भुइँमान्छेमा : नेताका अनुहार

शनिबार, २० बैशाख २०८२, ०८ : २५

विन्दा पाण्डेको पुस्तक भुइँमान्छे पढेपछि मन, मस्तिष्कमा अनेक प्रश्नहरुले प्रश्न गरिरहे । आश्रय, सुरक्षा र सम्पर्कका सारथि भनिएको उक्त पुस्तकले विशेष गरेर कम्युनिष्ट पार्टी (नेकपा, मालेकालीन)का नेताहरुले बिताउनु परेको भूमिगतकालीन अवस्था,साथ दिने भुइँमान्छेहरु र तत्कालीन परिवेश समावेश छन् । पुस्तक पढेपछि हिजोका कुरा त थाहा हुने भइनै हाले तर त्योभन्दा ठूलो कुरो त वर्तमानमा ती भुइँमान्छेका भोगाइ, अवस्था र उनीहरुका मनमा खेल्ने अनेकौं तर्क, वितर्कका बारेमा जान्न मन लाग्छ ।  पुस्तकमा उनीहरुका बारेमा केही कुरा सुन्न, बुझ्न र जान्न पाइन्छन् ।

‘पार्टी सरकारमा पुगेको छ,राम्रो गरिदिए हुने थियो । हामीलाई त केही चाहिएको छैन,विकास निर्माणमा जोड दिए हुनेथियो । पार्टीले हामीलाई सम्झिए पुग्छ । सेल्टर बसेको ठाउँमा शहिद पार्क, स्मृति पार्क वा कुनै पहिचान दिने खालको काम गरिदिए हुनेथियो । गरिवका कुरा सुनिदिए हुन्थ्यो । फुर्सद हुँदा सेल्टरदाता कहाँ कहिलेकाँही घुम्न आएपनि हुन्थ्यो’ यस्तै कुराहरु धेरै भनेका छन्–भुइँमान्छेहरुले । खासमा पिंधमा पारिएको वा परेका मान्छे नै भुइँमान्छे हुन् । उनीहरुका हिजो, आज र भोलि के फरक होलान्–जीवनयापनमा,आर्थिक विकासमा, सामाजिक परिवेशमा र राजनीतिक सहभागितामा ? पुस्तक पढिरहँदा भुइँमान्छेले पिंध छाडेको कमै भेटिए ।

मालेकालीन समयमा मालेका साथीहरुले भूमिगत बस्दा पाएका कठिनाई,पीडा र स्थानीय साथीहरुले आफू नखाइकन पार्टीका नेतालाई गरेको सहयोगको सीमा यतिबेला असीमित लाग्छन् । दिएका सुरक्षा, आश्रयका बारेमा खुलेर प्रशंसा गर्न लायक छन् तर उनै नेताहरुले ती भुइँमान्छेहरुलाई आज चिन्छन् ?आवश्यक सहयोग केही गरेका छन् ? नेतालाई सुरक्षा र आश्रय दिदा आफूले गुमाएका जग्गाजमीन आफू सरकारमा पुगेपछि फिर्ता गर्दिएका छन् ? हिजोका ती कमरेडली विचार,भावना र कर्म आज कहिकतै बाँकी छन् ? कि उनीहरुले भुले ? यावत प्रश्नका उत्तरहरु खोज्नका लागि भुइँमान्छे पढ्नै पर्ला !

भुइँमान्छे पुस्तक पढिरहँदा कुनै जमानाको फिल्म हेरेजस्तै लाग्छ । मन,मस्तिष्कमा रील घुमेजस्तै लाग्छ । तत्कालीन नायकहरु आज कसरी नायकीपनबाट स्खलित हुँदै गएका छन्,प्रश्न गर्न मन लागिरहन्छ तर उत्तर कसले दिने, कहाँबाट पाउने ? पढ्दापढ्दैको पुस्तक फुत्त भूइँमा खस्दा भुइँमान्छे सम्झना आउँछ । आफ्नै सहयोद्धाहरु गुमाउँदाका पीडाहरु,जेल तोडेर भोगेका कथाहरु, नदी किनारैकिनार भोकभोकै दौडिएका इतिहासले तत्कालीन नेताहरुलाई आज कस्तो लाग्दो होला ? वर्गसंघर्षका लागि आफ्नो जीवन हत्केलामा राखेर हिडेका कमरेडहरुले यो पुस्तक पढिरहँदा आफूलाई कहाँ भेट्छन् होला ?

पार्टीको बैठक लम्बिएर खानेकुरा केही नहुँदा सातु खाएर लम्बाइएको सातु बैठकले के कुराको याद दिलाउँदो होला यतिबेला ? दिनभर मजदूरी गरी भुइँमान्छेबाट पालिएका तत्कालीन नेताहरुले यतिबेला  चौरासी व्यञ्जन जिउनार गर्दा ती दिनहरुका याद आउँछन् होला ? आउँछ, किन नआउने तर व्यवहारमा पो देखाउन नसकेका हुन् । यादहरुको पहाड छन् नेताहरुसँग । तर पहाडबाट भुइँमान्छेलाई चियाउन नसकेका मात्र हुन् । गाँस काटेर आश नगर्ने भुइँमान्छेका दिनचर्या परिवर्तन हुन नसकेका सबैलाई थाहा भएकै विषय हुन् । किन यस्तो भयो त ? भूइँमान्छेका लागि लडेकाहरु सगरमाथाका टुप्पामा पुगे,कोही नाम्चेबजार छन् । तर भुइँमान्छे किन भुइँमै ? किन हात दिएर अनि साथ दिएर उठाउन सकिएन ? भुइँमान्छेका सपनाहरु भुइँमै रहने नै थियो त ? यावत प्रश्नका उत्तर पुस्तकमा खोजिरहेका छन् पाठकले ।

कम्युनिष्ट हुन अक्बरे खुर्सानी पचाउन सक्ने हुनुपर्छभन्ने तत्कालीन नेताहरुले खाना नपचेर इञ्जाम खानुपरेको बाध्यता ताजै छ । हात मिलाउँदा हातमा ठेला हुनुपर्छभन्ने कमरेडहरुले हात मुलाएम बनाउन कतै हातमा जेल घसिरहेका त छैनन् ? दिदीको घर, पार्टीकी आमा र रेड लडाकूहरुभन्ने शब्दहरु शब्दकोसमा सीमित भए  कि ! श्रमजीवीको, कम्युनिष्ट पार्टी आज कुन अवस्थामा पुग्यो फेरि पनि भुइँमान्छेलाई सोध्नुपर्छ कि नेतालाई !

दुस्मनको आँखा छल्न, जिउँदो मान्छे लास बनेर बाँसको घारामा बोकिनु परेको कुरा यतिबेलाका कमरेडहरुलाई नाटकको एउटा इपिसोड हुन सक्ला तर तत्कालीन नेताहरुले संघीय गणतन्त्र ल्याउनका लागि गरेको बलिदानीपूर्ण व्यवहार थियोभन्न किन डर,लाज ? भूमिगतकालीन अवस्थामा स्वस्थ आलोचना र आत्मालोचना हुने गथ्र्यो तर आज एकले अर्कोलाई ब्रोइलर कुखुराको छाला काढेझैं गरेपछि पार्टी र नेताप्रति भुइँमान्छेको सोच,विचार र व्यवहार कस्ता होलान् ? भुइँमान्छेहरुले जे दिन्छन्,जे खान्छन्, त्यहि खाने नेताहरुले अहिले केके खाँदै होलान् ? कसो गर्दैहोलान् ? विगतका ती दिनहरु आँखामा नचाउँदै होलान् ?

सबैभन्दा ठूलो क्रान्ति, पेटले नै गर्दोरहेछ भन्ने तत्कालीन कमरेडहरुका सोचाइएमा आएका नौलो जनवादी क्रान्ति, सामाजिक  एवम् सांस्कृतिक क्रान्ति, आर्थिक क्रान्ति र २१ शताब्दीको नौलो जनवादी क्रान्तिले कहाँ पुुगेर आफूलाई उभ्याएको होला ? नीतिगत रुपमा पार्टीका नेताहरुसँग असमति जनाउँदा खोसिने पद, प्रतिष्ठालाई पुस्तकमा मिहिन तरिकाले व्याख्या गरिएको छ । पुस्तकमा कम्युनिष्ट पार्टीको भूमिगतकालीन अवस्था, अनुशासन, वित्तीय व्यवस्थापन, भुइँमान्छेसँगको व्यवहार,शैली र शिष्टतासमेत सिक्न पाइन्छ । पार्टीका नेताहरुले तत्कालीन समयमा अपनाएका व्यवहार, साथीहरुकाबीचको मेलमिलाप र सहयोगी भावना उत्प्रेरक लाग्छन् । केही छिटपुट सांस्कृतिक विचलन, अनुशासनहीनता,दुव्र्यहारका घटनाहरुसमेत पुस्तकमा समावेश भएका छन् । पार्टी सदस्यता प्राप्ति, महत्व र भूमिकाका सन्दर्भमा समेत यो पुस्तकले बयान गरेको छ ।

पुस्तक पढ्दा काम लाग्ने धेरै कुरा भेटिए । ठाउँ विशेष जानिए । नाम र काम जान्ने मौका मिल्यो । भूगोल र भाषामात्र होइन, कतिपयका भावना बुझ्ने अवसर जुर्यो । त्यतिबेलाका खास नेताका अनुहार यतिबेला हेर्न पाइयो । सांग्रिला बुक्सले प्रकाशन गरेको उक्त पुस्तकले बहुदलपछि जन्मिएकालाई खास तार्किक कम्युनिष्ट शिक्षा दिने गर्छ । कम्युनिष्ट इतिहासको फेहरिस्त लगाउँछ । पठनीय र संग्रहणीय पुस्तक सबैलाई समपर्ण गर्न सकेकोमा डा.विन्दा पाण्डेप्रति विशेष आभारी छु ।

https://www.globalaawaj.com/archives/282702