कमरेड जीवराज आश्रीतको वारेमा एउटा प्रकाशन वाहिर आउदै छ । उहासंग काम गर्दाको अनुभुती र अनुभवको आधारमा केही लेखिदिनका लागि भनेर मलाई केही महिना अगाडी नै एउटा पत्र थमाइएको थियो । आश्रीत कमरेड लामो समय पार्टी नेतृत्वमा रहनु हुदा म विद्यार्र्थी आन्दोलनमा थिए । उहासंग प्रत्यक्ष भेटघाट र चिनापर्ची थिएन । २०४७ सालमा वागवजारमा पार्टी कार्यालय खुलेपछि मात्र उहासंग भेट भएको हो । त्यसमा पनि म विद्यार्थी आन्दोलनसंग सम्बन्धित रहेको अवस्थामा खासै नजिकवाट कुराकानी गर्ने काम परेको वा अवसर मिलेको थिएन । त्यसो हुदा टाढावाट हेर्दा हिमाल असाध्यै सुन्दर देखिन्छ भने झै आश्रीत कमरेडप्रति एउटा नेताको रुपमा उच्च सम्मान थियो र सवैवाट सुन्ने गरेको अशल संगठक भन्ने जानेकी थिए ।
२०४८ सालमा म अनेरास्ववियुवाट विदा भएर अखिल नेपाल महिला संघमा काम गर्न थालेपछि उहासंग अलि नजिक रहेर काम गर्ने सन्दर्भमा केही कुराकानी गर्ने अवसर प्राप्त भएको थियो । त्यत्तिको भरमा के लेख्ने खै भनेर म अलमलमा थिए । तर, नया वर्ष २०६९ को भेटघाटको सन्दर्भमा यो पाना फेरी खुल्न गयो । र, आज म उहासंगको भेट छोटो अवधिको भए पनि त्यो अनुभुतीलाई स्मरण गर्नु उहाप्रतिको सम्मान पनि हो भन्ने निचोडमा पुगे र कम्प्युटरमा किवोर्ड चलाउन पुगे ।
हिमालको सुन्दरता नजिकवाट अनुभुत गर्न हिमालको यात्रा गर्नुपर्दछ भने झै २०४८ कार्तिक महिनामा भएको दोस्रो राष्ट्रिय सम्मेलनवाट म कोषाध्यक्षमा निर्वाचित भएपछि महिला फाटको जिम्मेवारी बढ्यो र पार्टी नेतृत्वसंग पनि आवश्यकताले निकटता बढ्नु स्वभाविक बन्दै गयो । यस क्रममा मैले सुन्दै आएको कुरा दाज्न थाले । मेरो अनुभुतीमा जीवराज आश्रीत कमरेडमा मिजासमा सरल, सहज र अनुशासनमा अलि कडा स्वभाव रहेको नेताको रुपमा मैले नजिकवाट अनुभव गरे ।
यही क्रममा पार्टीको पाचौ राष्ट्रिय महाधिवेशनको केही अगाडी होला, अनेमसंघमा एउटा केस आयो । केस सहज थिएन । एकजना महिला नेता अर्को पुरुष नेताको घरमा काम विशेषले जादा गरिएको अलि यौन दुराचार पुर्ण व्यवहारसंग सम्बन्धित थियो । पार्टी नेतावाटै पार्टी कार्यकर्ता तथा महिला नेतामाथि भएको घटना वाहिर भन्न पनि अप्ठेरो, नभन्दा पनि त्यस्तो व्यवहार पार्टीभित्र प्रबृत्तीको रुपमा मौलाउदै गयो भने स्वच्छन्दता बढ्दै जान सक्ने एउटा सम्भावना त थियो नै । अर्कोतर्फ महिला कार्यकर्ता टिकाउन र विकास गर्न पनि अरु जोखिम हुन सक्ने सम्भावना हुन सक्दथ्यो । त्यसपछि अनेमसंघको तत्कालिन महासचिव अक्ष्टलक्ष्मी शाक्य र म संगठन विभागको प्रमुख आश्रीत कमरेडसंग समय लिएर वागवजार पार्टी कार्यालयमा कुरा गर्न गएका थियौ ।
त्यस क्रममा जीवराज कमरेडले सवै घटना क्रम सुनिसकेपछि भन्नु भएको थियो— यो घटनाको वारेमा सम्बन्धित कमरेडलाई राखेर म कुरा गर्छु । आवश्यक परेमा तपाईहरुलाई पनि वोलाउला । अन्यथा यो समस्या पार्टी तहवाट सुल्झन्छ । तर महिला फाटको नेतृत्वको हिसावले तपाईहरुले आम महिला कार्यकर्तालाई एउटा कुरामा सचेत गराउनै पर्दछ की “जति सुकै ठुलो पदको नेता र विश्वास गरिएको कमरेड भए पनि, अप्ठेरो परिस्थितिका वावजुध पनि राती एउटा कोठामा दुईजना मात्रै रहने कुरा कहिल्यै नगरौ । पुरुष नेतासंग व्यवहार गर्दा संधैभरी एउटा निश्चित दुरी कायम गरौं । क्रान्तिकारीको रुपमा हामीले सामाजिक मुल्य र मान्यताको सिमालाई फराकिलो पार्दै जाने हो । आफु एक्लैले मात्र तोड्न खोज्दा दुर्घटना हुन सक्दछ । तसर्थ समाज रुपान्तरणको लागि सामाजिक परिवर्तनको वाहक बन्नु पर्दछ, तर एक्लो विद्रोही होइन ।” भुमिगत अवस्थामा समेत घटेका केही घटनाको दृष्टान्त दिदै उहाले दिनु भएको यो सुझाव त्यस पर्यन्त मेरो दिमागमा संधै ताजा रहदै आएको छ । निरन्तर आन्दोलनमा आशावादी सोच सहित अगाडी बढ्न यो भनाइ संधै अमर अजर प्रेरणा बनिरहेको छ ।
त्यसपछि उहाले दुवै जनालाई राखेर कुुरा गर्नु भयो होला । अनेमसंघमा कुनै गुनासो आएन । उक्त घटनाको पिडित पक्ष पनि उच्च मानसिकताकासाथ निरन्तर क्रियाशिल हुनुहुन्छ भने पिडक भनिएका नेताको वारेमा पनि त्यस यता कुनै उजुरी सुन्न परेको छैन ।े कमरेड आश्रीतको वारे सुन्दै आएको कुरालाई यो घटनाले तथ्यसंगत रुपमा पुष्टि गरेको झै अनुभुत भएको थियो ।
त्यस पर्यन्त विभिन्न आन्दोलनमा लाग्ने महिला कार्यकर्ता र नेतृत्वको बीचमा जादा कमरेड जीवराज आश्रीतले दिनु भएको त्यो सुझाव संधै दिमागमा आउने गर्दछ र कुन तरिकाले नया पिढिका महिला कार्यकर्तालाई यो कुरा संप्रेषण गर्ने भन्ने विधिको खोजी हुने गर्दछ । यसरी एउटा अभिभावकले आफ्ना सन्तानलाई निरन्तर आत्मरक्षाको वारेमा आफैले अप्नाउनु पर्ने सतर्कताको वारेमा दिइने शिक्षा आश्रीतले दिने गर्नुहुन्थ्यो । त्यो क्षण सम्झदा आज पनि उहाको त्यो अभिभावकत्वप्रति संधै ऋणीका रुपमा श्रद्धा जागरण हुन्छ ।
२०४९ सालतिर महिला आन्दोलनलाई कसरी आत्मनिर्भर बनाउने भन्ने वारेमा अनेकसंघको नेतृत्व बीचमा खुव छलफल चल्थ्यो । कतिपय साथिहरु सिलाई बुनाइवाट जिविका चलाउने कुरा गर्दै थिए भने कतिपयले एक समयमा गएर वस पार्कमा पुरी—तरकारी वेचौ भन्नेसम्मका सुझावहरु आएका थिए । हामी केही भने त्यसरी महिला सशक्तीकरण हुन्छ र आन्दोलन आत्मनिर्भर हुन्छ भन्ने कुरामा सहमत थिएनौ ।
यही क्रममा एक दिन आश्रीत कमरेडको डल्लुीस्थत निवासमा पुगेको वेला प्रशंग उठ्यो । उहाले भन्नु भयो — यो समय तपाई महिला नेताहरु आफै यस्तोमा लाग्ने होइन । केही पाउन केही गुमाउन पर्दछ । साधारण सदस्यहरुलाई श्रम गरी आत्मनिर्भर हुने कुरामा प्रेरित गर्नु स्वभाविक हो । तर नेतृत्व आफै विभिन्न पेशामा लाग्न थाल्यो भने आन्दोलन कसरी फैलन्छ । नेतृत्वले आर्थिक सम्पन्नतातिर आखा लगाउने होइन, आफुले संगठित गर्ने वर्गको जमातको अवस्था हेर्ने र त्यसको प्रेरणाले बाच्दै त्यो वर्गको उत्थानको लागि काम गर्ने हो । तव मात्र आन्दोलन टिक्न र फैलन सक्दछ । त्यसपछि हामिले अनेमसंघको नेतृत्वको वारेमा यस किसिमको छलफल नै छाडि दियौं ।
जीवनमा थोरै पटक भेटघाट हुने अवसर पाएका हामी कार्यकर्तालाई त यति भन्न भ्याउनु भएका जीवराज कमरेडले लामो समय संगै काम गरेका सहकर्मी र निकटमा रहेर काम गर्ने तत्कालिन कार्यकर्तालाई त अवश्य पनि धेरै कुराहरु भन्नु भएको हुनुपर्दछ ।
तर आज आश्रीत कमरेडले भन्नुभएका यी कुराहरु सम्झदा लाग्छ, आजका आम नेताहरुसंग उहाको संगतै हुन पाएको छैन या यी कुराहरु उहाले सहकर्मीहरुलाई भन्नु नै भएन । सवैले आश्रीत कमरेडलाई हिमाल हेरे झै टाडैवाट देखेका मात्र हुन । अन्यथा आज त्यो मुल्य र मान्यता किन हराउदै गइरहेको छ ?
आखिर जे होस, थोरै पटक अन्तरक्रिया गर्ने मौका पाएको भए पनि कमरेड आश्रीतले भन्नु भएको कुरा मेरा लागि उपदेश सरह जीवनदर्शन बनेको छ । एउटा अभिभावकले आफ्ना सन्ततीलाई छाडेर जाने सवैभन्दा महत्वपुर्ण शिक्षा र पुजी दुवै बनेको छ । आजकल म सोच्दछु — सायद आश्रीतको यही भनाइ मेरा लागि निरन्तर आन्दोलनमा लाग्न माक्र्सवाद र लेनिनवाद भन्दा पनि बढी सार्थक मन्त्र बनेको छ ।
अन्तरक्रियाका लागि लामो समय प्राप्त भएको भए यो सकारात्मकता बढ्थ्यो वा अर्को पाटो पनि देखा पर्दथ्यो ? समयले त्यो अनुमती दिएन । समयले हामीलाई उहाको स्मरण गर्दै हार्दिक श्रद्धासुमन चढाउन बाध्य पारिदियो । कमरेड आश्रीत प्रति फेरी एक पटक हार्दिक श्रद्धान्जली ।
२०६९ वैशाख २