहरुको विचमा छुट्टै संगठन बनाइ, थप तालिम–प्रशिक्षण र प्रतिष्पर्दी रुपमा मुलधारको संगठनमा समावेस गर्नुपर्ने तीन पाइले रणनीति सुझाउनु भयो । यद्यपी, त्यतिखेर शाव्दिक रुपमा यस रणनीतिलाई महिलावादसंग जोडिएको थिएन । १९११ पछि भने समाजवाद र महिलावाद स्पष्ट रुपमा अन्तर सम्बन्धित विचारको रुपमा व्याख्या गर्न थालियो । यस सन्दर्भमा अमेरिकन समाजवादी महिलावादी पत्रकार मेरी व्हाइट ओभिंटन (Mary White Ovinten) को सन् १९१४ मा “समाजवाद र महिलावाद“ शिर्षकको लेखमा भनिएको छ “विश्वमा समाजवादी र महिलावादी दुई महत्वपुर्ण आन्दोलन जारीछ । जसमध्ये, पहिलो गरिवी उन्मुलनको लागि संघर्षरत छ भने दोस्रो महिलामाथि हुने सवै किसिमको अत्याचार विरुद्ध लक्ष्यित छ ।”

तत्कालिन समाजमा समाजवाद र महिलावादको वारेमा विभिन्न तर्क–वितर्क जारी थिए । ति तर्क–वितर्कलाई समेट्दै र विश्लेषण गर्दै अमेरिकी समाजवादी पार्टीको सदस्य तथा महिलावादी अभियन्ता लोइस डव्लु निल्याण्ड (Loiuse W. Kneeland) ले १९१४ प्रकाशित अर्को लेखमा भनिएको छ “महिलावादी सोच विनाको समाजवादमा प्राण हुदैन र समाजावादी सोच विनाको महिलावादमा रणनीति हुदैन ।” लेखमा थप भनिएको छ “केही साघुरो दिमाग भएका समाजवादीहरु भन्ने गर्दछन्–समाजवाद वर्गियमुक्तीको आन्दोलन हो, महिलाको लागि यसले छुट्टै केही गर्नु पर्दैन ।” तर, फराकिलो सोच भएका महिलावादीहरुले त्यसको जवाफ दिदै भन्ने गरेका छन “समाजवादी आन्दोलन मात्र त्यस्तो आन्दोलन हो, जसको माध्यमवाट महिलाले “महिला र श्रमिक” दुवै किसिमको बन्धनवाट स्वतन्त्रता पाउन सक्दछन् । त्यसैले महिलाहरु आफ्नो मुक्तीको लागि समाजवादी महिलावादी आन्दोलनकर्ताको रुपमा क्रियासिल हुनुपर्दछ ।”

माथिका यी दुई समाजवादी अभियन्ताको भनाइले थप स्पष्ट पार्दछ कि समाजवाद र महिलावाद एक अर्काका परिपुरक विचार हुन, न कि विपरित वा फरक । यी दुई विचारको संस्लेषण गरेर जादा मात्र सामाजिक न्यायसहितको समृद्ध समाज सम्भव छ । १९१७ मा सोभियत रुसमा समाजवादी क्रान्तिदेखि चिनिया क्रान्ति हुदै नेपालमा गणतन्त्रलाई संस्थागत गर्दै बनेको संघिय लोकतान्त्रिक गणतान्त्रान्त्रिक संविधानसम्मका दस्तावेजलाई विश्लेषण गर्दा समाजवादी महिलावादी सोच प्रतिविम्वित भएको पाइन्छ ।

पुर्वीय दर्शन र महिलावादी एजेण्डा

नेपाली समाज पुर्विय दर्शनवाट बढी निर्देशित छ । पूर्विय दर्शनको अध्ययन गर्ने हो भने त्यहा महिलाहरु स्वतन्त्र थिए । आज हामिले लड्दै गरेका विषयहरु त्यतिखेरका महिलाहरुले उपभोग गरेका थिए । पूर्विय दर्शनमा पहिचानमा कुन्ती र कर्ण, दार्शनिक वहसमा गार्गी र यज्ञवल्क्य, स्वनिर्णयमा द्रौपदी, नीति निर्माणमा विश्वभरा, अपाला र घोसा जस्ता पात्रहरुको नाम उल्लेख छ । त्यस जमानामा महिलाहरुलाई सृष्टिकर्ताका रुपमा सम्मान गरिएको पाइन्छ । काली, दुर्गा, सरस्वती, लक्ष्मी जस्ता नामहरु फरक क्षमता भएका महिला पात्रहरु जो संधै शक्तिशाली र पुजनीय रहे । अहिलेको महिलावादी आन्दोलनले उठान गर्दै रहेका विषयहरु बंशिय पहिचान, श्रम, सम्पत्ती, शरिर र नीति निर्माणमा महिला समानताको कुरा पौराणिक कालका ति महिलाहरुले उपभोग गरेका अधिकारहरु हुन । यसर्थ पूर्विय दर्शन महिलावादी दृष्टिकोणसहितको थियो र महिलावाद जीवनको पाटो थियो । पछि “स्मृती“कालमा आएर खास गरी मनुको पालावाट महिलाहरुको अधिकार कटौती हुन पुगेको हो भन्ने कुरा पौराणीक इतिहासले देखाउदछ ।

नेपालमा महिलावाद

नेपालमा महिलावादी सोचसहितको आन्दोलनले शताव्दी पार गरेको छ । सन १९१७ को रुसी क्रान्तिपछि क्लारा जेटिकन, रोसा लक्जेम्वर्ग, कोलोन्ताइहरु सामाजिक न्यायसहितको समाज निर्माणको नीति र कार्यक्रम कोर्दै थिए । त्यसै समय (वि सं १९७४) नेपाली समाजमा सती प्रथा, वालविवाह, बहुविवाह, अनमेलविवाह लगायतका महिलामाथि हुदै आएको अत्याचारका विरुद्ध योगमायाको नेतृत्वमा सामुहिक आवाज उठ्न थालेको थियो । पूर्वी नेपाल भोजपुरको मजुवावेसीवाट समाजमा रहेको कुप्रथाको विरोध गर्ने मात्र होइन, रुपान्तरणको अगुवाइ आफैवाट गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने काम योगमायाको नेतृत्वमा हुदै थियो । विसौ शताव्दीको उत्तरार्धमा आएर महिलावादी आन्दोलनले उठान गरेको “आफ्नो शरिरमाथि आफ्नो अधिकार“को शुरुवात नेपालमा विसौ शताव्दीको पुर्वार्धमा नै भइसकेको थियो । त्यस समयको परम्परागत मान्यतालाई चुनौती दिदै अन्यायका विरुद्ध समाज सुधारको आन्दोलन अगाडी बढाउने कुरा कम चुनौतीपुर्ण थिएन । नेपालमा महिलावादी आन्दोलनको जग योगमायाको अगुवाइमा त्यही आन्दोलनवाट शुरु भएको हो, जसले आज शताव्दी पुरा गरेको छ ।

योगमायाको नेतृत्वको समाज सुधार आन्दोलन महिलाको विषयमा मात्र थिएन । वर्गिय रुपमा गरिव परिवारमाथि जमिन्दारले लगाउदै आएको “कान्छी–पाथी र जेठी¬–पाथी“ अनि “अन्न पच्चिसा“ जस्ता आर्थिक अनियमितता र दासप्रथाको विरुद्धमा पनि थियो । व्रम्हत्व ज्ञानका आधारमा प्राप्त हुने कुरा हो, जन्मका आधारमा होइन भन्दै जन्मका आधारमा कोही सानो–ठुलो हुदैन भनेर जातिय विभेदका विरुद्ध आवाज मात्र उठाइएन । समाजमा बुजु्रकका रुपमा रहेका सामन्तहरुको अनेक अवरोधका वावजुद्ध समाज सुधार अभियानमा फरक जात–जाति, धर्म–संस्कार र शारिरीक अवस्था भएका महिला–पुरुष सवैलाई धार्मिक र सामाजिक गतिविधिमा समान रुपमा सहाभागि हुन ढोका खुल्ला गरियो । यी विषयहरु विश्वमा चल्दै आएका समाजवादी अवधारणासंग मेल खान्छ ।

यसरी आज विविधतासहितको समाजमा वर्गिय शोषण र पितृसत्ता विरुद्ध साझा रुपमा लडिने समाजवादी महिलावादी अवधारणा कसैवाट सिकेको भन्दा पनि नेपाली समाजको आफ्नो भोगाइको उपज हो भन्ने कुरा गर्वका साथ भन्न सकिन्छ ।

धर्म भिक्षाको माग राख्दै पटकपटक राणा शासकसंग वार्ता गर्दा पनि सुधारको वाटोमा अगाडी बढ्नुका वदला १९९७ मा उल्टै परिवर्तनका अभियन्ता चारजना आटिला र साहसी युवालाई फासी दिएपछि सामाजिक न्यासहितको समाज हुनेमा विश्वास टुटेपछि योगमाया र उहाका समर्थकहरुले १९९८ असार २२ गते विद्रोह स्वरुप सामुहिक जलसमाधी लिन पुगे ।

वि सं १९९० पछि शुरु भएको राजनीतिक आन्दोलनका क्रममा रेवन्त कुमारी आचार्य, राममाया पोडे, सिता शर्मा लगायत दर्जनौ महिलाहरुको सहभागिता रह्यो । शिक्षा विना महिला सशक्तीकरण सम्भव छैन भन्ने सोचसहित चन्द्रकान्ता माथेमाकोे नेतृत्वमा महिला विद्यालय शुरु गरियो । २००४ सालमा महिलाको डेलिगेसनपछि सरकारी तहमा महिला विद्यालय खोल्ने निर्णयसंगै यसले संस्थागत रुप लियो । साहना, साधना, मंगलादेवी, स्नेनलता लगायतका महिलाहरुले उक्त आन्दोलनको अगुवाइ गरे । राजनीतिमा महिलाको समान अधिकारको पहिलो खुट्किलो समान मताधिकार प्राप्त भयो । महिलाहरु क्रमश जनप्रतिनिधिको रुपमा चुन्ने चुनिने क्रमको शुरुवात २०१० वाट भयो ।

तत्कालिन राजा महेन्द्रको दुष्कार्यको परिणाम वि सं २०१७ मा सवै अधिकार खोसियो । पौष महिनामा प्रजातन्त्रको हत्या गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको नाटक मञ्चन हुदै गर्दा शैलजा आचार्यहरु त्यसको धज्जी उडाउदै सोही मैदानमा कालो झण्डासहित विरोधमा उत्रिए । हरेक आन्दोलनको मोर्चामा काधमा काध मिलाएर अगाडी बढेका नेपाली महिलाहरु २०२८ सालको झापाकाण्डमा गौरा, सिता, लिला लगायतका महिलाहरु शुरुका दिनदेखि नै सहभागि भए । जेल, नेल र यातना सहे । तर, कोही गलेनन । हुनेखाने परिवारमा जन्मिए पनि वालविधवा भएका कारण समाजमा मात्र होइन, परिवारभित्र समेत न्याय नपाएका शान्ता मानवीहरु नेपाल र भारतका विभिन्न ठाउमा भौतारिदै गर्र्दा क्रान्तिको उज्यालो किरण भेटेपछि जीवन र जगत बदल्ने आन्दोलनमा होमिन पुगे । शारिरीक रुपमा अरु समान मैदानको अग्रपंक्तीमा उभिन कठिन पारिजातहरु साहित्यका माध्यमवाट समानताको विकुल अरु कसैले भन्दा स्पष्ट र ठुलो स्वरमा फुक्न थाले ।

२०३५/३६ सालको आन्दोलनपछि महिलावादी आन्दोलनले नया मोड लियो । मुलुकव्यापी रुपमा महिला समानताको हुंकार फैलन थाल्यो । समाजवादमा विश्वास राख्ने राजनीतिक दल नेपथ्यवाट उर्जा थप्दै थिए । मैदानमा रहेका जनकलाकारहरु सामाजिक न्यायका पक्षमा आफ्ना गीत संगितवाट मानिसमा जागरण छर्दै थिए । महिलाहरु विश्वभरका श्रमजीवी वर्गसंग काधमा काध मिलाएर रचना गरिएको समानताको आन्दोलनको सम्झना र सम्मानको दिवस मार्च ८ को ऐतिहासिकतावाट प्रेरणा लिदै संगठित शक्ति विस्तार गर्दै थिए । यी सवै परिघटनाहरु नेपालमा महिलावादी आन्दोलनको विकास र विस्तारका अध्यायहरु हुन, जसले महिला आन्दोलनमा एकपछि अर्को सफलताका सिढीहरु थपिदै आए ।

गर्व गर्न लायक उपलव्धीहरु

वि सं १९७४ मा सतिप्रथाको अन्त्यसंगै नेपाली महिलाले जीवनको अधिकार पाए । त्यसपछिका संघर्षमा क्रमश शिक्षा, स्वास्थ्य, रोजगारी र मताधिकारका क्षेत्रमा दायरा फराकिलो पार्दै अगाडी बढे । २०१७ सालमा खोसिएका अधिकारहरु लामो संघर्षपछि २०४६ मा बहुदलिय व्यवस्थाको रुपमा पुन प्राप्त भयो । २०४७ सालको संविधानले केही अधिकार दियो । नीति निर्माणको तहमा महिला सहभागिताको शुरुवात गरियो । महिला विरुद्ध हिंसाको वारेमा जनचेतनामुलक अभियानको वातावरण बन्यो । महिला शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधार भयो । आर्थिक गतिविधिमा महिलाको सहभागिता केही विस्तार भयो । तर, अंशमा समानता कायम गर्न शिर्ष नेतृत्वले आनाकानी गर्यो । वंशको अधिकार पहिलाभन्दा पनि साघुरो बनाइयो ।

तर पनि, जसरी पूर्वीय दर्शनमाको इतिहासमा महिलाहरुले कहिल्यै हार स्विकार गरेका थिएनन्, वर्तमानमा पनि हार मानेर वसेनन् । समानताको अभियान जारी राखे । विद्या भण्डारीहरु संसदमा आफ्ना आवाज र हस्ताक्षरहरुका माध्यमवाट समानताको लडाइ लड्दै थिए । कमला रोक्काहरु सशस्त्र विद्रोहको मैदानमा थिए । दरवारले प्रजातन्त्र खोसेपछि २०६२ मा आन्दोलन शुरु हुनु अगाडी फेरी पनि महिला समानता सुनिश्चित गर्ने विषयमा राजनीतिक दलहरु सहमतीमा आए । अन्ततः २०६२/६३ को आन्दोलनमा “वरावरी“को नारामा महिलाहरु मैदानमा “सरावरी“ रुपमा नै उत्रिए । गणतन्त्र आयो । संसदवाट वंश, अंश, सहभागिता र महिला विरुद्ध हिंसा अन्त्यको प्रस्ताव पारित भयो । त्यही जगमा उभिएर आज ति विषयहरुले संवैधानिक हैसियत प्राप्त गर्न सके । नेपाली महिला आन्दोलनले हासिल गरेका यी उपलव्धीहरु आज विश्वभरका लागि उदाहरण र सिकाइको विषय बनेकोछ । यद्यपी घरेलु मैदानमा व्यवहारिक रुपमा समानताको अनुभुती गर्न हाम्रो लडाइले अझै लामो दुरी पार गर्न वाकी नै छ ।

अवको चुनौती

नेपाली महिलाहरुको शताव्दी लामो आन्दोलनको सामु अवको चुनौती भनेको संवैधानिक अधिकारलाई जीवनमा अनुभुत गर्न सक्ने गरी गरिने कार्यान्वयन हो । सामाजिक सोचमा पितृसत्ताको प्रतिविम्व अझै वाकी रहेको कारण संवैधानिक अधिकारलाई कानुन र नियमहरुमा प्रतिविम्ति गर्न सहज छैन भन्ने कुरा केही महिना अगाडी देवानी संहिता बन्दा पैत्रिक सम्पत्तीमाथिको अधिकारमा देखा परेको विवादको सन्दर्भमा केही “सज्जन‘हरुले प्रयोग गरेका शव्द “अव फेरी महिलालाई शिर्ष तहमा लाने वारेमा सोच्नुपर्छ“ मा प्रतिविम्वित सोचको वारेमा आगामी दिनमा अझै चनाखो हुनु जरुरीछ ।

सहभागिताको सन्दर्भमा सवै तहको निर्वाचनपछि समृद्ध नेपालको नया नक्सा कोर्ने प्रक्रियामा रहदै आएको एकात्मकतालाई कसरी विविधतायुक्त बनाउने भन्ने कुरा पेचिलो बन्दैछ । संघियता अन्तरगत तीनै तहको संसद र सरकारलाई वर्गिय, लैंगिक, जातिय र क्षेत्रिय रुपमा सचेत नीति र समावेसी सहभागिताका लागि समयसापेक्ष हस्तक्षेप जरुरी छ । वाम गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्ने प्रक्रियामा समेत सिमान्तकृत अवस्थामा रहेका बहुसंख्यक नागरिकलाई मुलधारमा समावेस गर्ने विषयलाई सचेतनतापुर्वक लिन जरुरीछ।

यस सन्दर्भका सम्बन्धित वर्ग र समुदायले समेत बृहत्तर एकता र ऐक्यवद्धताको वैकल्पिक रणनीतिसहित क्रियासिल हुन आवश्यक छ । यसका लागि लोइस डव्लु निल्याण्डले भने झै “महिलावादी सोच विनाको समाजवादमा प्राण हुदैन र समाजवादी सोच विनाको महिलावादमा रणनीति हुदैन ।” भन्ने कुरालाई मन र मष्तिष्कमा राखेर मर्यादित श्रम, सम्मानित श्रमजीवी वर्ग र सारभुत समानतासहितको समाज निर्माणको अभियानलाई एकसाथ अगाडी बढाउन सकेमा मात्र समाजवाद उन्मुख “सुखी अनि खुशी नागरिकसहितको समृद्ध नेपाल निर्माणको वाटोमा हामी अगाडी बढ्नेछौ । त्यसो हुन दिन, समाजका हरेक निकायमा समान सहभागिता, हिंसामुक्त वातावरण, मर्यादित श्रम र सम्मानित श्रमजीवी वर्ग निर्माण गरौ । सवैमा मार्च ८ को शुभकामना ।

Wordfile: 100 years of Feminism in Nepal

https://www.kantipurdaily.com/opinion/2018/03/08/20180308072109.html