भुलिएका भुईं मान्छेहरूलाई सम्झने जमर्को

https://shilapatra.com/detail/160581

भुलिएका भुईं मान्छेहरूलाई सम्झने जमर्को

‘भुइँमान्छे’ पुस्तक पढेपछि पीबी शेलीले जस्तो यी पहेँला पातहरूको थुप्रो बढारिदे, झाँक्रीले जस्तै ढ्याङ्ग्रो ठोक भन्न नसके पनि बसिबियाँलो गर्ने आँट गरेको छु । यो पुस्तकका पात्रवरिपरि आफूले परिक्रमा गरेको जस्तो, आफैँ संलग्न छुजस्तो र आफैँ पञ्चायती आतंकको मारमा परेजस्तो अनुभूति भयो । लेखन शैलीको सरलता, विषयको सूक्ष्म अध्ययन र सत्यको तराजुमा बसेर रचिएको इतिहासजस्तो आग्रह–पूर्वाग्रहबिनाको गाथाको बोध भयो ।

खाइसकेपछि पनि धेरै बेरसम्म जिब्रोको फेदमा गुलियो रहिरहने डेरी मिल्कजस्तो पुस्तक पढेपछि टिप्पणी लेख्नुपर्‍यो भन्ने लागेको थियो । तर, मलाई राम्ररी लेख्न नआउने हुँदा निकै दिन आँट गर्न पनि सकिनँ । लेखिहाले पनि प्रेस विज्ञप्तिजस्तो होला भन्ने लाग्यो । धेरै वर्ष पार्टी महासचिवको निजी सचिव, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव र विदेश विभागको सचिव रहेको हुँदा मैले त कविता लेखे पनि विज्ञप्तिजस्तै लाग्छ । तैपनि जान्दिनँ भन्दा अरुले जान्ने ठानेको भ्रमको झिनो धागो चुँडिने डरले हौसला बढायो ।

बचाइ जीवनको वैशिष्ट्य हो भनिन्छ । क्रान्ति मृत्युका लागि नभई जीवनका लागि र रुपान्तरणका लागि हुनुपर्छ । यो पुस्तकले क्रान्तिमा लागेका अथक योद्धाहरूको साहस र बलिदान, त्यागलाई देशभक्त र प्रगतिशील युवाहरूबीच पुर्‍याएको छ । समाजको ढुकढुकीलाई राम्ररी छामेको छ, वाम तथा प्रजातान्त्रिक आन्दोलनको मर्मलाई सुमसुम्याएको छ र घटनापरिघटनाहरूलाई नियालेको छ ।

इतिहासका निर्माता श्रमजीवी जनता हुन्, तिनीहरूले नै आफ्नो समयको नेता निर्माण गर्छन् । तिनको सुरक्षा, संरक्षण र सुविधाका लागि अविस्मरणीय त्याग गर्छन् । आफ्ना कलिला लालाबालाको मुख मोसेर भए पनि खान र जीवनको जोखिम मोलेर बस्न दिन्छन् । यो पुस्तकले त्यो आदर्शको उजागर गर्ने जमर्को प्रशंसनीय छ र मेरो व्यक्तिगत सन्दर्भमा मैले भोगेका, जानेका र सुनेका कुराभन्दा कता हो कता धेरै ज्ञान थपिदिएको छ र भण्डार भरिदिएको छ । आश्रय, सुरक्षा र समर्पणका सारथि ‘भुइँमान्छे’ ३ सय ८० पृष्ठभित्र पाँच भागमा अटाएको हुँदा अलिक साँघुरिएको छ ।

हाम्रो आस्थाको सगरमाथामा केही झिल्केहरू आज विराजमान भएका छन् । त्यहाँबाट बग्ने शान्ति, स्थायित्व, रुपान्तरण र समृद्धिजस्ता भावनाका निर्मल नदीहरूमा दुर्भावनाका बाँधहरू बाँधिन थालेका छन् । उनीहरू समाजवादको शिरपोस र लम्पट पुँजीवादको पाउपोसमा ठाँटिएर कमिसनको इन्धनले दौडिरहेका छन् । उनीहरूद्वारा संरक्षित कुण्ठा, इर्ष्या र आडम्बरको मानसरोवरबाट उत्सर्जित परपीडनको तीव्र प्रवाहले ‘भुइँमान्छे’को रगत, पसिना र श्रमले सजाएको आस्थाको उर्वर मैदान कतै हानिरहेको र कतै तानिरहेको छ । ती भुइँमान्छेहरू जति अपहेलित, प्रताडित र शोषित रहे पनि पार्टीप्रतिको आस्था अदम्य छ, विश्वास अटल छ भन्नेमा केन्द्रित छ ।

नेताहरू झिल्क्याँइबाट बाहिर आऊन्, देश र जनताको हितमा काम गरून् र सामाजिक, राजनीतिक एवं आर्थिक रुपान्तरण होस् भन्नुबाहेक कुनै निजी आकांक्षा र अभिलाषा तिनीहरूमा देखिँदैन । यो पुस्तक पढेपछि नेपाली भुइँमान्छेहरू बेग्लै धातुद्वारा निर्मित भएका हुन्छन् भन्ने कुरा उद्बोधित भएको थाहा हुन्छ । यो कुरा हामी सबैका लागि प्ररणादायी हुनेछ ।

मेरा आफ्नै भोगाइका सोपानहरू तरेलीगत रूपमा वचनबाट युवाहुँदै आजसम्म बिहानीको घाँसका पातमा अल्झिएका शीतको थोपाजस्तै ताजा भएका छन् र पीडाका घाउहरू पुनः चहर्‍याएको अनुभव भएको छ । ती दमन र उत्पीडनका कहालीलाग्दा दिनमा देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने साहसी योद्धाहरू र निःस्वार्थ सहयोग गर्ने खुला मन र हातहरूको सम्झना र सम्मान प्रकट भएको पाएँ ।

पार्टी निर्माणका लागि आफ्नो थातथलो र जागिर छोडेर भूमिगत हुने, जीवन उत्सर्ग गर्ने र आश्रय दिने मैले चिनेजानेसम्मकालाई सम्झँदा आस्थाको धरतीमा पहिरो गएको र बाँकी पनि चल्याकचुलुक भएजस्तो लाग्यो । मैले जानेमध्येका मेरै जिल्लाका कर्मठ योद्धाहरूले गरेको साहस र बलिदान पनि भुइँमान्छेको पंक्तिमा अंकित हुनुपर्ने हो । हरि नेपाल, चन्द्र पुरी र वासु शाक्यको नाम उल्लेख भए पनि त्यो पंक्तिमा शहादत गर्ने संखुवासभाका रामु सिटौला, गोविन्द रुपाखेती (दाहाल) र महेश्वर चौलागाईं पनि छन् । नेत्र गौतमको अग्रणी भूमिका छ र यशोदा अधिकारीलाई पनि बिर्सन हुँदैन ।

जिल्लाका यी घटनाहरूको र हरि वैरागीको सम्झना मात्रले पनि आङ सिरिङ्ग गर्छ र मानसिक पीडाको घाउ चर्कन्छ । यो पुस्तकको लेखनले हामी सबैलाई प्रेरित गर्ने विन्दा पाण्डेलाई मैले स्कुले विद्यार्थीदेखि सशक्त नेतासम्मको अवस्थामा देखे जानेको छु । उहाँलाई अहिलेसम्म पनि भुईंबाटै भुइँमान्छेप्रति सद्भाव र सम्मान व्यक्त गरेको पढ्न पाउँदा आत्मविभोरसहित सम्मान व्यक्त गर्न चाहन्छु ।

कतै कसैको दुराकांक्षाको दौड दुर्दान्त घोडाको जस्तो हुन्छ । चेतनाको शून्यता र गन्तव्यको अन्योलले कता डोर्‍याउँछ तर लगाम भने आडम्बरको हातमा हुन्छ । यसले गर्दा जतिसुकै शक्ति आफूमा समेटे पनि वाञ्छित लक्ष्य प्राप्त हुँदैन, मात्र आक्रामकता, दुराकांक्षा र आडम्बरप्रेरित क्रियाको सम्पादन हुन्छ । समर्पण र स्वीकार्यको अभावमा एउटा नेता ‘ले यता’मा कायान्तरित हुन पुग्छ । विन्दाजीले पुस्तक नलेखेको भए मैले लेख्ने नै थिइनँ । यो पनि क्रियाको प्रतिक्रिया नै हो । नेताको नेतृत्व र त्यसमा टिप्पणी पनि यसै सेरोफेरोमा विकास हुन्छ ।

वनबाट आए बान्ने, थुनबाट आए तान्ने मनोवृत्तिले गोठ बढ्दैन । आफूलाई पूर्णताको परिवेशमा समेटिएको भ्रमजालमा आफ्नो मन, वचन र कर्मले परिणाम छोडेर प्रशंसाको खोजी गर्दछ । प्रशंसाको पुल बाँध्नेहरू सबै योग्य र स्वस्थ आलोचना गर्ने सबै अयोग्य ठानिन्छ । त्यसमा पनि नातागोता र गोरु किन्न जाँदा बास दिनेहरू अब्बल हुन्छन् ।

उपर्युक्त सन्दर्भमा सन्तुलन बिगार्ने जोकोही पनि अतृप्त आत्मसंवेगको सिकार हुन्छ । कार्ल युगले मानिसलाई द्वैध मनस्थितिको प्राणी भनेका छन् । एउटा मानिस आफैँमा पूर्ण हुँदैन । वाद, विवाद र त्यसको निष्कर्षले पूर्णतातिर डोर्‍याउन सक्छ । सल्लाह, सुझाव र वादविवादमा भरोसा नगर्ने शान्त, सौम्य र सहज देखिए पनि छेउमा पुग्दा हिमाल परबाट हेर्दाजस्ता हुन्छन् । हेर्दा सौम्य भए पनि छाम्दा र छुँदा अत्यन्तै चिसा ।

यस्ता मानिसहरूको मनोग्रन्थी असहिष्णुताले भरिपूर्ण हुन्छ र त्यसले कुनै कुरामा पनि सन्तुलन कायम गर्न सक्दैन । परिणामतः घोचपेच, झगडा र विखण्डन निम्तिन पुग्छ । यो आफैँ हुन्छ । सिस्नुजस्तो छोयो कि पोल्यो । कोही हिँडेको बाटो गन्हाउँछ, बसेको कुर्सीले घोच्छ र अझ कसैको त जुँगा नै मन पर्दैन । यो आत्मविमुग्धताको उपज हो । व्यक्तिगत लाभहानिको लेखाजोखाले कुशल नेताभन्दा आत्मविमुग्धतावादी भनिन्छ । यसले असल मुन्सी बनाउँछ र सामाजिक–राजनीतिक जीवनका लागि अफापसिद्ध हुन्छ ।

वनबाट आए बान्ने, थुनबाट आए तान्ने मनोवृत्तिले गोठ बढ्दैन । आफूलाई पूर्णताको परिवेशमा समेटिएको भ्रमजालमा आफ्नो मन, वचन र कर्मले परिणाम छोडेर प्रशंसाको खोजी गर्दछ । प्रशंसाको पुल बाँध्नेहरू सबै योग्य र स्वस्थ आलोचना गर्ने सबै अयोग्य ठानिन्छ । त्यसमा पनि नातागोता र गोरु किन्न जाँदा बास दिनेहरू अब्बल हुन्छन् । भुइँमान्छेहरू ‘खोलो तर्‍यो कि लौरो बिर्स्यो’को सिद्धान्तभित्र समेटिन्छन् । त्यसपछि एउटा नेता आस्थाको धरोहरबाट वितण्डावादीमा कायान्तरित हुन्छ र सबै चीज बिथोलिन थाल्छन् । अनावश्यक बतुराउने, अर्काको रिसले आफैँ हानि गर्ने, त्यसैमाथि गर्व गर्ने अक्षमता कायान्तरणकै भावभूमिकामा विकास हुन्छ ।

हिँड्दाखेरि दायाँ र बायाँ खुट्टाको तालमेल जति आवश्यक हुन्छ, काम गर्दा पनि विचार र व्यवहारको त्यस्तै तालमेल चाहिन्छ । यो विवेकपूर्ण सन्तुलनले शान्ति, प्रगति र समृद्धिको लक्ष्यमा पुर्‍याउँछ । यसलाई एउटा अग्लो पहाड र होचो उपत्यकाको अन्योन्याश्रित सम्बन्धको उपमा दिन सकिन्छ । पहाड जति अग्लो भए पनि त्यसको अस्तित्वको आधार होचो उपत्यका नै हो । पहाड अवश्य अग्लो हुन्छ तर बतासिलो पनि हुन्छ । बेलाबखत ढुंगा झर्छन् र पहिरो पनि गइरहन्छ ।

एउटा लोखर्केले चुनौतीसहित पहाडलाई भन्छ, ‘ठूलो हुँदैमा केही हुँदैन, तेरो घमण्ड निरर्थक छ । एउटा चट्याङले तेरो छाती छियाछिया पार्छ, पहिरो जान्छ र तेरो बीभत्स रूप देखिन्छ । तर, म तेरै छातीमा उम्रेका रुखैरुख उफ्रँदै सहजतापूर्वक जोगिन्छु, तँ जोगिन सक्दैनस् ।’ भुइँमान्छेका कुरा पनि त्यस्तै हुन्छन् । उनीहरू हिजोका ठूलठूला पहिरोमा पनि जोगाउने/जोगिने गर्थे र आजको दिनसम्म पनि जोगिएका छन् । चोखै छन् ।

उपत्यका शान्त, सुन्दर र विशाल हुन्छ । त्यसको सस्यश्यामलताले सबैलाई सम्मोहित पार्छ भने शिखर सधैँभरि अवरोह र पहिरोको आभाषमा चिन्तित रहन्छ । शिखरलाई भत्किने र खस्किने आतंक हुन्छ भने उपत्यका सधैँ स्थिर रहन्छ । यो अन्तर झिल्के नेता र स्थिर कार्यकर्ताबीच कायम रहने सत्य हो । ओरालो लाग्नुपर्ने अनुभूतिले मात्र पनि तर्सिनु, आक्रान्त हुनु र यथास्थितिवादको त्यान्द्रो समाउँदा राहत महसुस गर्नुले उपत्यका पुरिन थाल्छ, उर्वरा घट्छ  र बन्जर हुन थाल्छ । त्यसपछि झिल्के पनि विक्रम सुब्बाको कविताजस्तो जताबाट हेरे पनि नाङ्गै देखिन थाल्छ । उसको शिखर आरोहणमा भर्‍याङ भएका लुते करङहरू मासुबिनाको आफ्नै छालामा टिकेका हुन्छन् । तिनै हुन् बिन्दाजीका भुइँमान्छे र हाम्रा उपत्यकाहरू ।

बिनासन्तुलनको मैदानले शिखरको पक्षपोषण लामो समयसम्म गर्न सक्दैन । अमिवा आफैँले आन्तरिक ऊर्जा निर्माण गर्छ, खपत गर्छ र आफैँ समाप्त हुन्छ । तैपनि जीवनको अनन्त प्रक्रिया जारी रहन्छ । मानिस अमिवाभन्दा फरक हुन्छ । त्यसैले झिल्केको ऊर्जा स्रोत भुइँमान्छे हुन्छ र त्यसले रुपान्तरणका लागि घचघच्याइरहन्छ । त्यसबाट द्वन्द्व उत्पन्न हुन थाल्छ र त्यही द्वन्द्वको भावभूमिमा केही परजीवीहरू मौलाएको देखिन्छ तर रैथाने भुइँमान्छेको जातिलाई खास प्रभाव पार्दैन । एउटा झिल्केको कायान्तरणसँगै इहलीला समाप्त हुन्छ ।

झिल्केको रङ स्थायी हुँदैन, समयक्रममा खुइलिन्छ । प्रकृति उर्वर र परिवर्तनशील छ । शिशिरका नांगा रुखहरूले फेरि पालुवा हाल्छन् र भुइँमान्छेको आस्थाको वसन्त पुनः पल्लवित हुन थाल्छ । अब भुइँमान्छेलाई थाहा हुन्छ, त्यो झिल्के युगद्रष्टा सन्ताप मोचकभन्दा निजी स्वार्थको विस्फोटक पोको थियो । सगरमाथाले आफ्नो आधार भएको कालापत्थर बिर्सन सक्दैन । जराको फैलावटले मात्र रुख बलियो हुन्छ तर एउटा झिल्के भने सुन्निएकोलाई मोटाएको ठान्छ र बलियो भएको भ्रममा आल्हादित हुन पुग्छ । भुइँमान्छे र जननेताबीचको सम्बन्ध प्रकृति र चेतनाजस्तो हेर्दा भिन्नै भए पनि एकै हुन्छ । ‘हो’ काका, चाउ–एन–लाईहरू यसका उदारहण हुन सक्छन् ।

दुर्भाग्यवश नेपालमा भुइँमान्छेहरू किन किन लेण्डुप र हिटलरको त्रासद छायाको अनुभव गरिरहेका छन् । किन लेनिन, माओ र ली क्वान युको छायामा ग्रहण लागेको देख्छन् ? आज भुइँमान्छेको दिमागमा यो अत्यन्त ठूलो प्रश्नचिह्न बनेर खडा भएको छ । यी तमाम प्रश्नहरूको खोजीमा बिन्दाजीले रुचिकर सामग्री जुटाइदिनुभएको छ र त्यतातिर संकेत गर्नुभएको छ । आस्थाका फाँटहरूमा विश्वासको अंकुरण अपेक्षित देखिन्छ । अस्तयाचलतिरबाट घामले खुट्टा तान्न लागेको भए पनि चराहरू गुँडतिर फर्केका छैनन् । अँध्यारो हुने समय अझै बाँकी छ । भुइँमान्छेहरू हातहातमा मसाल लिएर ‘यो अन्तिम संघर्ष हो’, ‘हामी जित्नेछौँ र गाउँगाउँबाट उठ’ भन्ने गगनभेदी गीत गाउन थाल्छन् र अन्धकार सकिनेछ । अन्त्यमा, पुस्तक प्रकाशनको सार्थकता सिद्ध होस्, सफलता मिलोस् र अरु पाठ्यसामग्रीहरू उपलब्ध भइरहून् भन्ने आशा राखेको छु ।

(समीक्षक शर्मा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख हुन् ।