एउटा भनाइ छ “नेताले नेता निर्माण गर्दछ, पछुवा होइन” यथार्यमा यो भनाइ सान्दर्भिक छ । हाम्रो सामान्य प्रचलन वा बुझाइमा राजनीतिक नेतृत्व गर्ने व्यक्तिलाई नेता भन्ने गरिन्छ । तर, नेता भनेको राजनीतिक मात्र होइन, समाज निर्माणको जुनसुकै क्षेत्रमा लागे पनि आफु संलग्न क्षेत्रमा नेतृत्व दिन सक्ने दक्षता र क्षमताको कुरा हो । यसर्थ हरेक नेताले “आफुले प्रशिक्षित गरेकोे पुस्ता वा व्यक्ति आफुभन्दा सक्षम र सवल हुन्” भन्ने उद्देश्यकासाथ अगाडी बढ्नु पर्दछ । र, आफुद्धारा प्रशिक्षित पुस्ताको विकास र प्रगतीमा गर्वानुभुती गर्न सक्ने व्यक्ति नै साचो अर्थमा समाज रुपान्तरणको नेता हुन र नेतृत्व दिन सक्दछ ।
यस किसिमको प्रबृत्ती समाजको हरेक क्षेत्रमा स्थापित हुन सक्यो भने मात्र समाजलाई प्रगतिपथमा डोहो¥याउन सकिन्छ । अनि, समाज अग्रगतीमा विकास गर्दै जान्छ । विज्ञानको नियमले पनि त्यही भन्दछ कि हरेक नया पुस्ता अघिल्लो पुस्ताभन्दा सक्षम र सवल हुदा वा नया पुस्ता पुरानो पुस्ताभन्दा बढी प्रतिस्पर्दी र दुरदर्शी हुन सक्दा मात्र समाज सकारात्मक रुपमा अगाडी बढ्न सक्दछ ।
लोकतन्त्र
नेपाली नागरिकले पटक पटक जीवनलाई हत्केलामा राखेर लडेको लडाईवाट हामीले राजनीतिक अधिकार प्राप्त भएको छ । तर, मुलत राजनीतिक नेतृत्वमा रहेको दुरदर्शिताको अभावमा त्यो संस्थागत हुन र लोकतान्त्रिक संस्कार–संस्कृतीको विकास र विस्तार हुन सकिरहेको छैन । आज पनि धेरै शिर्ष नेताहरुको भनाइ सुनिन्छ “म लोकतन्त्रमा विश्वास गर्छु वा मेरो पार्टी लोकतन्त्रमा विश्वास गर्दछ” । तर आजको आवश्यकता लोकतन्त्रमा विश्वास गर्ने मात्र होइन, लोकतन्त्रलाई जीवनशैली बनाउने र व्यवहार गर्ने प्रबृत्तीको हो । यसर्थ, आज नेपाली नागरिकलाई लोकतन्त्रका आधारभुत मुल्य र मान्यतालाई स्विकार्दै व्यवहारमा लागु गर्न सक्ने दल र नेतृत्व चाहिएको छ । ता कि हरेक नागरिकले आफ्ना नेता र दलहरुको लोकतान्त्रिक प्रबृत्ती र चरित्रमा गर्न अनुभुती हुन सकुन् ।
प्राथमिकता
अहिले नेपाली समाजको पहिलो आवश्यकता राजनीतिक रुपान्तरणवाट प्राप्त अधिकारलाई संविधान निर्माणको माध्यमवाट संस्थागत गर्दै संक्रमणकालको अन्त्य र राजनीतिक स्थायीत्वको वातावरण तयार गर्नु हो । त्यसपछिका प्राथमिक विषय आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हो, जसले नागरिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभुत गराओस् । अनि श्रमको मर्यादा, जाती–क्षेत्र–जेण्डरको आधारमा हुदै आएको विभेदको अन्त्य होस् । र, सवै नागरिकका बीच सम्मान र समृद्धीमा समानताको व्यवस्था र सामाजिक न्यायको अनुभुती हुन सकोेस् । यसका लागि राष्ट्र र जनताको हितलाई शिरमा राखेर व्यक्ति, समुह र दलगत स्वार्थवाट आफुलाई वृहत् बनाउन सक्ने राजनीतिक नेतृत्व हुनु आवश्यक छ ।
आज मुलुकमा दोस्रो संविधानसभा निर्वाचनको माहोल बन्दै गएकोछ । यद्यपी तोकिएको मितिमा निर्वाचन हुन्छ नै भन्ने वारेमा अझै आम जनतालाई राजनीतिक नेतृत्व र राज्य प्रशासनले विश्वस्त बनाउन सकेको अवस्था छैन । दलहरु निर्वाचनका लागि उम्मेदवारी चयन गर्नेदेखि घोषणापत्र तयारीको प्रक्रियामा जुटेका छन् । यी गतिविधि माहोल बनाउन सहयोगी भए पनि असमहत राजनीतिक दलसंगको वेटुंगोको वार्ताका कारणप्रश्न चिन्ह खडा छ । सरकार सुरक्षा व्यवस्थाको वारेमा अझै अनिश्चितताको अवस्थावाट गुज्रदै छ भने निर्वाचन आयोग मतपत्र छाप्ने कागज कसरी ल्याउनेसम्मको विषयको चिन्तावाट मुक्त भइसकेको छैन । यी तमाम कारणवाट निर्वाचनको वारेमा उठेका प्रश्नहरुले निश्चिन्त हुने गरी जवाफ पाएको छैन । यद्यपी, “निर्वाचनको विकल्प छैन” सवैको साझा चासो र अभिव्यक्ती बन्दै आएको छ र यस भनाइको पनि अर्को विकल्प छैन ।
मताधिकारको चिन्ता
दलहरुमा मताधिकारको चिन्ता जाग्न थालेको छ । जसको कारण विदेशमा भएका नेपालीको मताधिकारको सुनिश्चितताको माग आज लगभग सवै दलले साझा रुपमा उठान गर्न थालेका छन् । यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ । तर, जननेता क. मदन भण्डारीले भन्ने गर्नुहुन्थ्यो “कुराले चिउरा भिज्दैन”। आज विदेशमा रहेका लाखौ नेपालीले मत खसाल्न पाउनु पर्छ भनेर माग गरेर मात्र राजनीतिक नेतृत्वको दायित्व पुरा हुन सक्दैन । त्यसको व्यवस्थापनको लागि उपलव्ध प्रविधि र उपायहरुको अवलम्वन गर्नेतर्फ उचित ध्यान कसैले दिएका आभाष हुन सकेको छैन । ती लाखौ नेपालीकोअधिकार व्यवहारिक रुपमा कसरी सुनिश्चित गर्ने भन्ने विाष्माय ध्यान दिने र पहल गर्ने काम कसैवाट भएको छैन ।
अझ गम्भिर विषय विदेशमा रहेका नेपालीको मताधिकारको कुराभन्दा पनि अझै सम्वेदनसील विषय देशभित्रै रहेका, फोटोसहित मतदाता नामावलीमा समावेस भएका तर आफ्नो स्थायी ठेगानाभन्दा वाहिर रहेका नागरिकको मदाधिकारको सुनिश्चितताको विषय बनेको छ, जसमो खासै चासो गएको देखिदैन।
मुलुकका युवा वैज्ञानिकहरु भनिरहेका छन्, “हामी आफ्नै पहलमा विद्युतिय निर्वाचनमा जान उपकरण निर्माण गर्न सक्षम छौ ।” प्राविधिक क्षेत्र भन्दैछ “विद्युतिय मतदानको माध्यमवाट देशको कुनै पनि स्थानवाट नागरिकले आफ्नो क्षेत्रको उम्मेदवारलाई मतदान गर्न सम्भव छ ।” तर, हाम्रो राजनीतिक नेतृत्व र राज्य संयन्त्र यसको वारेमा खासै इच्छुक देखिदैन । यो विडम्वना हो ।
आज लाखौ मतदाताहरु अध्ययन, रोजगारी, पेशा र व्यवसायका कारण मुलुकभित्रै पनि आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र छ । निर्वाचनको लागि मात्रै भनेर ति नागरिकहरु सम्बन्धित स्थानमा पुग्न सक्ने अवस्था प्राविधिक र व्यवहारिक रुपमा पनि सम्भव छैन । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी लगायतका मतदाताहरु निर्वाचनसंग सम्बन्धित जिम्मेवारीकै कारण आफ्नो निर्वाचन क्षेत्र जान सक्दैनन् । निर्वाचनकै लागि भनेर भरपर्दो यातायातको अभाव र आर्थिक भारका कारण विद्यार्थी र उनका अभिभावकहरु आफ्नो निर्वाचन क्षेत्रमा गएर मतदान गर्न असमर्थ हुने अवस्था रहन्छ । अझै समाजको पिधमा रहेका श्रमजीवी वर्गका मतदाताहरु रोजगारी, व्यवसाय र आर्थिक अवस्थाको कारण पनि आफ्नो निर्वाचन क्षेत्र पुग्नसक्ने अवस्था रहदैन । यस्तो संख्या लाखौको छ । यसतर्फ कसैको ध्यान गएको देखिदैन ।
अर्को कुरा राजनीतिक नैराश्यताको कारण “आफु रहेको ठाउमा सम्भव भए मत खसाल्ने हो, अन्यथा भोटै हाल्न यति टाढा को गइरहन्छ” भन्नेको संख्या पनि प्रचुर छ । यी तमाम समस्या, अवस्था र मनस्थितिलाई ध्यान दिदै सवै क्षेत्रमा रहेका मतदाताले आफु रहेकै स्थानवाट आफुले चाहेको दल र उम्मेदवारलाई मत खसाल्न पाउने व्यवस्थाको वारेमा सोचिनु नितान्त आवश्यक छ । यसो गर्न सकेमा मतदानको अनुपातमा बृद्धी हुन जानेछ र निर्वाचनको महत्व र औचित्यमा सकारात्मकता बृद्धी हुनेछ । राज्यप्रति र शासन प्रणालीप्रति नागरिकको चासोबृद्धी हुनुकासाथै लोकतन्त्र र यसका मुल्य, मान्यताप्रति जनताको स्वामित्व अनुभुती बढ्ने छ, जुन कुरा लोकतन्त्रको बलियो आधारस्तम्भ पनि हो । यस पक्षमा दलहरुको ध्यान जानै पर्दछ ।
2013 Sep.