दशै हिन्दु धर्मावलम्वीको धार्मिक चाड मात्र भन्दा पनि नेपालीको सांस्कृतिक पर्वको रुपमा स्थापित भएको छ । यस चाडको सन्दर्भमा तुलनात्मक रुपमा लामो विदा हुन्छ । अनि यस विदाको उपयोग गर्न मानिसहरु आफ्नो आस्था अनुसार शक्तिपिठको दर्शन गर्न जान्छन् र प्रेरणा वटुल्नै प्रयत्न गर्दछन् । यसै सिलसिलामा हामी संविधानसभा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका केही सदस्यको बीचमा लोकतान्त्रिक आन्दोलनको घाइतेलाई भेट्न जानु उपयुक्त हुने छलफल भयॊ । किनकी आज हामी संविधान निर्माणको जे काम गर्दैछौ यसका लागि शक्तिका स्रोत भनेका जनआन्दोलनका तिनै शहिद र घाइतेहरु नै हुन् ।
मुकेश कायस्थ
छलफल अनुसार हामी घटस्थापनाको दिन केही साथिहरु बनेपास्थित मुकेश कायस्थको घरमा पुग्यौ जो २०६२ चैत्र २७ गते गोली लागेर पुर्णत अशक्त भएर ओछ्यानमा लडिरहेका छन् । तर मुकेशको अवस्था हामीले सोचेको भन्दा धेरै सुधि्र्रएको पाउदा हामीलाई खुशी पनि लाग्यो । लामो समय अचेत अवस्थामा रहेका मुकेशमा अहिले थोरै भए पनि होस आएको छ । चलमलाउने मात्र होइन उठाएर राखिदियो भने देव्रे हात टेकेर केही समय बस्न पनि सक्दा रहेछन् । नरम खानेकुरा चम्चाले खुवाइदिदा खान सक्ने र शरिर हृष्टपुष्ट हुदे आएको रहेछ ।
यो अवस्थाले आफन्त र छरछिमेकका मानिसमासमेत उनलाई ठिक भइहाल्छ कि भन्ने आशा जगाएको रहेछ । तीन महिना जति फिजियोथेरापी गराएमा स्थिति धेरै सुध्रन सक्ने कुरा डाक्टरले बताएका रहेछन् । तर आर्थिक अभावमा यो काम हुन नसकेको सुन्दा हामीलाई दुख लाग्यो । सरकारले आन्दोलनको घाइते सहयोग स्वरुप महिनाको चार हजार रुपैया उपलव्ध गराउदै आएको रहेछ जसमध्ये १५ सय औषधिमा मात्र खर्च हुन्छ । उनको हेरचाह गर्न मात्र कम्तिमा दुईजना व्यक्ति पुरै खट्नु पर्ने अवस्था छ । फिजियौथेरापी गर्न दैनिक ५०० लाग्ने रहेछ । यस्तो अवस्थामा उनको उपचार हुन सक्ने अवस्था रहेन ।
यो सुनिसकेपछि हामी त्यहा जाने टोलीले तत्काल सल्लाह गर्यौ र भन्यौ उपचार शुरु गरौ उपाय सोचौला । तत्काललाई जनआन्दोलन घाइते सहयोग कोषको डा। भरतसंग कुराकानी भएको छ । तत्काललाई थेरापी शुरु गरौ र दशैपछि क्रराकानी गरेर समस्याको दिर्घकालिन उपाय सोचौ भन्ने कुरा भएको छ । आशा गरौं नेपाली लोकतन्त्रको शक्तिपिठका रुपमा रहेका यी योद्धाको जीवन फर्कने छ ।
बिष्णुलाल महर्जन
अशोज ४ गते हामी आन्दोलनका अर्का योद्धा बिष्णुलाल महर्जनको घर सतुंगल पुग्यौ । २०६३ साल बैशाख ७ गते कलंकीको भिडन्तमा गोली लागि घाटीको नजिक मेरुदण्डमा चोट लागेपछि सदाका लागि अशक्त भएका विष्णुलालको अवस्था झनै टिठ लाग्दो पायौ । आफै हलचल गर्न मात्र नसक्नै होइन मुखमा जम्मा भएको खकारसम्म पनि मेसिन लगाएर निकालिदिनुपर्ने अवस्थाका महर्जनले पनि उही मासिक रु चार हजार पाउदा रहेछन् । श्रीमती लक्ष्मीले २४ सै घण्टा एक्लै हेरचाह गर्नुपर्दा आफै हैरान भइसकेकीछन् ।
सरकारसंग पटक पटक कम्तिमा पनि दुई जना हेरचाह गर्ने व्यक्ती दिए हुन्थ्यौ भन्ने अनुरोध गर्दा पनि खासै चासो नदेखाएको मात्र होइन अस्पतालवाट घर लगिसकेपछि सरकारको तर्फवाट उच्च पदस्थ कौही पनि हेर्न समेत नपुगेको कुरा सुन्दा हामी साच्चै निरास भयौ । छिमेकीको भनाइ अनुसार महर्जनलाई घरमा राखेर हेरचाह गर्न विशेष सुविधासहितको घर आवश्यक हुने भएकोले सरकारले घर बनाउन १२ लाख रुपैया दिने निर्णय गरेको रहेछ । सोही अनुसार घर बनाएर उहालाई घर सारियो तर घर बनाउने दिने भनेको पैसामध्ये अझै साढे चार लाख भुक्तानी भएको रहेनछ ।