नेता र नेतृत्व एकै पटक देखा पर्दैन । नेतृत्व विकासको आफ्नै प्रक्रिया हुन्छ र सक्षम नेतृत्व विकासका लागि हरेक व्यक्तिले विभिन्न चरण पार गर्दै अगाडी बढ्नु पर्दछ । नेता हुनका लागि निश्चित पद भएर मात्र पनि हुदैन । दिर्घकालिन रुपमा नेतृत्वमा विकास र स्थापित हुनका लागि नेतामा विशेष गुणहरु हुन्छन् । समाज परिवर्तनको लागि नेतृत्व प्रदान गर्ने व्यक्तिले ति गुणहरुलाई विकास गर्दै र अरुमा पनि विकास गराउदै अगाडी बढ्ने कुरामा ध्यान दिनै पर्दछ । नेतृत्वको प्रबृत्ती, विकासको चरण र हुनुपर्ने गुणका वारेमा यहा चर्चा गर्न खोजिएको छ ।
प्रबृत्ती
प्रबृत्तीको आधारमा नेतृत्व मुलत दुई किसिमका हुन्छन्— नेता उत्पादन गर्ने र अनुयायी उत्पादन गर्ने प्रबृत्ती । जो आफुले लगानी गरेका व्यक्तिहरुमा नेतृत्व क्षमताको विकास होस र कुनै पनि सन्दर्भमा उनीहरु स्वतन्त्र ढंगले विश्लेषण गर्न, दृष्टिकोण बनाउन र स्पष्ट ध्येयकासाथ आफ्ना विचार र गतिविधिलाई अझ उन्नत रुपमा अगाडी बढाउन सक्ने पुस्ता निस्कियोस भन्ने सोच राख्दछ, त्यो नेता उत्पादन गर्ने प्रबृत्ती हो । यो प्रबृत्तीले सिद्धान्त र विचारमा समेत समयसापेक्ष विकास गर्दै समाजलाई प्रगतिशील र अग्रगामी सोचमा अगाडी बढाउन सकारात्मक योगदान गरेको हुन्छ ।
नेतृत्व अर्को प्रबृत्ती, जो आफुपछिका व्यक्तिहरु आफैलाई चुनौती दिन सक्ने नेताभन्दा पनि आफ्ना अनुयायीहरु बनुन् भन्ने सोच राख्दछ । यस किसिमको प्रबृत्तीले समाजलाई प्रगतीपथमा डो¥याउनुभन्दा पनि व्यक्तिलाई महान भन्ने सोच र व्यवहारलाई बढावा दिन्छ । विचार र सिद्धान्तलाई अन्तत “धर्मग्रन्थ” का रुपमा रुपान्तरण गर्दै नेतालाई “इश्वरीय” देख्न थाल्दछ । यी दुई प्रबृत्तीमा रहेका अन्य भिन्नताहरु सक्षेपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
- नेता वा नेतृत्व विकास गर्न चाहने नेताले संधै आफुसंगैका सहकर्मी वा पछाडीको पिढीमा नेतृत्वमा हुने गुणको अपेक्षा गर्दछ । त्यस्ता व्यक्ति अरुको सफलता र उन्नतीमा रमाउदछ र त्यसको जस आफुले लिन उद्धत हुदैन । वास्तविकतामा यस्ता व्यक्ति नै नेता हुन्छ । जुन नेता आफ्ना पछाडी समर्थक र अनुयायीको भिड देख्दा रमाउछ, त्यस्तो प्रबृत्तीको व्यक्ति अरुमा नेतृत्व क्षमता वा गुणको खोजी गर्दैन । त्यस्ता नेताले अरु नेता उत्पादन गर्न सक्दैन र चाहदैन पनि । यस किसिमको व्यक्तिको स्वभाव अरुवाट संधै आफ्नो प्रशंसा सुन्न चाहने हुन्छ । कुनै पनि अवस्थामा परिस्थिति आफ्नो अनुकुल र इच्छा अनुसार चलोस् भन्ने सोच राख्दछ ।
- नेता देख्न वा विकास गर्न चाहनेले जहिले पनि सकारात्मक सोचका साथ उपलव्धीको पाटोमा जोड दिन्छ । र, त्यसैमा केन्द्रीत हुदै अगाडी बढ्न प्रेरणा लिनुकासाथै अरुलाई पनि प्रोत्साहित गर्दछ । अनुयायीको भिडमा रमाउने नेतृत्व कमजोरी पक्षको उजागर गर्दै संधै अरुलाई आलोचना गर्न मन पराउदछ । यस्ता व्यक्तिले उपलव्धीको पाटोलाई कम महत्व दिने गर्दछ ।
- नेता विकास गर्न चाहने व्यक्तिले जहिले पनि लक्ष्यित समुहको माथिल्लो २० प्रतिशत सक्षम र प्रतिस्पर्धी क्षमता भएको समुहमा आफ्नो श्रम र शक्ति केन्द्रीत गर्दछ । जसका कारण त्यही २० प्रतिशतले आफ्ना कुरा अरु धेरैका बीचमा फैलाउन सक्दछ । यस्ता व्यक्तिको गुण र क्षमतामा निरन्तर सकारात्मक परिवर्तन हुन्छ । विचार, क्षमता र प्रभावको दायरा फराकिलो बन्दै जान्छ । तर, अनुयायी हेर्न चाहने प्रबृत्तीको नेतृत्वले प्राय पिधको २० प्रतिशत व्यक्तिमा आफ्नो श्रम र शक्ति लगानी गर्दछ । जसका कारण, उसको उपलव्धीको पाटो फैलनुको सट्टा तिनै व्यक्तिमा सिमित हुन्छ । गुण, क्षमता र सिर्जनसिलताको विकास हुनुभन्दा गुणगान गाउने कुरामा बढी समय र शक्ति लगाउने प्रबृत्तीको विकास हुन्छ । यो समुह जतिको विचमा पुगेको हुन्छ, त्यहीे दायरामा नै सिमित रहन्छ । ठुलो दायरामा यस्तो नेतृत्व स्थापित हुने अवसर कमै हुन्छ । बरु, दायराभन्दा वाहिरका क्षेत्रको बढी आलोचनाको भागी बन्ने सम्भावना रहन्छ ।
- असल र सक्षम नेता जहिले पनि व्यक्ति र संगठनको विकास र विस्तारको काममा सहजकर्ता र सहयोगीका रुपमा देखा पर्दछ । उसले व्यक्ति र संस्थाको आवश्यकता र हित पहिचान गरी लक्ष्य प्राप्तीमा जोड दिइरहेको हुन्छ । यस्ता व्यक्ति संस्था वा पदको आधारमा भन्दा पनि आफ्नो क्षमता र कामको आधारमा प्रभाव फैलाउदै रहेको हुन्छ । यस प्रकारको नेताले अरुका कुरा पनि सुनेर तथ्य र तर्कपुर्ण निर्णय गरी त्यसमा सामुहिक स्वामित्व स्थापित गर्ने कुरामा जोड दिने गर्दछ । तर, अनुयायी तयार गर्न केन्द्रीत हुने नेताका लागि क्षमताभन्दा पद र कुशलताभन्दा आदेश महत्वको हुने गर्दछ । आफ्नो भनाइमा कसैले प्रश्न वा प्रतिवाद गरेको मन पराउदैन । निर्णयमा एकल स्वामित्व कायम गर्न मन पराउछ । परम्परागत रुपमा संस्था वा निकायको शिर्ष स्थानमा रहने व्यक्तीलाई पदिय नेता भनिन्छ । तर आधुनिक दुनियामा पदले मात्र नेता होइदैन, प्रभावशाली नेतृत्वका लागि उच्च प्राविधिक र वौद्धीक क्षमता नै चाहिन्छ भन्ने पनि छैन । तर, असल प्रबृत्ती, व्यवहार र मानवीय चरित्र भने अवश्य चाहिन्छ र त्यस्ता व्यक्तिले नै अरु धेरै नेता उत्पादन गर्न सक्दछ । अनुयायीको भिडमा रमाउने नेतामा खान, पान र सानमा रमाउने प्रबृत्ती बढी हुन्छ । उ हरेक कुराको जानकार हु भन्ने भ्रम दिन चाहन्छ, जुन मानवीय रुपमा असम्भव कुरा भइदिन्छ ।
- असल नेताले जहिले पनि व्यक्तिभन्दा माथि संगठन, जनता र आफ्ना सदस्यहरुलाई सक्षम बनाउने र उनीहरुको हितमा काम गर्ने सोच राख्दछ । अप्रभावी नेताले आफ्नो सेवा गरिरहोस् वा संधै वरिपरी भिड देख्न पाइयोस र अरुको अगाडी सान देखाउन पाइयोस भन्ने चाहन्छ । मानिसको लाम, शक्ति र फाइदामा रवाफ देखाउन चाहने यस्ता व्यक्ति कहिल्यै असल नेता हुनै सक्दैनन् । न त त्यस्तो नेतृत्व कालझै हुन सक्दछ ।
- समय सापेक्ष नेता र नेतृत्व जहिले पनि सेवा गर्न र दिन तयार हुने प्रबृत्तीको हुन्छ र हरेक व्यक्तिमा कुनै न कुनै किसिमको क्षमता रहेको पहिचान गर्दछ । यस्तो नेतृतवले क्षमता अनुसार जिम्मेवारी दिएर हरेक व्यक्तिलाई उच्च मानसिकताका साथ आफ्नो क्षमता समाजको पक्षमा अधिकतम उपयोग गर्न प्रभावित गर्दछ । वैचारिक र व्यवहारिक रुपमा स्वतन्त्र र स्वायत्त रुपमा चलेको देख्न चाहन्छ । परम्परागत वा पुरातनवादी नेतामा प्राप्तीको आशक्ती बढी हुन्छ । र, अरुले आफुलाई सेवा दिइरहुन भन्ने भावना हावी हुन्छ । र, अरु व्यक्ति आफुप्रति आश्रित भएकोमा गर्व गर्दछ । अर्काको स्वतन्त्र र स्वायत्त व्यक्तित्व, प्रतिष्ठा र सम्मानमा डाह गर्ने प्रबृत्ती हावी हुन्छ ।
समाजको राजनीतिक उपलव्धीको प्राप्तीलाई संस्थागत गर्दै कार्यान्वयनको तहमा आर्थिक र सामाजिक–सांस्कृतिक रुपान्तरणको प्रक्रियावाट अगाडी जानका लागि नेतृत्वमा रहेको यो प्रबृत्तीले ठुलो भुमिका खेल्दछ । र, परिवर्तनका पक्षपातीहरुले नेतृत्व चयन वा स्थापित गर्ने क्रममा यस पक्षमा सोच्नु आवश्यक हुन्छ ।
नेतृत्व विकासको चरण
नेतृत्व विकासको श्रृंखलालाई मुलत पाच चरणमा वाडेर हेर्न सकिन्छ । जसलाई निम्न अनुसार समावेस गर्न सकिन्छ ।
पदीय नेतृत्व
यो पदको आधार कसैलाई नेता मान्ने कुरा हो । यसलाई नेतृत्व विकासको प्रारम्भिक चरण मान्न सकिन्छ । यस चरणमा व्यक्तिको क्षमता र योग्यतालाई भन्दा पदको आधारमा नेता मानिन्छ । यस किसिमको औपचारिक नेतृत्व पदमा रहुन्जेलका लागि हुन्छ । यस किसिमको नेतृत्वले पदमा रहुन्जेल शासन गर्न त सक्दछ, तर प्रेरणा दिन र पद समाप्तिपछि अफ्नो हैसियत कायम राख्न सक्दैन । तर, यो अवसरलाई उचित प्रयोग गरी क्षमता विकास गर्नतर्फ लाग्नेका लागि यो नेतृत्व विकासको अर्कोे चरण प्रवेशको अवसर भने अवश्य हुन सक्दछ ।
अनुभुती र प्रेरणा आधारित नेतृत्व
चाहना र इच्छाले कसैलाई नेता मान्ने कुरा भनेको अनुमती वा अनुभुतीका आधारमा बनेको नेतृत्व मान्न सकिन्छ । यस किसिमको नेतृत्व कसैको कुरा वा शैली मन पराएर आफ्नै अनुभमतीले मनैदेखि स्विकार गरिन्छ । यसमा न पद जोडिएको हुन्छ, न त अन्य लाभको कुरा । नेताको जीवनवाट लिने प्रेरणा नै यसको आधार हो । यो पदियभन्दा नितान्त फरक खालको नेतृत्व क्षमताका रुपमा लिन सकिन्छ ।
उपलव्धीमा आधारित नेतृत्व
संगठनका लागि काम गरिरहेको र कामको नतिजाको आधारमा स्विकार गरिने नेतृत्व उपलव्धीमा आधारित नेतृत्व हो । यस किसिमको नेतृत्व स्विकारको मुल पक्ष भनेको उनको संगठनप्रतिको प्रतिवद्धता, कामप्रतिको लगनसिलता र व्यवहारमा रहेको इमान्दारिता नै हो । कतिपय व्यवहार र शैलीका कुरा मन नपरे पनि संगठनको आवश्यकता र कामको आधारमा यस किसिमको नेतृत्व स्थापित हुने गर्दछ । व्यक्तिगत रुपमा जे भए पनि यस किसिमको नेतृत्व संस्थाको लागि असाध्यै उपयोगी र आवश्यक हुन्छ ।
विकासमा आधारित नेतृत्व
आफुसंगै वा मातहतका कार्यकर्ता, समर्थक र शुभचिन्तकको उन्नती र प्रगतीमा पु¥याएको योगदानको आधारमा स्विकार गरिने नेतृत्व विकास वा उन्नतीमा आधारित नेतृत्व हो । यस किसिमको नेता आफ्नो पद, सम्बन्ध, उपलव्धीलाई संगठन, सहयोगी टिम र आम नागरिकको हितमा उपयोग गर्दै मर्यादाभित्र रहेर आफुले गर्न सक्ने सहयोग सवैका लागि पारदर्शी रुपमा गर्छ र यसका लागि संधै तत्पर रहन्छ । यस किसिमको नेतृत्व माथिका तीन खालको नेतृत्वभन्दा बढी स्थायी, प्रभावकारी र दिर्घकालन हुन्छ ।
उत्कृष्टतामा आधारित नेतृत्व
जनताहरुको प्रतिनिधिका रुपमा आफुलाई उभ्याउन सक्ने र त्यो विश्वास प्राप्त नेतृत्व उत्कृष्ट नेतृत्व हो । नेतृत्वस्तर र चरणमा यो सवैभन्दा उच्चस्तरको नेतृत्व हो । यस तहको नेतृत्व विकास गर्न निकै गाहे भने त्यही अवस्थामा टिक्न् वा टिकाइ राख्न पनि त्यति सहज छैन । यस किसिमको नेतृत्वको पहिलो आधार निरन्तरता हो भने वौद्धिकता, तृष्णता, तत्परता, गतिशिलता, इमान्दारिता, पारदर्शिता लगायतका नेतृत्वमा हुनुपर्ने अधिकतम गुणका साथमा सीप, चाहना र स्रोत परिचालनको क्षमता समेत आवश्यक हुन्छ ।
यस तहका नेतासंगको निकटता र विकटता राष्ट्र, समाज र जनताको हितको कामसंग जोडिएको हुन्छ, न कि व्यक्तिगत चिनजान र फाइदा—वेफाइदासंग । यस किसिमको नेतृत्वको अभावमा न त संस्था फस्टाउन सक्छ, न राष्ट्रले प्रगतीको फड्को मार्न सक्दछ ।
नेतृत्वमा हुनुपर्ने गुण
नेतृत्व भनेको पद र प्रबृत्तीले मात्र निर्धारण गर्ने कुरा होइन, यसका लागि खास खास गुणको पनि आवश्यकता पर्दछ । यस्ता गुण कतिपय जन्मजात बंशााणुगत रुपमा पनि आएका हुन्छ्, भने कतिपय गुणहरु विकास गर्न सकिने पनि हुन्छन् । यसलाई वि ानले पनि स्विकार गरेको कुरा हो कि केही जन्मजात गुणहरु हुन्छन्, जसलाई आफ्नो प्रयाशले कम वा वेसी गर्न त सकिएला तरm निमिट्यान्नै पार्न भने सकिदैन । किन कि ती कुराहरु शरिरको सेल निर्माणकै अंग बनेर रहेका हुन्छन् ।
नेतृत्वमा हुनुपर्ने प्रखुख गुणहरुलाई निम्न अनुसार लिन सकिन्छ ।
- नेतृत्वसंग जोडिएको अभिन्न कुरा निर्णय र त्यसको कार्यान्वयन पक्ष हो । यसका लागि नेतामा अरुमाभन्दा फरक क्षमता अवश्य हुनुपर्दछ । तर, यसो गरिरहदा असल र सक्षम नेतृत्वले सरोकारवालाको विचार र भावना बुझेर मात्र निर्णय गर्ने र निर्णयमाथिसामुहिक स्वामित्व अनुभुत गराउने क्षमता राख्दछ ।
- अन्य मानिस, खास गरी सरोकारवालालाई आफुतिर आकर्षित गर्दै उनीहरुकोभावनात्मक शक्ति र व्यवहारिक चरित्रलाईसमेत सकारात्मक रुपमा प्रभावित गर्दै जीवनको आवश्यकता र चुनौतीहरुलाई बुझ्न र त्यसको प्रतिनिधित्व गर्न सक्नु नेतृत्वमा हुनैपर्नेअर्को आधारभुत गुण हो ।
- नेतृत्वको सीपभन्दा पनि व्यवहार बढी महत्वपुर्ण हुन्छ । नेतृत्वको काम प्राय प्रेरणा, प्रबृत्ती, निर्णय क्षमता र व्यक्तिगत चरित्र जस्ता कुरामा मापन गरिन्छ, जुन नांगो आखाले देख्न र कुनै दृष्य रुपमा मापन गर्न गाहे हुन्छ । तर, यीनै कुराहरुले समर्थक र सरोकारवालालाई आकर्षित र प्रभावित गर्दछ ।
- कतिपय व्यक्तिमा नेतृत्व क्षमता जन्मजात रुपमा आएको हुन्छ र चाहेर वा नचाहेर आफ्नो क्षेत्रमा नेतृत्व प्रदान गरिरहेको हुन्छ । तर, कतिपयले यस किसिमको क्षमता अरुवाट प्रभावित भएर पनि सिक्न र विकास गर्न सक्दछन् । यस्ता व्यक्तिीलाईप्रभाव दिने व्यक्तिको विश्वास, लक्ष्य र उद्देश्यले निर्देशित गरिरहेको हुन्छ ।
- आत्मविश्वास र करिष्माटिक क्षमता नेतृत्वमा हुनुपर्ने विशेष क्षमता हो । यस्ता व्यक्ति पदमा भए वा नभए पनिनेतृत्व प्रदान गरिरहेका हुन्छन् । आत्मविश्वास विनाको व्यक्ति नेतृत्वमा रह्यो भने त्यस्ता व्यक्ति आफु मात्र होइन, सिंगो संस्था वा संयन्त्रको छवी नै धमिलिन पुग्दछ ।
- नेतामा आफ्नो विश्वास अनुसारको दर्शन, सिद्धान्त र विचारमा स्पष्ट र सोही अनुसार नीति र कार्यक्रम बनाइ कार्यान्वयनमा जान सक्ने क्षमता हुनुपर्दछ । साथै, आफ्नो सिद्धान्त र विचारलाई अझ उचाईमा पु¥याउन र समय सापेक्ष परिमार्जन गर्दै अगाडी बढ्न निरन्तर योगदान गर्न सक्नु पर्दछ ।
- यदि कुनै नेताको आदेश वा निर्देश आफ्ना समकक्षी, अनुयायी वा मातहतका मानिसले मान्न छाड्दछन्, त्यसलाई नेतृत्वले आफ्नो असफलताको रुपमा लिन सक्नुपर्दछ । र, कि त सुधार गर्न वा नेतृत्व परिवर्तनका लागि तयार हुन सक्नुपर्दछ । किन कि नेतृत्वको एउटा महत्वपुर्ण काम भनेको आफुले लिएको लक्ष्यलाई संस्थागत र साझा बनाउदै लागु गर्नु पनि हो । यसलाई आदेशको रुपमा जवरजस्त मान्न लगाउने निरंकुश शैली असल नेतृत्वमा हुने कुरा हाइन ।
- आजको दुनियामा नेतृत्वले बुझ्नु पर्दछ कि जनताहरु धेरै जानकार भइसकेका छन् र उनीहरुलाई धेरै कुराथाहा छ । त्यो अवस्थामा नेता जनताको चेतनास्तरसंग गासिन सक्नुपर्दछ । अन्यथा, त्यस्ता नेता आवको दिनमा हावामा विलाउछन र समयले आफु सापेक्ष नेतृत्वको विकास गर्दछ ।
- नेतृत्वको अर्को गुण भनेको कहिलेकाही चाहना विपरितको भए पनि तोकिएको वा निर्णित कामलाई सफलतापुर्वक कार्यान्वयन गर्न सक्नु हो । यसले मातहतका समर्थन र सहयोगी विच विश्वासको वातावरण अझै बलियो बनाउदछ । यसको लागि उनले आफैलाई राम्रोसंग बुझ्दै आफ्नो शक्ति र कमजोरीको विश्लेषणका आधारमा तोकिएको काम पुरा गर्न आफुसंग असल, सक्षम र विश्वासिलो टिम निर्माण र परिचालन गर्न सक्नुपर्दछ ।
- नेतृत्व स्थापित गर्ने सन्दर्भमा सम्वाद र संचार अर्को आधारभुत कुरा हो । नेतृत्वमा सुन्न सक्ने धैर्यताको साथमा अरुको परामर्ष लिने, सहभागिता जनाउने र आवश्यक विषयको व्याख्या गर्नसक्ने क्षमताको विकास गर्नै पर्दछ ।
- टिम निर्माण गर्न, त्यसलाई विश्वासमा राख्न र हौसलापुर्वक अगाडी बढाउन,टिमको सदस्यको प्रशंसा धेरैले थाहा पाउने गरी ठुलो स्वरमा र कमी कमजोरीको आलोचना वा टिप्पणी भद्रतापुर्वक सकेसम्म कम व्यक्तिले थाहा पाउने गरी गर्ने क्षमता, सीप र प्रबृत्ती हुनुपर्दछ ।
यी गुण, प्रबृत्ती र व्यवहार भएका नेताले अनुयायी र समर्थक धेरै पाउदछन् । त्यही जमातवाट नया नेता पनि विकास गर्न सक्दछन । यसका लागि समाजको हरेक तह र क्षेत्रमा यी आधारभुत क्षमता र गुण भएको नेतृत्वलाई उपयुक्त जिम्मेवारी दिएर अगाडी बढाउन सक्दा मात्र व्यक्तिगत रुपमा नेता र संस्थागत रुपमा संस्था र आवश्यक रुपमा आम नागरिकको पनि हित हुने कुरामा सवैले ध्यान दिनु जरुरी छ ।
भदौ २३, २०७०