मुलुक कोरोनाको महामारीमा छ । कोरोना कहरका कारण मुलुकभित्र लाखौ श्रमिकको रोजगारी र व्यवसाय अन्यौलमा छ। विदेशमा रहेका नागरिकहरु घर फर्कन पाउ भनेर अनुनय विनय गरिरहेका छन । आम रुपमा नागरिकहरु रोगको त्रास र गरीखान पाउने दिनको आशमा छन । सरकार आगामी दिनमा आउन सक्ने सम्भाव्य आर्थिक र मानविय संकटलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफलमा छ । तर, पनि हरेक व्यक्तिको समय अनिश्चितताको विचवाट गुज्रदै छ । जनताको जीवन त्राहीमाम भएको वेला उनिहरुलाई धैर्य गर्न र सम्भावित जोखिमवाट सुरक्षित रहन सजग गराउने, आवश्यक उपायहरु अप्नाउन निरन्तर सजग गराउने र आफै त्यसको उदाहरणको रुपमा प्रस्तुत हुने काम हरेक सचेत नागरिक, संघसंस्था र मेडिया लगायतको परम कर्तव्य हो । तर यो संकटको समयमा पनि हामी अरुलाई निरन्तर खवरदारी गर्न र उपदेशात्मक अभिव्यक्ति संप्रेषण गर्न उद्दत छौ । आफैमा भने सम्भव भएसम्म सवै किसिमका नियमहरुलाई तोड्न सक्नुलाई वहादुरी ठान्ने हाम्रो सामन्तवादी चरित्र अझै सुध्रन नसक्नु सोचनिय बन्दै गएकोछ ।
आज कोरोनाको सम्भावित संक्रमणलाई वेवस्ता गरिए त्यसको सवैभन्दा पहिलो प्रभाव आफ्नै परिवार सदस्य र नजिकका व्यक्तिमा पर्दछ । अनि साथि–संगी र समुदाय हुदै आम नागरिकमा पर्न सक्छ भन्ने कुरालाई अनुभुत गर्न सकिरहेका छैनौ । आफ्नो जीवनमाथि खेलवाड गर्दै सुरक्षा निकाय र राज्य संयन्त्रको आखा छल्न सकेकोमा गर्व गर्दैछौ । यो मानसिकतावाट जवसम्म हरेक नागरिकहरु मुक्त हुदै संकटमा नागरिक अधिकारभन्दा नागरिक कर्तव्य महत्वपुर्ण हुन्छ र हुनुपर्छ भन्ने कुरालाई स्विकार गर्दै हामी सचेत हुन सकेनौ भने यसको भागिदार सिंगो समाज हुनेछ । हाम्रो लापरवाहीका कारण सिर्जित भयावह अवस्थापछि हामी फेरी पनि सरकारका निकायलाई आलोचना गर्न त सक्छौ । तर, गुमिसकेको अवसर फर्काउन र र भइसकेको क्षती रोक्न भने सक्नेछैनौ ।
यो विषम स्थितिमा सरकारको विभिन्न निकायहरुले गर्नुपर्ने जति काम र दिनुपर्ने जति ध्यान दिन सकेका छैनन । संघियतामा मुलुक प्रवेस गरेसंगै अझै फरक तहको जिम्मेवारी र कामले संस्थागत रुपमा पुर्णता नपाइसकेको अवस्थामा शताव्दीकै सवैभन्दा भयानक महामारी आइ लागेको छ । विश्व पुजीवादका प्रभावमा हामी प्राय हरेक कुरामा परनिर्भर बन्दै आएकाछौ । तर, विश्व एकाएक बन्दाबन्दीमा पर्नु र महामारीको सामना गर्न आवश्यक उपकरणको विश्वव्यापी अभावका कारण माग अनुसार उपकरण उपलव्ध हुन सकेको छैन । त्यो भन्दा बढी हाम्रो सरकार र नागरिक स्वयं पनि यस्तो आपतको सामना गर्नुपर्ला भन्ने कुराको कल्पनामा समेत थिएन । जसका कारण अपर्झट आइलागेको विपत्तीको सामना गर्दा कमी कमजोरी अवश्य भएका छन । जसको आलोचनात्मक चेत र सच्याउने वैकल्पिक उपाय सहित खवरदारी गर्नु हरेक सचेत नागरिकको दायित्व रहन्छ । यसको वारेमा सुसुचित गर्नु संचार जगतको कर्तव्य नै हो । तर, नागरिकलाई निरास पार्ने र सरकारी संयन्त्रलाई हतास पार्ने गतिविधिले न त नागरिकको भलो हुन्छ, न त कर्तव्य पालना नै हुन्छ । यसर्थ, यस्तो अवस्थामा सवै पक्ष विच हातेमालो गर्नुको विकल्प हुदैन । यसका लागि राज्य सवैभन्दा बढी सचेत भएर हातेमालोको वातावरण बनाउनु पर्दछ भने राजनीतिक दल, नागरिक समाज संचार जगतले पनि सोही अनुरुप आफुलाई प्रस्तुत गर्न जरुरीछ ।
चैत्र ११ गतेवाट मुलुक बन्दाबन्दीमा गयो । कामको खोजी र साना व्यवसाय गर्न गाउवाट शहर पसेका नागरिकहर गाउ फर्कन भ्याएनन । दैनिक परिश्रम गरेर जीवन गुजार्ने श्रमिकहरु क्रमश भोगको चपेटामा पर्न थाले । रोगको त्रास त आफ्नो ठाउमा छदै थियो । सरकारले राहत वितरणको नीति लियो । तर, स्थानिय तहले परिचय पत्र विना राहत दिन नसक्ने वताएपछि सवैभन्दा बढी मार तिनै श्रमिक परे, जस्को पहिचानपत्र केही थिएन । हप्ता दिनलाई भनिएको बन्दाबन्दी अर्को हप्ता थपियो । अव भोका पेटहरु सलवलाउन थाले । जन्मथलोमा नै आफ्नो सुरक्षा अनुभुती गरेर श्रमिकहरु हिडेरै आफ्नो ठाउ जान थाले । वाटोमा मानिसको लस्कर देखिन थाल्यो । बन्दाबन्दी फेरी १० दिनलाई थप भयो । विचमा वाहिर जाने मानिसलाई पड.ठाउने व्यवस्था गर्न आग्रह गर्दा पनि सरकार त्यसको पक्षमा देखिएन । तर, पहुचवाला सांसद, नेता र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई गाडीको व्यवस्था गर्दै पठाउन थाले । यसले जन आक्रोस चुलियो ।
अन्तत श्रम सम्बन्धि समितिको वैठक वसेर श्रमिकलाई घर पठाउने, खाद्य पदार्थको संचय व्यवस्था गर्ने र उपभोक्ताहित विपरित कार्यको अनुगमनका लागि सम्बन्धित मन्त्रीहरुलाई भेटेर सुझाव दिने निर्याण भयो । वैशाख गते प्रतिनिधि मण्डलकै रुपमा सुझाव दिइयो । राम्रो कुरा त्यसपछिका केही दिन स्थानिय तहसंग समन्वयमा वाहिर निस्किएका नागरिकहरु गाउ पुगे एउटा सेफ्टी भल्भ खुल्यो । आज श्रमिकहरु गाउमा गएर आफ्नो दुखजिलो गरेर वसेका छन । वाझो वारी खनजोत गर्दैछन । स्थानिय तहले उपलव्ध कामको पहिचान गरी श्रम वैंक सचलन गरी नागरिकहरुका लागि हातमुख जोड्ने व्यवस्था गरिरहेका छन ।
हरेक मान्छेका लागि संकटको साथ आफ्नै समाज र माटो हो भन्ने कुरालाई यस पटकको महामारीले व्यवहारिक रुपमा अनुभुत गराइ दिएकोछ । कोरोना संकट वढ्दै जादा भारत प्रवासमा रहेका नेपालीहरु मुलुक फर्कन थाले । बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिकहरु आफ्नो सिमानामा पुगेपछि त जसरी पनि आफ्नो ठाउ पुगिन्छ भन्ने विश्वासका आधारमा हिडेरै पनि सिमाना आइपुगे । तर, स्थिति त्यस्तो रहेन । बन्दाबन्दीको समयमा सिमानामा आइपुगेका जतिलाई देश आउन दिइ सिमाना बन्द गरियो । हप्ता दिनमा सिमाना घुल्छ र मुलुक छिरिन्छ भन्ने आशमा चैत्र १७–१८ गते सिमानामा केही हजार नागरिक फेरी पनि भेला भइसकेको थिए । तर बन्दाबन्दी थप भएको कारण उनिहरु आउन पाएनन । सिमानामा नारावाजी शुरु भयो । अन्तत पारीका नेपाली उतै र वारीका भारतिय यतै क्वारेन्टिनमा राखिने व्यवस्था भयो ।
दुइ हप्ता यसै गरी वित्यो । त्यसपछि फेरी पनि सिमानामा समस्या बढ्यो । व्यवस्थित रुपमा परिक्षण गरेर पालिका पठाउने सुझाव दिइयो । तर, सरकार सहमत भएन । नतिजा लुकिछिपी नेपालीहरु छड्के वाटोहरुवाट छिरेर गाउ पुग्न थाले। सरकारले कार्वाही गर्ने डरले स्थानिय तह वा प्रहरी वा प्रशासनको सम्पर्कमा गएनन । नतिजा कोरोना भाइरसले समुदायमा प्रवेस गर्यो । यो अवस्था भयावह हुने अवस्था देखेपछि अन्तत जेठको दोस्रो हपप्तावाट सिमानामा आएका नागरिकलाई सिधै पालिका पठाउने व्यवस्था गर्न थालियो । जुन वेला समस्याले नियन्त्रणभन्दा वाहिर गइसकेको थियो ।
अर्कातर्फ खाडी क्षेत्रमा रहेका नेपालीहरु नेपाल आउन अनुनय विनय गर्दै थिए । त्यस क्षेत्रमा रहेका कामको खोजीमा गएका, परिवार भेट्न गएका, उपचारका गर्न गएका, अध्ययनको क्रममा गएका लगायत नेपालीहरु संकटपुर्ण अवस्था भोग्दै थिए । कतिपय नेपालवाट औषधी लगेर खाने व्यक्ति औषधी सकिएकोले समस्यामा थिए । गैर कानुनी रुपमा रहेका श्रमिकहरु माफी पाएर नेपाल आउने तयारीमा शिविरमा रहेका छन । प्लेन चार्टर गरेर उनिहरुले नै पठाइ दिने प्रस्ताव राख्दा समेत सरकार ल्याउन तयार भएन । समितिले दुई पटकसम्म वैठक गरेर निर्देशन दिदा पनि सरकार निर्णयमा पुगेन । सम्बन्धित मुलुकको सरकारसंग कुरा गरेर उपचार र खाने वस्ने व्यवस्थाको लागि आग्रह गर्यो । तर, खान, लाउन र वस्न पाउनु मात्रै मानव जीवन होइन । समस्यामा परेका वेला आफ्नो माटोमा सुरक्षित रुपमा आएर घरपरिवार र समाजमा सुरक्षित रुपमा वस्न पाउनु आधारभुत कुरा हो भन्ने कुरालाई सरकारले आत्मसात गर्न सकेन । जसका कारण अझै पनि विदेशमा रहेका नागरिकहरु छटपटिमा वाच्न वाध्य छन ।
जीवन मात्र होइन, यस विचमा झण्डै १०० भन्दा बढी नेपालीका लासहरु विदेशमा रहे । जेठको पहिलो हप्ता उतै दाह संस्कार गर्न अनुमती दिन परिवारलाई आग्रह गरेपछि झण्डै आधा जती लासको अन्न्येष्टी भइसकेकोछ भने अरु लास हवाइमार्ग खुलेपछि नेपाल ल्याउने पर्खाइमा रहेका छन ।
जेठ १२, २०७७