१. तपाईं अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले हामि पार्टी महाधिवेशनको संघारमा छौ । यस सन्दर्भलाई समेत जोडेर हाल पार्टी महाधिवेशनको दस्तावेज, मदन भण्डारीको रचनाहरु र कार्लमाक्र्सको जीवन र कृतित्व सम्बन्धि पुस्तकहरु साझा रुपमा हेर्दैछु ।

२. तपार्इंले अध्ययन गरेको पुस्तकमध्ये अत्याधिक प्रभाव पारेको कुनै तीन पुस्तक ?

मैले अहिलेसम्म पढेका पुस्तकमध्ये विद्यालयमा रहदा पहिला मोदनाथ प्रश्रीतले लेख्नुभएको नारी बन्धन र मुक्ति, कलेज जीवनमा आमा उपन्यास र बहुदल आइसकेको अवस्थामा रोजा लक्जेम्वर्गको जीवनी मेरो जीवनलाई नया मोड दिने रुपमा प्रभाव पारेका पुस्तकहरु हुन् ।

३. कमरेडलाई मन पर्ने विधा ?

सामान्यतया सवै किसिमको पुस्तक पढिन्छ । तर, जुनसुकै विधाको भए पनि पढ्दा जागर चलेन भने गणनाकै लागि जवरजस्ती मेरो वानी छैन । राजनीति र महिला आन्दोलन सम्बन्धि विषय प्राथमिकताको विषय हो । सामाजिक विषयमा लेखिएका अन्य आख्यान र संस्मरणात्मक कृतीहरु पनि सिकाइको लागि उपयोगी लाग्दछ ।

४. राजनीतिमा तपाईं पुस्तकको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

दुनिया धेरै फराकिलो छ । सवै कुरा अनुभव गरेर मात्र सिक्न सकिदैन । त्यसैले फराकिलो दुनियालाई साघुरा बनाउन र राजनीतिक जीवनलाई धारिलो बनाउने मुल आधार पुस्तक नै हो । पुस्तक विनाको खास गरी राजनीतिक जीवन धेरेै साघुरो र संकुचित हुनेछ ।

५. आजको सन्र्दभमा पार्टी पंक्तिलाई कुनकुन र कस्ता पुस्तक पढ्न सुझाव दिनुहुन्छ ?

राजनीतिक र वैचारिक रुपमा स्पष्टताका लागि दर्शन सम्बन्धि आधारभुत पुस्तकहरु राजनीतिकर्मीहरु सवैले पढ्नै पर्दछ । त्यसपछि ज्ञान, सुचना, अनुभव र अनुभुतीलाई फराकिलो बनाउदै जाने सन्दर्भमा आ–आफ्नो मन पर्ने र कामको क्षेत्रसंग जोडिएका विधा अनुसारको चयन हुने कुरा हो ।

६. तपाईंलाई मन परेको पुस्तक कसरी सङ्कलन गर्नुहुन्छ वा कसरी अध्ययन गर्नुहुन्छ ?

किनेर, पुस्तकालयको सहयोग लिएर या अन्य तरिकाले ? सवै उपायहरु अप्नाइन्छ । संकलनयोग्य पुस्तक छ भने किन्नु उचित लाग्छ । अन्यमा पुस्तकालयहरुमा भएसम्म त्यहावाटै लिइन्छ । कहिलेकाही साथिहरु विच साटासाट गरेर पनि पढिन्छ ।

७. तपाईंले लेख्नुभएका पुस्तक ? भविष्यमा पनि थप केही लेख्ने योजनामा हुनुहुन्छ कि ?

ट्रेड युनियन÷महिला आन्दोलनसंग सम्बन्धि केही पुस्तकहरु लेखिएका छन् । अहिले तत्काल गर्ने कामको सुचीमा खासै पुस्तक लेखनको विधा परेको छैन । तर, नेपालको लोकतान्त्रिक आन्दोलन र खास गरी महिला र श्रमजीवी वर्गसंग सम्बन्धित रहेर धेरै कुरालाई लिपिवद्ध गर्न वाकी छ । यस पक्षलाइ लिपिवद्ध रुपमा संरक्षित गरी नया पिढीका लागि उपलव्ध गराउने दायित्व हाम्रो पिढीको हो । र, त्यसमा मेरो पनि योगदान रहन सक्छ भन्ने अनुभती रहेकोछ ।

Comred Sanga Kitabka kura