नेकपा एमालेको नवौ महाधिवेशन सम्पन्न भएकोछ । “हाइ–टेक” महाधिवेशनको नाममा चर्चा गरिएको यस महाधिवेशन विगतका महाधिवेशनहरुभन्दा स्वभाविकै रुपमा फरक रह्यो । पुर्व योजना अनुसार सफ्टवेयर मार्फत प्रतिनिधिको अनलाइन फारम भर्नेदेखि आवश्यक सुचना व्यवस्थापन गरी वारकोड युक्त कार्डको माध्यमवाट हाजीरी, खाना कुपन, वेभ–एसएमएस मार्फत सुचना प्रवाह र निर्वाचन हाजीरीसम्मका काममा नया प्रविधिको प्रयोग सफलतापुर्वक गरियो । महाधिवेशनको तयारी अवधिदेखि कै कतिपय गतिविधिहरुलाइृ लाइभ स्ट्रिमिंग गरी यु ट्युवमा सुरक्षित पनि गरिएको छ । यी सवै कुराको प्रयोगमा आम रुपमा प्रतिनिधिहरुले पनि नयापनको अनुभुती गरेकै हुनुपर्दछ । “हाइ–टेक” भनेको भोटिंग मेसिनको प्रयोग मात्र हो र त्यो हुन नसक्दा “हाइ–टेक”ले हावा खायो भनेर नकारात्मक टिप्पणी गर्नेको बुझाइको सिमितता वा दरिद्रताप्रति त दुख व्यक्त गर्नुभन्दा वाहेक के नै गर्न सकिन्छ र । 

Getting inside
Getting inside

एक्काइसौ शताव्दीमा आर्थिक समृद्धी र सामाजिक–सांस्कृतिक रुपान्तरणलाई मुख्य कार्यभारको रुपमा अगाडी सारेको र उक्त अभियानको अगुवाइ समेत यही पार्टीले गर्नुपर्दछ भन्ने नीति सहित यस महाधिवेशनको आयोजना गरिएको थियो । विज्ञान र प्रविधिको उपयोग विना यो उद्देश्य प्राप्ती सम्भव छैन भन्ने अनुभुतीका साथ महाधिवेशनमा समेत यसको अधिकतम उपयोग गर्नुपर्दछ भन्ने सोचका साथ योजनाहरु बनाइएका थिए । यसका दुईवटा उद्देश्यहरु थिए । एक, सम्भव भएसम्मका प्रविधिलाई उपयोग गरी महाधिवेशनलाई प्रभावकारी, बढीभन्दाबढी जनताको वीचमा पहुचयोग्य र सहज बनाउने । दुई, महाविधेशनमा आउने प्रतिनिधिहरु नेकपा (एमाले) का स्थानिय तहमा नेताहरु हुन र उनीहरुलाई प्रविधिको वारेमा थप जानकारी गराउने र आगामी दिनमा पार्टी कामकासाथै स्थानिय गतिविधिमा समेत यसको उपयोगको सम्भावनालाई विस्तार गर्ने ।

यीनै दुइ उद्देश्यसहित प्रतिनिधि चयन भएदेखि नै आवश्यक तथ्यांक संकलनको कामलाई सफ्टवेयर मार्फत अनलाइन फाराम भर्न आग्रह गरियो ।
असारको दोस्रो हप्तावाट अनलाइन फाराम भर्ने कामको शुरुवात भयो । दुर्गम भनिएका कालिकोट, हुम्ला, दार्चुला जस्ता जिल्लाका प्रतिनिधिहरुका सवै फाराम अनलाइन भरिएर आए । गोर्खाका प्रतिनिधिले कागजमा फाराम भरी स्क्यान गरेर पठाए । अरु धेरै जिल्लाका प्रतिनिधिहरुले केही अनलाइन र केही कागजी फाराममा भरेर पठाए । राजधानी रहेको काठमाडौ उपत्यका, सुगम भनिएका झापा, मोरंग लगायतका केही जिल्लावाट अधिकांश विवरण कागजी फाराममा भरिए र अन्तिम अवस्थामा मात्र कार्यालयमा पठाइए । कार्यालयका साथिहरुको सहयोगमा कागजमा भरिएर आएका फारामलाई पनि अनलाइन फाराममा कम्प्युटराइज गरियो र अन्तत सवैको वारकोडसहितको कार्ड बनाइयो ।

यस कुराले एउटा कुरा हामिलाइ अवश्य सिकाएको छ । त्यो हो शहर वा सुगम ठाउमा बसेर दुर्गम क्षेत्रप्रति राखिने नकारात्मक सोच र गरिने टिप्पणीलाई यो राम्रो जवाफ पनि हो कि आजको दुनियामा इच्छाशक्ति हुने हो भने प्रविधिको उपयोग मुलुकको हरेक जिल्लामा सम्भव छ । र, सुगम क्षेत्रमा वसेर दुर्गम क्षेत्रलाई हेर्ने विभेदित दृष्टिकोण रहेय मानसिकता राख्ने अनि उपलव्धसाधन–सुविधा र प्रविधिको प्रयोग गर्ने काममा हेल्चेक्¥याइ देखाउने प्रबृत्तीलाई आगामी दिनमा सवैले त्याग्नै पर्दछ । अन्यथा, भौगोलिक र भौतिक सुगमताले मात्र विज्ञान र प्रविधिको उपयोग आफै हुदैन ।

सुचनाका लागि मेडिया सेन्टर

महाधिवेशनस्थलको प्रवेशव्दारको नजिकै मेडिया सेन्टर स्थापना गरिएको थियो । केही डेस्कटप कम्युटरसहित पर्याप्त इन्टरनेट पोर्टसहितको उक्त क्षेत्रमा १० एमविपिएस स्पीडको इन्टरनेटको व्यवस्था गरिएको थियो, जहावाट संचारकर्मीले निर्वाध रुपमा सुचना प्रवाह गर्ने काम गर्न सम्भव भयो ।

सुरक्षामा सिसिटिभि

सुरक्षा प्रवन्धलाई व्यवस्थित गर्नका लागि महाधिवेशन स्थलको विभिन्न ठाउमा क्लोज सक्र्युइट टेलिभिजन क्यामेरा (सिसिटिभी) जडान गरिएको थियो । भृकुुटीमण्डपको मुख्य गेटदेखि महाधिवेशन हलमा प्रवेश गर्ने व्दारसम्मका विभिन्न स्थानमा जडान गरिएको यस यन्त्रको सहयोगवाट कहा कुन समयमा कस्ता गतिविधि भए भन्ने कुरालाई रेकर्ड गर्ने काम गर्न सम्भव भएको थियो ।

वाइफाइ जोनको उपलव्धता

महाधिवेशन प्रतिनिधिहरुले आवश्यक सुचना प्रवाह गर्नुका साथै सामाजिक सञ्जालको समेत सहज रुपले उपयोग गर्न सकुन भन्ने अपेक्षासहित महाधिवेशनको भित्रि भागमा नेपाल टेलिकमको तर्फवाट मोवाइल फोन मार्फत पैसा तिरेर प्रयोग गर्न सकिने “एनटी वाइम्याक्स” नेटसहितको वाइफाई जोनको व्यवस्था गरिएको थियो । यो व्यवस्थाले आवश्यक सुचना संचार गर्नुकासाथै सामाजिक सञ्जालमा महाधिवेशन सम्बन्धि गतिविधिलाई व्यापकता प्रदान गर्न सहयोग पुग्न सक्यो ।

उद्घाटन कार्यक्रममा प्रविधि

शुरुदेखि नै नवौ महाधिवेशनको उद्घाटन कार्यक्रम हलभित्र प्रतिनिधि विचमा गरिने कुरा सार्वजनिक गरिएको थियो । यसलाई आम सदस्य र जनसमुदायको पहुच पु¥याउनको लागि नेटमा लाइभ स्ट्रिभिंग गर्ने कुरा गरिएको थियो । उद्घाटन सत्रमा यस काम गरियो, जसको भिडियो रेकर्ड अहिले पनि पार्टीको वेभपेज र युट्युवमा उपलव्ध छ ।

त्यसैगरी उद्घाटन कार्यक्रममा रावोटको प्रयोग गरिएको थियो । जुन नेपाली राजनीतिक दलको कार्यक्रममा सर्वाधिक नौलो प्रयोग थियो । उद्घाटनमा रोवोटवाट पुष्पबृष्टी गर्ने कामलाई कतिपयले फरक ढंगले लिएको पनि पाइयो । यो सहज रुपमा बुझ्नु पर्ने कुरा हो हलभित्र उडाइने हेलिकोप्टर अकाशमा उड्ने जस्तो हुदैन थियो नै । तर, पनि यसको वारेमा केही टिप्पणीहरु भए भने बुझाइको सिमितताका कारण कतिपयवाट रोवोर्टले उद्घाटन गर्ने भनेको हुन सकेन भन्ने गलत प्रचार पनि हुन गयो ।

ठुलो हलको मञ्चमा गरिएको महाधिवेशन सम्बन्धि गतिविधिहरु खस गरी पछाडीको भागमा रहने प्रतिनिधिले सहज रुपमा देख्न सक्ने अवस्था थिएन । यस कुरालाई अनुभुत गर्दै उद्घाटन कार्यक्रम लगायत महाधिवेशन हलमा सम्पन्न सवै गतिविधिलाई हलको सवै भागमा वस्ने प्रतिनिधिको समान पहुचमा पुगोस भन्ने उद्देश्यले मल्टीमेडियाको प्रयोग गरी ठुला पर्दाहरुमा दृश्यलाई प्रोजेक्सन गरी देखाउने काम गरिएको थियो । यस कार्यले महाधिवेशन गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको थियो ।

वारकोडसहितको डिजिटल परिचयपत्र

यस महाविधेशनमा झण्डै २२ सय प्रतिनिधि र व्यवस्थापनमा संलग्न उपसमिति र स्वयंसेवक समेत गरी झण्डै २७ सय जनाको डिजिटल परिचयपत्र बनाइयो । वारकोडयुक्त उक्त परिचयपत्रको माध्यमवाट वारकोड रिडरको सहयोगमा महाधिवेशनस्थलमा दैनिक उपस्थितिको रेकर्ड राख्नेदेखि खाना खाने कुपन र निर्वाचनमा मतदान कार्यको हाजिरी राख्नेसम्मको काम गरियो ।

दैनिक हाजिरी

अनलाइन फारामको एउटा उद्देश्य महाधिवेशनका अत्यधिक गतिविधिलाई बारकोडव्दारा नियमन गर्नु थियो । त्यसै कारण महाधिवेशनको दोस्रो दिन असार २० गतेदेखि प्रतिनिधिहरुको हाजिरी गर्ने काम प्रवेश द्वारमा राखिएको वारकोट रिडर मेसिन मार्फत गरियो । यस कामको लागि विहान प्रतिनिधि प्रवेश गर्ने समयमा पाचवटा वारकाड रिडरको प्रयोग गरिएको थियो भने दिन भरको लागि दुईवटा वारकोड रिडर राखियो । यो प्रविधिको प्रयोगवाट कुन व्यक्तिवाट कतिपटक भित्र वाहिर गरियो मात्र होइन, कुन प्रतिनिधि कति वजेर कति मिनेट र सेकेण्डमा कार्यक्रम स्थलमा प्रवेश गरे भन्ने रेकर्डसमेत राख्न सम्भव भएको छ ।
फोटोसहितको वारकोडको प्रयोगका गरिएको यस कामको वारेमा धेरै प्रतिनिधिहरुको सकारात्मक प्रतिक्रिया रहेको पाइयो भने अर्काको कार्ड लगाएर भित्र छिर्न प्रयत्न गर्ने व्यक्तिको कार्ड जफत गर्ने कामसमेत यही मेसिनको प्रयोगका कारण सम्भव भयो ।

डिजिटल खाना कुपन

यस पटक प्रतिनिधिका विच खाना खाने स्थानमा कागजका कुपन बाड्ने काम प्राय गरिएन । प्रतिनिधिको कार्डमा नै महाधिवेशन अवधिभरको लागि चाहिने खानाको कुपन राखिएको थियो । खाना खाने समयमा वारकोड रिडरको प्रयोगवाट नै क¬–कसले तोकिएको स्थानमा खाना खाए वा खाएनन् भन्ने रेकर्ड राख्ने काम गरियो । सामान्यतया विहानको खाना धेरैप्रतिनिधिले महाधिवेशन व्यवस्थापन अन्तरगत खाए पनि साझको खाना औसतमा ८०० प्रतिनिधिले मात्र खाएका थिए । वारकोडको सहयोगमा राखिएको रेकर्डका कारण खाना खुवाउने पक्षसंगको डिलिंगमा समेत सहज बनेको थियो। सुरक्षा सम्बन्धि जनशक्तिका लागि भने खाना खान छुट्टै गेटको प्रयोग गरिएको थियो ।

निर्वाचनका लागि परिचयपत्र

शुरुमा बनाइएको परिचयपत्रमाथि केही शिर्ष नेताहरुवाटै प्रश्न उठाइएपछि निर्वाचन प्रयोजनको लागि निर्वाचन परिचयपत्र वितरण गर्ने प्रस्ताव आयो । संगठन विभागको तर्फवाट प्रतिनिधि प्रमाणीकरणको काम नै ढिला भएको कारण शुरुको परिचयपत्र बनाउने र सच्याउने काम नै भरखर पुरा भएकोे अवस्थामा एक्कासी अर्को परिचयपत्र बनाउने काम कम चुनौतीपुर्ण थिएन । तर, यो चुनौति पनि अभिलेखन उपसमितिमा रहेका इञ्जिनियर र विज्ञको टिमबाट स्विकार गरियो । २२ गते साझ संगठन विभागवाट प्रतिनिधिको एकप्रति प्रिन्टेड सुची र साथमा डिजिटल कपी लिएर उक्त टिम फाइल म्याचिंगको लागि रातभर नै क्रियासिल रह्यो । अन्तत साझवाट थालिएको काम विहान ५ वजेसम्मको मेहनतपछि पहिला भरिएको फाराम र संगठन विभागवाट प्राप्त सुची विच १९९३ वटा डेटा मिलान भयो । वाकी डेटा मूलतः संगठन विभागले उपलव्ध गराएको अपुरो सूचना र फारममा भरिएको सदस्यता नम्बरसंग मेल नखाएको कारण एउटा–एउटा गरि मिलाउनु पर्ने अवस्था आयो । यसरी सदस्यता नम्वर फरक पर्नेमा धेरै जसो व्यक्ती आयोजक, विभाग र निकायका तर्फवाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनु अर्को आश्चर्यको कुरा भयो । फाराम नमिल्ने क्याटेगोरीमा दुर्गम क्षेत्रका प्रतिनिधिअरु नगन्य थिए ।

२४ गते साझसम्ममा सवै कार्ड प्रिण्ट गर्ने काम सम्पन्न भयो । पहिलाको परिचयपत्र कै बारकोड अनुसार तयार गरिएको यो कार्ड अध्यक्षसहित अन्य दुई जनाको हस्ताक्षर गरी २७ गते विहान सवै प्रतिनिधिको हातमा वितरण गरियो ।

वेभ एसएमएस मार्फत सुचना

कार्यक्रम अवधिमा भएका कतिपय जरुरी सुचनाहरु सवै प्रतिनिधिहरुलाई एकै पटक पठाउनका लागि वेभ एसएमएसको प्रयोग गरियो । कार्यक्रमको सम्बन्धमा सवै प्रतिनिधिलाई एकै पटक पठाउनु पर्ने सुचनाका लागि यो विधि प्रयोग गरिएको थियो । खास गरी महाधिवेशन अवधि लम्विएर प्रतिनिधिहरु निर्वाचन सम्बन्धि अन्यौलतामा रहेको अवस्थामा यस किसिमको सुचना प्रवाहले केही सहजता दिने काम गरेको थियो ।

निर्वाचनमा वारकोड हाजिरी

असार २७ गते सम्पन्न निर्वाचनको दिन कागजमा प्रिण्ट गरिएको मतदाता परिचयपत्र प्रयोग गरियो । तर, यसमा पनि पहिला प्रयोग गरिएको वारकोड नम्वर नै प्रयोग गरिएकोले निर्वाचन क्षेत्रको प्रवेशव्दारमा राखिएको वारकोड रिडरको मद्दतले मतदाताहरुको प्रवेश समयसहितको रेकर्ड राख्न सम्भव भएको छ । दिउसो ३.३० वजे पहिलो मतदाताको प्रवेश भएको उक्त गेटवाट अन्तिम मतदाताको प्रवेश राती १०.३८ वजे भएको थियो । जम्मा २१५१ जना मतदाता उक्त गेटवाट प्रवेश गरेका थिए भने एकजनाको कार्ड हराएको कारण निर्वाचन आयोगको अनुमतीमा कार्ड विना नै प्रवेश गरेर मतदानमा सहभागि भए । निर्वाचनमा जम्मा २१५२ मत खस्यो । निर्वाचनमा मत खसाल्ने काम भने २७ गते साझ ५.३० वजेवाट शुरु भएको थियो, जुन २८ गते विहान ३ वजे सम्पन्न भयो ।

गर्न नसकिएकाकेही काम

उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण सभागृहमा गर्ने हाम्रो योजना रहेको थियो । उद्घाटन ढिलो हु“दा सभागृहमा रहेका मानिसको किन प्रसारण भएन (?) भन्ने आक्रोसपूर्ण जिज्ञासामा आगोमा ध्यू थप्ने काम गर्दै केही उछृंखल व्यक्तिले तारै चुढाइ दिने, साउण्डको हर्न तोडफोड गर्ने र प्राविधिकमाथि हातपात समेत हुदा सभागृहमा प्रत्यक्ष प्रसारण हुन सकेन । सभागृहमा प्रसारण हुन नसकेको यो घटनाले गर्दा विभिन्न टेलिभिजनले गरेको प्रत्यक्ष प्रसारण र हाम्रो लाइभ स्ट्रिमिङ्गबाट भएको प्रसारणले देश विदेशमा पु¥याएको जानकारी समेत ओझेलमा पर्न गयो ।

त्यसै गरी विगत केन्द्रीय कमिटीको २९औ वैठकवाट नवौ महाधिवेशनमा हुने निर्वाचनमा भोटिंग मेसिन प्रयोग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सवै कुरा तयार भएर पनि अन्तिम घडीमा आएर केही शिर्ष नेतृत्वको असहमतीका कारण यो काम हुन सकेन । जसकाकारण प्रतिनिधिहरुले महाधिवेशनको अन्तिममा थप दुई कष्टकर दिनहरु विताउनु प¥यो । गणनामा थप चारदिनसम्म दर्जनौ कमरेडहरुको श्रमशक्तीको लगानी हुन गयो ।

त्यो भन्दा पनि महत्वपुर्ण कुरा नेकपा (एमाले) प्रति सिंगो प्राविधिक क्षेत्र, संचार जगत लगायतले “प्रविधि विरोधी”को रुपमा जसरी ठुलो प्रश्न चिन्ह खडा गरेकोछ, यो पार्टीको लागि त हानीकारक छ नै, त्यो भन्दाबढी स्वदेशमा भरखर वामे सर्ने अवस्थामा रहेको प्रविधिको क्षेत्रले आमुल परिवर्तनको कार्यभार वोकेको र सरकारमासमेत रहेको पार्टीवाट आफुमाथि गम्भिर धोकाको जुन गहिरो चोट अनुभुत गरेकोछ, त्यलका कारण राष्ट्रले नै ठुलो मुल्य चुकाउन पर्ने अवस्था नआओस भन्ने कामना मात्र गर्न सकिन्छ ।यो कमजोरीको लागि पार्टीको तर्फवाट पटकपटक क्षमा याचना त गरिनै सकिएको छ ।

अन्तत, भनिएका जती सवै कुरामा प्रविधिको प्रयोग गर्न नसकिए पनि हामिले शुरुमा बनाएको योजनाका धेरै कामहरु सफलता पुर्वक समपन्न भएका छन । वाह््य रुपमा आलोचना गर्नेले जे भने पनि आन्तरिक योजना अनुसारका गतिविधि कति लागु भयो वा भएन भन्ने कुराको आधारमा नै हरेक कामको मुल्यांकन नै वस्तुवादी हुने गर्दछ । यसरी हेर्दा नवौ महाधिवेशनलाई योजना अनुरुप धेरै हदसम्म प्रविधियुक्त बनाउन सकियो भन्ने नै हाम्रो निष्कर्ष रहेकोछ । अवको चुनौती भनेका यी कामहरुलाई दिगो रुपमा कसरी विकास र विस्तार गरी पार्टीको दैनिक जीवनलाई समेत सहज, प्रभावकारी र पहुचयोग्य बनाउदै जाने भन्ने नै हो । यो काम नवनिर्वाचित नेतृत्वको बुझाइ, पहल, योजना र कार्यान्वयनमा भरपर्ने कुरा निर्विवाद छ ।

नवयुग साउन २०७१ मा प्रकाशित  CPNUML’s 9th congress & ICT