अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)ले समान पारिश्रमिक सम्बन्धि महासन्धि १०० पारित गरेको ६५ वर्ष पुगेको छ । यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा विश्वका धेरै मुलुकले समानता सम्बन्धि कानुन बनाएर लागु गर्ने प्रयत्न गर्दै आएका छन् । युरोपीयन मुलुक यस प्रक्रियामा सवैभन्दा अगाडी रहेको छ । तर पनि विश्वका कुनै पनि मुलुक यस्तो छैन, जहा महिला र पुरुषको कमाइमा पुर्णत समानता आइ सकेको होस ।
कामको सन्दर्भमा महिला र पुरुषलाई गरिने समान व्यवहार छ भनेर राज्यले संवैधानिक र कानुनी रुपमा प्रतिवद्धता गरिए पनि के कारणले हुन्छ यो फरक ? यसको वारेमा हालसालै मात्र केही सर्वेक्षण र अध्ययनको प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।
वेलायतमा आज भन्दा ४५ वर्ष पहिला समान पारिश्रमिक सम्बन्धि कानुन बनाएर लागु गरिएको थियो । तर, आज पनि त्यहा महिला र पुरुषको औसत आन्दानीमा २० प्रतिशतले फरक रहेकोछ । पारिश्रमिकमा सवैभन्दा कम फरक रहेको मुलुक आइरल्याण्ड हो, जहा महिलाको औसत कमाइ पुरुषको भन्दा पाच प्रतिशतले मात्र कम छ । नेपालको संविधानमा पनि समान कामको समान पारिश्रमिकको प्रावधान २०४७ देखि नै समावेस हुदै आएको छ । श्रम कानुनको दफा पल्टाउने हो भने पनि समान कामको समान पारिश्रमिक हुनुपर्ने कुरा नै उल्लेख गरिएको छ । तर पछिल्लो पटक गरिएको राष्ट्रिय श्रम सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालमा महिलाको औसत कमाइ पुरुषको कमाइको ५९ प्रतिशत रहेको छ ।
वेलायतमा द टेलीग्राफले यसै वर्ष गरेको अध्ययन प्रतिवेदनले महिला र पुरुषको कमाइमा भिन्नता हुनुका तीन कारण उल्लेख गरिएकोछ ।
पहिलो, समाजमा महिला र पुरुषको विचमा रहेको जेण्डर भिन्नता उमेरको उचाइसंगै उकालो लागेको पाइन्छ । वेलायतमा २० देखि ३० वर्ष उमेरका महिलाहरुले पुरुषको तुलनामा बढी आम्दानी गर्ने गर्दछन् । तर, उमेर ३० वर्षवाट उकालो लागेसंगै त्यो कमाइको भिन्नता उल्टो गतिमा बदलिदै जान्छ । ४० देखि ६० वर्षको उमेरका महिला र पुरुषको कमाइको भिन्नता सवैभन्दा बढी हुन्छ र महिलाको कमाइ कम हुन्छ । यसको कारण महिलाहरुमा निहित प्रजनन दायित्वलाई सामाजिक दायित्वको रुपमा अझै न्यायसंगत रुपमा स्विकार गर्न र व्यवहार गर्न नसकिनु हो भन्ने उनीहरुको ठम्याइ छ । उनिहरुको भनाइ छ “महिलाहरु मातृत्वको लागि सजाय भोग्दछन र पुरुषहरु पितृत्वका लागि पुरस्कृत गरिन्छन् ।” जेण्डर विभेदको यही सोच र व्यवहार कमाइमा हुने भिन्नताको एउटा प्रमुख कारण हो ।
दोस्रो, अर्को कारण संगठित अवस्थाले देखाएको छ । संगठित क्षेत्रमा काम गर्ने र युनियनमा संगठित भएका श्रमिक विच पारिश्रमिकको भिन्नता जति कम छ, असंगठित क्षेत्रमा काम गर्ने र युनियनभन्दा वाहिर रहेका श्रमिकहरुको विचमा त्यो भिन्नता बढी छ । यसको सोझो अर्थ युनियनले जेण्डर विभेदको विरुद्ध पहल गर्दछ र समानताको लागि सुरक्षा कवजको काम गर्दछ । कार्यथलोमा हुने जेण्डर विभेदलाई कम गराउने काममा पहरेदारी गर्दछ । त्यसै गरी संगठित क्षेत्रमा काम गर्ने महिला र पुरुषलाई कम से कम एउटै तहमा काम गर्दा प्रत्यक्ष विभेद गर्न गाहे हुन्छ ।
तेस्रो, समाज अझै पनि पुरुषलाई व्रेड विनर (कमाइको मुख्य मानिस) को रुपमा हेर्ने गर्दछ । जसको कारण महिलाको कमाइ पुरुषको भन्दा कम हुनुलाई स्वाभाविक ठान्ने परम्परागत प्रबृत्ती अझै कायम छ । पितृसत्तात्मक यो प्रबृत्तीवाट पुरुष मात्र होइन, कतिपय महिलाहरुसमेत मुक्त हुन सकेका छैनन । जुन विश्वभर नै महिला र पुरुष विचको विभेदको एउटा प्रमुख र साझा कारणको रुपमा रहदै आएको छ ।
उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ, समाजले जेण्डर भिन्नताको कारणलाई पहिचान गर्दै केन्द्र विन्दुमा राखेर नहेर्ने हो र अहिलेकै गतिमा मात्र परिवर्तन हुदै जाने हो भने समानताको विन्दुमा पुग्नका लागि वेलायती समाजलाई समेत अरु ८० वर्षको समय लाग्न सक्छ । यही गतिलाई लिने हो भने नेपाली समाजले त शताव्दी कुर्न पर्ने हुन्छ, जुन आजको युगमा कल्पनासम्म पनि गर्न सकिदैन ।
वेलायतमा गरिएको अर्को एक अध्ययन अनुसार समाजमा रहदै आएको परम्परागत सोच र प्रबृत्ती अनि महिला र पुरुषप्रति जानेर वा नजानेर नेतृत्वले गर्ने फरक व्यवहार यसको मुल कारण हो भनिएको छ । महिला र पुरुष जैविक रुपमा फरक क्षमता भएका समान हैसियतका नागरिक हुन । र, यिनीहरुको जीवन चक्र, सञ्चार तरिका, शक्ति संरचनालाई हेर्ने दृष्टिकोण लगायतका विषयमा स्वभाविक रुपमा भिन्नता हुन्छ । तर, यो जेण्डर भिन्नता बुझेर फरक व्यवहार नगरी समानताको नाममा गरिने औपचारिक समान व्यवहारले सारभुत समानता प्राप्त हुन सक्दैन भन्ने कुरालाई समाजले अझै पनि अनुभुत गर्न नसक्नु परिणाममा भिन्नता रहनुको अर्को कारण हो, प्रतिवेदनको निचोड छ ।
त्यसैगरी, अमेरिकामा गरिएको अर्को अध्ययनले भनेको छ प्रकृतीले समाजमा संख्यात्मक रुपमा समाजमा महिला र पुरुषको सन्तुलित व्यवस्था गरेको छ । तर, समाजको फरक गतिविधिमा उनीहरुको सहभागितामा असन्तुलित बन्दै आएको छ, जुन जेण्डर विभेद र सामाजिक समस्याको ज्वलन्त कारण बन्दै आएकोछ ।
अमेरिकी समाजशास्त्री मायकल थोम्प्सनका अनुसार अमेरिकामा ९ मध्ये ८ जना विद्यालय शिक्षक महिला छन् । जसका कारण विद्यालयको वातावरण महिलाकरण भएको छ । यसको परिणाम केटाहरु विद्यालयमा नियमित नआउने र पढाइमा मन नलगाउने क्रम सन १९९० देखि लगातार घट्दो छ । एक अध्ययन अनुसार ११ प्रतिशत केटाहरुमा लागु पदार्थको लत लागेको अनुमान छ । उच्च शिक्षामा ६० प्रतिशत विद्यार्थी महिला छन् । यसको कारण विद्यालय शिक्षक सहभागितामा जेण्डर सन्तुलन नहुनु र शिक्षालयको वातावरण जेण्डर मैत्री नहुनु हो भन्ने निष्कर्ष उक्त अध्ययनले दिएको छ ।
उनी भन्छन, अमेरिकी समाजलाई जेण्डर सन्तुलित बनाउने हो भने महिलालाई व्यवसायिक क्षेत्रमा र पुरुषलाई शैक्षिक क्षेत्रमा सहभागि गराउन अव विशेष व्यवस्था हुनु जरुरी छ । उनको भनाइ छ महिला र पुरुष दुइ फरक आवश्यकता र अनुभुती भएका मानिस हुन । र, परिणाममा समानता ल्याउन उनीहरुलाई फरक ढंगवाट नै व्यवहार गरिनुपर्दछ । यस विषयमा मुलत समाजको नेतृत्व तहमा रहने राजनीतिकर्मी, व्यवस्थापक र शैक्षिक अगुवाहरुले बहु–जेण्डर भाषा र संस्कृति बुझ्न सक्नुपर्दछ । र मात्र, नागरिकमा रहेको फरक तिक्ष्णता र क्षमतालाई समाजको हितमा सदुपयोग गर्न सम्भव हुनेछ ।
यसको लागि महिला र पुरुषका लागि फरक पेशा, व्यवसाय, शिक्षालय र कार्यस्थलको अवधारणा बनाउने होइन । जव महिला र पुरुष समाजका दुई अनिवार्य पक्ष हुन भने कुनै पनि संघसंगठन, पेशा, व्यवसाय र संस्थामा एकपक्षिय सहभागिताले समस्याको समाधान हुनै सक्दैन । समाजलाई जेण्डर समान र सन्तुलित बनाउनका लागि मुलत हरेक क्षेत्रको नेतृत्व तहमा रहने व्यक्तिको प्रबृत्ती, सोच र व्यवहारमा रहदै आएको जेण्डर पुर्वाग्रहलाई सच्याउनु पर्दछ र सवै क्षेत्रको नेतृत्वले जेण्डर सन्तुलित सहभागितालाई मनैदेखि स्विकार गर्दै यसलाई संस्कार र संस्कृतिको रुपमा स्थापित गर्दै जान सक्नुपर्दछ ।
समाजमा रहेको जेण्डर पुर्वाग्रह सचाउनका लागि उनले तीनवटा सुझाव दिएका छन् ।
पहिलो, नेतृत्वमा सशक्तता हुनुपर्दछ, जसले जेण्डर सन्तुुलनको विषयलाई संस्थाको रणनीतिक प्राथमिकताको विषयका रुपमा ग्रहण गर्न सकोस ।
दोस्रो, प्रतिवद्ध नेतृत्व, जसले शिर्षस्थानमा रहेको नेतृत्व टिमको बनावटमा परिवर्तन गर्न सकोस र यो सम्भव छ भन्ने कुरामा प्रतिवद्धताकासाथ रोल–मोडल बनेर देखाउन सकोस ।
तेस्रो, सक्षम र जवाफदेही व्यवस्थापन, जसले जेण्डर भिन्नतालाई अनुभुत गर्दै सोही अनुसार फरक क्षमतालाई संगठन र समाजको हितमा लगाउने कामलाई कुशलतापुर्वक प्राथमिकतामा राखेर कार्यान्वयन गर्न सकोस ।
जेण्डर समानताको वारेमा हार्वर्ट विजिनेस रिभ्युले गरेको अर्को अध्ययनले भनेको छ– महिला र पुरुषमा रहेको केमिष्ट्री, जीवन चक्र र संवेगात्मक भिन्नतालाई वेवास्ता गर्दै समानताको लागि गरिएका औपचारिक प्रयत्नहरुका कारण जेण्डर समानताको विषय वास्तविकतामा परिवर्तन भएको छ । अव यसलाई व्यवहारमा परिवर्तन गर्न महिला र पुरुष दुई फरक क्षमता भएका नागरिक हुन भन्ने तथ्यलाई आत्मसात गर्दै परिणाममा समानता प्राप्तीमा सफलता पाउनका लागि फरक रणनीतिका साथ व्यवहार परिवर्तनकासाथ अगाडी बढ्नु पर्दछ । महिलामा रहेको मातृत्व सम्बन्धि दायित्वलाई सामािजक दायित्वका रुपमा स्विकार गर्दै आमाप्रति गरिने व्यवहार सामािजक रुपमा न्यायिक हुन जरुरी छ । यसको लागि राज्य, समाज र हरेक नागरिकमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आधारभुत शर्त हो ।
यी अध्ययनहरुले पहिचान गरेको प्रकृति, कारण र सुधारका लागि गरिएका सिफारिसहरुका सन्दर्भमा हामीले पनि समयमा नै ध्यान दिनसक्ने हो भने जेण्डर समानताका पक्षमा राजनीतिक र संवैधानिक रुपमा समेत गरिएका प्रतिवद्धताहरुलाई व्यवहारमा परिणत गर्न सहयोगी हुनेछ ।