आज जेठ तीन गते । हामीले नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर कमरेड मदन भण्डारी र कुशल संगठन जीवराज आश्रीत गुमाएको पिडादायी दिन । हामी त्यस दिन चितवनको ज्यामिरेमा उहाहरुका कुरा सुन्ने अपेक्षामा थियौ, जहा अनेमसंघको राष्ट्रिय भेला भइरहेको थियो। तर, अपसोच दासढुंगामा गाडी दुर्घटना भएको खवर आयो । हामी सवै कार्यक्रम स्थागित गरेर त्यतै लाग्यौ । आजका दिन भौतिक रुपमा गुमाइएका तर भावनामा संधै प्रेरणाका रुपमा जीवीत रहदै आएका ती आदरणीय नेताहरुप्रति हार्दिक श्रद्धान्जली ।

त्यो विस्मयकारी घटना सम्झदा आज पनि मन अमिलो हुन्छ । त्यसपछिका दिनमा हामिले भन्दै आयौ, दासढुंगा घटनाले दिएको पिडालाई शक्तिमा बदल्नुपर्छ । त्यतिखेर हामी त अलि युवा नै थियौ । मदन–आश्रीतका समकक्षीहरुलाई अझै वढी पिडा भयो होला । त्यसैले पनि मदन र आश्रितको व्यक्तित्व, जीवन शैली र उहाहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदान र लिन सकिने शिक्षाको वारेमा उहाहरुका सहकर्मीहरुले गर्नुभएको व्याख्या र विश्लेषणले त्यही पदचाप पछ्याएर अगाडी बढ्न नया पिढीलाई प्रेरित गर्दथ्यो । हामी मदन–आश्रीतको सामिप्यमा रहेर धेरै काम गर्न नपाएका तर दुरीवाट उहाहरुको आदर्श नेतृतवको उचाइ अनुभुत गर्दै आएका कार्यकर्तालाई ती भनाइहरुले उत्साहित बनाउथ्यो । राष्ट्रको स्वाधिनता र जनताको स्वाभिमानका लागि निरन्तर काम गर्न प्रेरित गर्दथ्यो । विश्व परिस्थितिवाट सिक्ने र आफ्नो धरातलको विश्लेषणका आधारमा लोकतन्त्रका आधारभुत मान्यतालाई संगठन संचालन र जीवनशैलीका रुपमा अपनाउन प्रेरित गर्दथ्यो । किनारामा पारिएका जनतालाई मुलधारमा ल्याउन र आवाजविहिनहरुको आवाज बन्दै समानतामा आधारित समाज निर्माणको लागि सामाजिक न्यायका पक्षमा लामवद्ध हुन प्रतिवद्ध बनाउदथ्यो ।

सर्वहारावर्गको अधिनायकत्वको सोचलाई परिवर्तन गर्दै समकालिन नेपालमा शासन सत्ता सञ्चालन गर्न जनताको मन र मत दुवैवाट अनुमोदित हुनुपर्छ भन्ने लोकतान्त्रिक मुल्यलाई पार्टी नीतिका रुपमा स्थापित गर्ने कुरा सहज थिएन । तर, त्यो साहसले नै मदन भण्डारीलई राजनीतिको टाकुरामा पुर्यायो । राजनीतिमा पदिय टाकुरामा पुग्नु एउटा कुरा हो । तर, उक्त टाकुरामा निरन्तर स्थापित हुनु सर्वाधिक महत्वको विषय हो, जुन कुरा मदन भण्डारीले गर्नु भयो । सत्ताको उच्च पदमा पुगेर मात्र राजनीतिक उचाइ हासिल गर्न सकिन्छ भन्ने कुरालाई मदनको उचाइले त्यतिखेरै खण्डन गरिदिएको थियो । आज पटक पटक पार्टी र राज्यको उच्च पदमा रहेर कार्यकर्ता र आम नागरिकको सामु परिक्षित भइसकेको नेतृत्वले सत्ताको उच्च कुर्सीमा कहिल्यै मोह नदेखाएका मदन भण्डारीको उचाइवाट सिक्ने समय घर्किसकेको छैन ।

“राजनीतिमा स्थायी शत्रु र मित्रु हुदैन“ भन्ने मदनको भनाइ आधारभुत लोकतन्त्रको विकास र जनताको हितका पक्षमा गर्ने कामका सन्दर्भमा थियो भन्ने लाग्छ । तर, पछिल्ला दिनमा निर्दिष्ट गन्तव्यलाई समेत भुलेर सिमित व्यक्तिका क्षणिक स्वार्थपुर्तीका सन्दर्भमा समेत मदन भण्डारीका त्यो भनाइ सिरानी हाल्न थालियो । परिणाम सत्ता प्राप्तीका लागि अराजनीतिक गठबन्धन र कुर्सी प्राप्तीका लागि मुलवाटो छाडेर खड्प्वाल समेतको यात्रा हुन थाल्यो । राजनीतिका निष्ठाले जेलनेल र यातना वाध्यत्मक परिस्थितिले ल्याउने एउटा अवस्था हो । तर, त्यो नै नेतृत्व गर्ने सम्पुर्ण योग्यता होइन भन्ने कुरा पनि मदन भण्डारीले उहिल्यै प्रमाणित गरिसक्नु भएको छ ।

मदन र आश्रीतका ती आवाजहरु भौतिक रुपमा विलाएको आज २७ वर्ष भएकोछ । तर, त्यसका प्रतिध्वनीहरु नेपाली समाजमा अझ पनि गुञ्जदै छन । तर, जति समय वित्दैछ, ति आवाजहरु मधुर बन्दै गएको आभाष हुदा, अव डर लाग्न थालेको छ, कतै हिजोका ति स्वाभिमानी गर्जनहरु भोलीका दिनमा कुनै समयको कथा भएर विलिन भएर जाने त होइन ? राजनीतिक टाकुरामा आदर्श बनेका ति विम्वहरु कतै आजको राजनीतिमा देखिन थालेका स्वार्थका धव्वाहरु र मौलाउन थालेका अराजकताका तुवालोले छोपिने छ होइन ? यो विषयमा सवैभन्दा बढी तीनै समकक्षीहरुले सोच्नुपर्ने हो । तर, ति दिनका सहकर्मी र समकक्षी विच आज देखापरेकोे अमर्यादित सम्बन्धहरु, अपारदर्शी र गुटगत गतिविधिहरु र अस्वच्छ उछिनापाछिनले यो आन्दोलनलाई यहासम्म ल्याउन जीवनका सुनौला क्षणहरु लगानी गर्ने कार्यकर्तामा मात्र होइन, आम नागरिकमा समेत निराशाका वादलहरु लाग्न थालेका छन ।

हिजोका समर्पणको उचाइले आदर्श बनेका नेतृत्व आज पदीय उचाइ र स्वार्थ केन्द्रीत गतिविधिका कारण धस्सिन थालेको व्यक्तित्वको वारेमा सचेत हुने, आत्मसमिक्षा गर्ने र आ–आफ्नो ठाउवाट जनानुभुती हुने गरी सच्चिएर देखाउने समय आइसकेकोछ । अन्यथा, कार्यकर्तामा आएको निरासा र आम नागरिकमा छाएको असन्तुष्टीको हुण्डरीका सामु आज पौठे जोरीमा कस्एिका कसैको धरातल वाकी नरहन सक्छ । आजको खुल्ला समाजमा सुचनाको प्रवाह यति गतिसिल छ, कसैका कुरा लुकाएर लुक्ने वा छिप्नेवाला छैन । यसैले फेरी पनि मदन भण्डारीका भनाइ “अवको समय जनताको मन र मत दुवैलाई जितेर उनिहरुलाई संगसंगै लिएर शासन गर्ने समय हो“ भन्ने कुरालाई गहिराइमा मनन गर्न ढिला गर्नुहुदैन ।

कुशल संगठकको रुपमा स्थापित आश्रीतको भनाइ थियो “संघर्षको कुनै सिमा हुदैन“ । त्यो सामाजिक रुपान्तरणको अभियानलाई जवानीसंग साटेर हिजो संघर्षका हरेक मोर्चामा काध थाप्ने कार्यकर्ता किनारा लाग्ने र अवसरका साथी स्वार्थ समुहको चौघेराले आज बनेका राजनीतिक उचाइले पनि जोगिन सहज छैन भन्ने कुरा अनुभतु गर्ने दिन टाढा नहुन सक्छ । आजको नेतृत्वले अव आत्म समिक्षा गर्दै बनेको उचाइलाई कायम राख्दै अभिभावकिय भुमिका कसरी भन्ने तर्फ सोच्ने समय आयो भन्ने कुरा अनुभुतीसहति योजना बनाउनदा वुदिमानी हुन सक्छ ।

पार्टी एकता र जनताको अपेक्षा

निर्वाचन प्रणालीवाट सायद दुनियामा पहिलो पटक कम्युनिष्ट पार्टीको सरकार बनेको तत्कालिन नेकपा एमालेको गठन गरेको नौ महिने सरकार हो । उक्त सरकार बनावटमा अलपमतको र अवधिले छोटो भए पनि यो नागरिकका विचमा उदाहरणीय बन्यो । त्यतिखेरको राज्यको स्रोत बिन्यासको शुरुवातीले गाउ–गाउमा पुर्वाधार विकासको जग वसाल्ने काम गर्यो । समाजका कमजोर ठानिएका समुदायका लागि राज्य अभिभावक छ भन्ने अनुभुती गराउन सामाजिक सुरक्षाको मियो गाड्यो । लामो समयदेखि आन्दोलनको नारा बन्दै आएको असमान सन्धि खारेजीको विषय, पुनरावलोकन गर्नुपर्दछ भनेर औपचारिक रुपमा टेवलमा राखी सम्वादको विषय बनाइयो । यी गतिविधिले नेपाली नागरिकको स्वाभिमानमा उचाइ थप्यो । तिनै जनपक्षिय काम दुइ दशकसम्म जनताको मत माग्न काम लाग्यो । २०७२ को नाकावन्दीको वेला “भुगोल सानो वा ठुलो हुन सक्छ । जनसंख्या थोरै वा धेरै हुन सक्छ । तर राष्ट्रको अखण्डता, राष्ट्रिय स्वाधिनता र नागरिक स्वाभिमान घटीवढी हुन सक्दैन“ भन्ने उद्घोषसहितको अडानले कम्युनिष्ट पार्टीप्रति जनताको अपार समर्थन बढायो । मुलुकमा एकल कम्युनिष्ट शक्ति र कम्युनिष्ट पार्टीको स्थीर सरकार बन्यो भने अरु धेरै जनआकांक्षा पुरा हुने छ भन्ने जनचाहनासमेतलाई केन्द्र विन्दुमा राखेर २०७४ को निर्वाचनमा दुई ठुला कम्युनिष्ट पार्टी मिलेर निर्वाचन लडे । जनताले सोही अनुसार मत दिए । समय क्रममा पार्टी एकता गरेको पनि आज दुई वर्ष पुरा भएकोछ ।

जनताले दिने जनादेश दिए । पार्टीले गर्ने एकता पनि गरे । तर, त्यसपछिका दिनमा यसलाई जसरी सशक्तता दिइनु पथ्र्यो हुन सकेन । पार्टी एकताको काम अझै पुरा भएको छैन । निर्वाचित स्थानित तहमा निर्वाचित जनप्रतिनिधिलाई जनपक्षिय काम गर्न पार्टीको तर्फवाट हुनुपर्ने सहयोग र समन्वय हुन सकेन । संघिय तहमा नै पनि संसद, सरकार र पार्टी विच आवश्यक समन्वय हुन सकेन । तर जे नहुनुपथ्र्यो त्यो हुन थाल्यो । विधानत पार्टी चलेन । सिद्धान्त अनुसार नेता चलेनन । प्रद्धती अनुसार कार्यकर्ता चलेनन । जनादेश अनुसार सरकार चलेन । २०५१ को काम र २०७२ को अडानका आधारमा त्यही अपेक्षा साचेर जनताले कम्युनिष्ट पार्टीलई एकल सरकार बनाउने जनादेश दिए । आगामी दिनमा यही सरकारको सक्षमता र सफलतामा उभिएर जनता समक्ष जाने हो । कुन नेताले के गरे ? दलभित्र शक्ति संरचना कस्तो बन्यो ? शक्ति विन्यास कसरी गरियो ? यो आम जनताको चासोको विषय होइन । जनताको चासो जनताका हितमा कति काम भए ? जनजीवनमा कति सहजता आयो ? राष्ट्रिय स्वाधिनता र नागरिकको स्वाभिमानको पक्षमा कति उचाइ थपियो ? यीनै कुराका आधारमा जनताले मत दिने हुन । व्यक्तिका चर्का कुराको पार्टीको आन्तरिक वहस विवादमा को कति उत्कृष्ट ठहरियो भन्ने आधारमा लोकतन्त्र वलियो हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हुनेछ ।

अवको वाटो पुस्तान्तरण

दुनियमा हेर्ने हो भने नेतृत्व हस्तान्तरण सामान्यतया दुइ कार्यकाललाई दिने गरिन्छ । कुनै पनि व्यक्तिले आफ्नो क्षमता र योगयताले भ्याइसम्मको सिर्जनसिलताको प्रयोग एक दशकमा गरिसक्दछन । अनि एक पटक उच्च पदमा पुगेर विदा लिइसकेकर त्यही पदका लागि लालयित हुने कुरा आधुनिक लोकतान्त्रिक प्रणालीमा आम रुपमा देखिदैन । यो प्रक्रियाले गर्दा ति मुलुकहरुमा पुस्तान्तरण चर्को नारा लागेको कतै सुनिदैन । तर, दक्षिण एसिया आम रुपमा आफु रहेसम्म अर्को पुस्ताका कार्यकर्तामा क्षमता नै नदेख्ने र पद विना पनि मानविय मर्यादासहितको आर्दश जीवन हुन्छ भन्ने कल्पना नगर्ने प्रवृत्तीवाट मुक्त छैन । यो प्रवृत्ती उदारवादी पुजिवादी विचार वोक्नेमा मात्र होइन, द्धन्द्धात्मक भौतिकवादमा विश्वास गर्ने र विज्ञान संगत प्रक्रियामा जीवन देख्ने कम्युनिष्ट दलहरुमा समेत रहदै आयो । र, अहिले नेपाल कम्युनिष्ट पार्टी पनि यही दलदलमा फसेको छ ।

हिजो निरंकुशताको विरुद्ध जुध्दै गर्दा “आजका युवाहरु हो, भविष्य तिमिहरुको हो । यसर्थ त्यो दायित्व वोक्ने सामथ्र्यवान हुन क्षमता, सीप र साहसका साथ आफुलाई तयार गर“ भन्ने जस्ता प्रेरणादायी भनाइहरुले युवा समुदायमा उर्जा थप्ने गर्दथ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । नया पिढी नेतृत्वको लागि तयार भयो भन्ने आवाज कतै सुनिदैन । आज नेकपाको उच्च नेतृत्व औसतमा तीन दशकदेखि एउटै तहमा रहदै आएको छ । अनि एक दर्जन नेतृत्वको विचमा कुन पदमा को र कहिले भन्ने म्युजिकल चेयरको खेल झै चक्कर चलेकै छ । हाम्रो सन्दर्भमा अरु मुलुकमा झै दुइ कार्यकाल वा एक दशक भन्ने कुरा अहिले अव्यवहारिक हुन सक्छ । तर, यदी पार्टीलाई चलाएमा बनाउने र नया उचाइमा लैजाने हो भने अव तयस दिशामा जानुको विकल्प छैन । यो भनाइ निर्मम लाग्न सक्छ । तर, जनतामा गुम्दै गरेको विश्वास र कार्यकर्तामा ओहलो लाग्दो भरोसालाई पुनरप्राप्ती गर्ने हो भने तीन दशकभन्द्या लामो समयदेखि उच्च तहको कमिटीमा रहदै आएको नेतृत्व आफैवाट पुस्तान्तरणको प्रस्ताव आउन जरुरीछ । आगामी महाधिवेशनपछि पार्टीको कार्यकारी भुमिका र निर्वाचनपछि राज्यसत्ताको कार्यकारी भुमिका पुस्तान्तरणमा जाने कुराले नेतृत्व पुस्तान्तरणको सहज वाटो पक्रनेछ । अनि यो अनुभवसिद्ध पुस्ता अभिभावकिय भुमिकामा थप उचाइवाट कार्यकारी नेतृत्वमा रहेको नया पुस्ताको कामलाई नियाल्दै सही वाटोवाट अगाडी बढ्न मार्गनिर्देशक बन्न तयार हुनुपर्दछ । पुस्तान्तरणको त्यो दिनसम्म पुग्दा सहजता पुर्वक र उदाहरणीय रुपमा कसरी काम गर्ने भन्ने सन्दर्भमा योजना अवको वर्ष लगाउनु नै वुद्धिमानी मात्र होइन, विवेकसिल निर्णय पनि हुनेछ ।

 

http://gorkhapatraonline.com/opinion/2020-05-16-14467

वर्डफाइल अव नेतृत्व पुस्तान्तरण