नेकपा एमाले दशौ वैठकमा प्रस्तुत विचार- २०८२ अशोज २९-३१, रामवाग महल
- विशेष प्रस्तावः यस पटकको वैठकमा अध्यक्ष कमरेडको लिखित प्रस्ताव आएकोले छलफललाई सहज बनाएको छ । तर, छलफलका लागि आधार पत्रको रुपमा रहेको छ । यसमा वैठकमा उठान भएका विषय/सुझावसमेतका आधारमा थप तथ्य समावेससंगै विश्लेषणका आधारमा गरेका/भएका कामलाई सुत्रवद्ध गरी कमी-कमजोरीलाई सहर्ष स्विकार गर्दै आगामी दिनमा सच्याउने प्रतिवद्धताकासाथ प्रस्तावलाई पुर्णता दिन आवश्यकछ ।
- राष्ट्रीयताः हामिले राष्ट्रियताको मामिलामा अगुवाइ गरेका छौ । तर, भुराजनीतिक अवस्थितिलाई ख्याल गरी अप्नाउनु पर्ने कुटनितिक पहल कमजोर देखिएकोले यसलाई सुधार्नु आवश्यक छ ।
- लोकतन्त्रः लोकतन्त्रमा विश्वास गर्ने दलले लोकको कुरालाई समेत सुनेर आफ्नो संरचनामा छलफल गर्ने, विश्लेषणका आधारमा निर्णय गर्ने र कार्ययोजनासहित फेरी लोक समक्ष जानु पर्ने हो। लामो समयदेखि हामिले आम मानिसले उठान गरेका कुरालाई अन्देखा गरेका कारण पनि नागरिकहरु हामिसंग टाडिदै गएको कुरालाई अनुभुत गर्दै यस कुरामा सुध्रने संकल्पसहित अगाडी बढ्नु पर्छ ।
- जेन्जी आन्दोलनः जेन्जीको आन्दोलन हाम्रै नया पुस्ताको अगुवाईमा भएको हो । यसलाई भर्त्सना नगरौ । यसमा घुसपैठ भयो । तर, सरकारको नेतृत्वमा हामि थियौ । गुप्तचर निकाय र सुरक्षा परिषद हाम्रै मातहत थियो । तर, हामिले न त समयमा जानकारी पायौ, न सुरक्षा परिषदलाई समयमा परिचालन गर्न सक्यौ । यसर्थ, केन्द्रिय कमिटीको तर्फवाटै भदौ २३/२४ गतेको घटनाको नैतिक जिम्मेवारी लिदै ति मृतक र घाइते परिवारसंग माफी मागौ।
- पदवाट अपदस्तः आन्दोलन शुरु भएको २६ घण्टापछि हामिले चाहेर हैन थेग्न नसकेर राजिनामा दिएको कुरालाई स्विकार गरौ । यो संसदमा विश्वास गुमाएर विधिसम्मत पद छाडिएको नभएर, सडकले गरेको अपदस्त हो । विश्वको भएका आन्दोलनहरुवाट अपदस्त नेतृत्वले देश छाड्नु परेका धेरै घटना छन । तर नेपाली समाजमा रहेको सहिष्णुताले विगतदेखि वर्तमानसम्म त्यो अवस्था व्यहोर्नु परेको छैन । नेपाली समाजमा विद्यमान यस किसिमको सहिष्णुताको संरक्षण र प्रवर्द्धन गरिनुपर्दछ ।
- आन्दोलनको समिक्षाः आजको अवस्था आउनुमा हाम्रो आन्तरिक र वाह्य दुवै पक्षको वस्तुनिष्ट समिक्षाका आधारमा अगाडीको वाटो तय आजको प्रमुख विषय बन्नु पर्छ ।
- आन्तरिक अवस्थाको समिक्षाः मार्क्सवादले मात्र हैन, नेपाली भनाइ आफ्नो थैलीको मुख बलियो गर्नु साथिलाई शंका नगर्नु भने झै हरेक कुरामा आन्तरिक कुरा मुख्य र वाह्य कुरा गौण हुन्छ भन्ने कुरामा सजग हुन जरुरीछ । आन्तरिक समिक्षा गर्दा हामि सरकारमा रहदा र नरहदा संविधान र कानूनको कार्यान्वनय र स्थापित प्रणालीलाई संस्थागत गर्ने वारेमा गरे भएका कामका उपलव्धि र कमजोरीको पनि समिक्षा हुनुपर्दछ । सरकारी निकायलाई दलीयकरण हुन वा जोगाउन गरिएका कामको समिक्षा आवश्यक छ ।
- संजाल बन्दको असरः आज आधाभन्दा बढी परिवारका सदस्य घर वाहिर छन । परिवारका विच सहज र सुपथ सम्पर्कको माध्यम खाम रुपमा फेसवुक र मेसेन्जर बनेको छ । यो बन्द हुदा घरमा आमावुवा र वाहिर छोराछोरी सरकार विरोधी बने । हजारौको संख्यामा युवाहरुको रोजगार यहीवाट चलेको छ । जेन्जीको सार्वजनिक वहसको चौतारी र सभा यही प्लेटपर्ममा हुन्छ । नियमनका नाममा एक्कासी बन्द गर्दाको नतिजा आंकलन गर्न नसक्दा अन्तरपुस्ता (Gen– baby bummer to Gen– Alfa सम्म) एकै पटक उक्त निर्णय निर्यण गर्ने सरकार र त्यसको नेतृत्वकर्ता दल (एमाले) को विरोधमा देखिए ।
- आफैवाट स्थापित मान्यता विपरितः नवौ महाधिवेशनभन्दा ठिक अगाडी (२०७१ सालमा) अध्यक्ष कमरेडको नाममा जवज र पार्टी जीवनको लोकतान्त्रिकरण नामक दस्तावेज प्रकाशित थियो । त्यसको मर्म र भावना अनुसार चलुन्जेल अध्यक्ष कमरेडको उचाई पार्टीमा मात्र हैन सरकारको (पहिलो र दोस्रो पटक) नेतृत्व गर्दा समेत आकाशिदो अवस्थामा थियो । तर, जव आफै स्थापीत गरेको मान्यता विपरित जान थालेपछि सार्वजनिक रुपमा टिप्पणी हुनुको साथै पार्टीभित्र पनि आफ्नै कारण समस्या निम्तिने र त्यही समाधानमा रुमल्लिदा थप समस्या निम्तिने कारण आजको अवस्था सिर्जना भएको सन्दर्भको अध्यक्ष कमरेडवाट आत्म समिक्षा आवश्यक छ । परिस्थति बदलिएको सन्दर्भमा त्यही दस्तावेजको मर्म अनुसार दुई कार्यकाल र उमेर हत कायम गरेर जानुपर्दछ । कुनै कारणवस तोकिएको महाधिवेशनको मिति सर्ने अवस्था आएमा अध्यक्ष कमरेडले अभिभावकत्व लिएर अरु कसैको नेतृत्वमा आयोजक कमिटी बनाएर जानु उपयुक्त हुन्छ।
- सामाजिक न्यायको भरोषा गर्ने दलः यो पार्टी आम नागरिकले सामाजिक न्यायको भरोषा गर्ने दलको रुपमा स्थापित गरिनु पहिलो शर्तका रुपमा स्थापित गर्न हामि जो कोहीले जति अग्लो आसन वा भुइको चकटीमा वस्न पनि तयार हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न जरुरीछ । जवजले हरेक कुराको विकल्पको मान्यता राख्दछ । व्यक्ति र नेतृत्वको पनि निश्चित अवधि हुन्छ र समाजमा पुस्ता परिवर्तनसंगै दल वा राज्यका निकायहरुमा पनि परिवर्तन चाहन्छ भन्ने कुरा स्विकार गर्न सकिएन भने विद्रोह निश्चित छ भन्ने कुरा मार्क्सवादीहरुले अझ बढी अनुभुत गर्ने विषय हो ।
- वाह्य हस्तक्षेपको समिक्षाः वाह्य हस्तक्षेपको कुरा गर्दा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्नुकासाथै समाजकल्याण परिषद, सुरक्षा निकाय र परराष्ट्र मामिला सम्बन्धि मन्त्रालयसमेत हामिले लामै समय सम्हालेका थियौ । ति क्षेत्रमा रहेका समस्या पहिचान र समाधान गर्न हामिले कति पहल गर्यौ ? गैर सरकारी संस्था र अन्तरराष्ट्रीय निकाय सम्बद्ध व्यक्तिलाई दलमा कति पहुच दियौ र त्यसको असर के रह्यो ? वाह्य हस्तक्षेपको वारेमा कुरा गर्दा यस सन्दर्भको पनि समिक्षा हुन जरुरीछ ।
- प्रतिनिधि सभाः संसद पुनरस्थापनाको रिटहरु व्यक्तिगत रुपमा परि नै सकेका छन । कानूनी पहल त्यही आधारमा हुनेछ । पार्टी संस्थागत रुपमा अदालत नजाने समाचार प्रचार विभागको तर्फवाट आएको (https://m.cnnkhabar.com/content/9324) र विगत सरकारमा सहभागि लगायत अरु सवै दलहरुले निर्वाचनको पक्षमा पनि निर्णय गरिरहदा लोकतन्त्रमा विश्वास गर्ने हामिले पनि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव सिर्जना गर्दै तयारीमा जुट्नु पर्दछ । जनमत संग्रहमा वर्ष दिनसम्म वहिष्कार गरेर दुई हप्ता अगाडी भाग लिने निर्णय गरे जस्तो कमजोरी हुनवाट सतर्क हुनुपर्दछ ।
- पार्टीमा युवा सहभागिताः पार्टी कमिटीमा हामिले नव युवाहरुको सहभागिताको व्यवस्था त गर्यौ तर यो पुस्ता देखिन मात्र हैन, सुनिन चाहन्छ भन्ने कुरा भुल्यौ । उनिहरुको सरोकार र मुद्धाको विषय सुन्ने र सम्वोधन गर्ने काममा हामि चुक्यौ । परिणाम उनिहरु सडकमा आए ।
- नमिलेको तालमेलः नागरिकले गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र रोजगारीको माग गरे, हामिले पुर्वधार (सडक, भवन, एअरपोर्ट) देखायौ । नागरिकले राज्यवाट पाउने सेवा-सुविधामा सहजता खोजे, हामिलाई विचौलियाले अल्झाए । माइतिघरमा आएर नागरिक (किसान, महिला, शिक्षक, दलित, सहकारी, मिटरव्याज आदी) ले आफ्नो सरोकारका वारेमा आवाज उठाए, हामिले नसुने झै गर्यौ । अन्तत भदौ २३ मा युवा सडकमा आए । हिंसा भड्किएपछि थेग्न सकेनौ । आजको परिस्थिति आयो । शान्तिपुर्ण आवाज नसुनीनु राज्यको कमजोरी थियो ।
- जनसरोकारका विषयः हामिले जनसंगठनहरु बनायौ । उनिहरुलाई पार्टीको नीतिगत नेतृत्वमा रहेर सम्बन्धित क्षेत्रका मुद्धा सम्वोधन गर्न प्रेरित गर्ने भन्दा पनि हरेक गतिविधि समेत पार्टीको निर्देशनमा चलाउन खोज्यौ । जसका कारण समुदायको कुरा पार्टीसम्म आउने वाटो बन्द भयो ।
- पार्टी सदस्यताः कसैले पनि प्राप्त गरिसकेको सदस्यता कमिटी वा नेतृत्वको तजविजमा हैन, विधानत कार्वाही परेमा र सम्बन्धित व्यक्तिले त्यागेमा वाहेक नविकरण भएको सदस्यता समाप्त हुन सक्दैन । त्यसकारण कमरेड विद्या भण्डारी लगायतको अवैधानिक रुपमा समाप्त गरिएको सदस्यता कायम गरेर जानुपर्दछ ।
- आन्दोलन/जनपरिचालन बस्तुगत परिस्थिति तयार नभै निर्णयले मात्रै आन्दोलन उठ्न सक्दैन । यसको वारेमा निर्णय गर्नु पुर्व सोचौ र जनताका हरेक प्रश्नको उत्तर दिनसक्ने वातावरण निर्माण गरौ । त्यसको लागि जन आवाजसमेतको सुनुवाई र सम्मान हुने गरी निर्णय गरौ । पार्टी हितको पक्षमा ज-जस्ले जे-जे पद त्याग्न गर्नुपर्छ वा थप जिम्मा लिनुपर्छ, नागरिक र दल र हालसम्मको उपलव्धिको रक्षाका खातिर तयार होऔ ।
- अन्तमा लोकतन्त्रमा नागरिक मत निर्णायक हुने कुरालाई ख्याल गरौ । यो हलभित्र र दलभित्रको मत मात्रैले लोकतन्त्रमा नतिजा आउदैन । वैठक सकेर फर्कदै गर्दा हाम्रा निर्णयमा कम्तिमा परिवारका जेन्जी पुस्ता सहमत भएर हामिसंगै हुन सकुन भन्नेविषयमा ध्यान दिऔ ।
धन्यवाद
विन्दा पाण्डे