आदरणीय आमा,
नमस्कार ।

आज तपाइसंग विछोड भएको पनि झण्डै दुई दशक हुन लागिसकेछ । तर, यो लामो अवधिमा तपाईका प्रेरणाहरुलाई संगाल्दै आफ्नो बाटोमा क्रियासिल रहे पनि यसको वारेमा जानकारीसम्म नगराएकोमा क्षमा चाहन्छु । म वास्तवमा के लेख्ने र कसरी यो पत्र पठाउने भन्ने वारेमा अलमलमा नै थिए । यस विचमा एकजना साथिले आमालाई पत्र लेख्ने हो भने पु¥याउने व्यवस्था गरिदिन्छु भनेर आग्रह गर्नु भएकोले खुशीसाथ यो पत्र लेख्दै छु । आशा छ, यो पत्र तपाइ समक्ष पुग्दा आफ्नो सन्तानप्रति गर्व महशुस गर्नु हुनेछ । किन कि मैले अहिलेसम्म तपाइले दिनु भएको संस्कार र देखाउनु भएको बाटोमा अविरल रुपमा अगाडी बढ्ने कामवाट कतै विचलित भएकी छैन । वरु त्यसलाई दिगो र विकसित गराउने प्रयत्नमा निरन्तर लागि परेकी छु ।

आमा, लामो समयदेखि तपाइसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न र अरु धेरै कुरा सिक्न नपाए पनि यस धर्तीमा आइसकेपछि आफ्नो लागि मात्र वाच्नु भन्दा पनि एउटा असल मानिसका रुपमा समाजको लागि केही गर्न निरन्तर प्रयत्नसिल रहनु पर्दछ भन्ने जुन प्रेरणा तपाइले दिनुभएको थियो, प्रत्येक पाइलामा यो भनाइले मलाइ घच्घच्याउदै यहासम्म ल्याइ पु¥याएकोछ । यसका लागि म संधैभरी तपाइप्रति अनुग्रहित छु र भइरहने छु ।

प्रिय आमा,
हरेक नागरिकले आफ्नो पहिलो ९ महिना आमाको कोखमा गुजारेर यस धर्तीमा प्रवेश गरेका हुन्छन् । त्यसपछि पनि आमा कै स्तनपानवाट हरेक शिशुले आफुलाई ह्ष्टपुष्ट र स्वस्थ बनाएका हुन्छन् । बाकी जीवनमा पनि आमाको माया र प्रेरणा भावी व्यक्तित्व निर्माण र लक्ष्य प्राप्तीको यात्रामा निरन्तर अगाडी बढ्नका लागि पलपलमा प्राप्त भइरहने आशिर्वाद, शुभकामना र सहयोग अरु कुनै पक्षसंग अतुलनिय हुने कुरालाई सायद कुनै पनि असल सन्तानले नकार्न सक्दैनन् ।

त्यो जमाना थियो, जहा छोरीलाई जन्मदेखि नै अर्काको नासो ठानिन्थ्यो । अनि त्यस समयमा आजको जस्तो चाहेको जति मात्र सन्तान जन्माउने अवस्था पनि थिएन । त्यस परिवेसमा आधा दर्जन छोरी सन्तान जन्माउदा तपाईले कुनै चिन्ता लिनु भएन । हुर्काउने सन्दर्भमा छोरा र छोरीको विचमा कुनै विभेद गर्नुभएन । वरु आफ्नो स्थान र हैसियतवाट गर्नसक्ने जति कुरामा सवै छोराछोरीलाई समान रुपमा माया, ममता र अवसर दिएर हुर्काउनुको साथै असल संस्कार दिनु भयो । हो, सामाजिक परिवेसका कारण सवै छोराछोरीले समान रुपमा शिक्षा दिक्षा पाउन सकेनन् । छोरीको कुरै छाडौ, पहिला जन्मिएका दुईजना छोरालाई समेत आधुनिक शिक्षाको लागि विद्यालय पठाउन परिवारभित्रै तपाइले गर्नु परेको संघर्ष र सहनु परेको पिडा हामिले सुनेका छौ । त्यो परिवेसमा पहिला जन्मिएका तीनजना छोरीहरुलाई तपाईले शिक्षाको समान अवसर चाहेर पनि दिन सक्नु भएन । त्यसमा तपाईको के दोष थियो र । सिंगो गाउवाटै कसैले छोरीलाई विद्यालय पठाउने कल्पनासमेत त्यतिखेर गरिदैन थियो । समयले साथ दिएको नै भन्नु पर्ला हामी अलि पछि जन्मिएका कारण दिदिहरुको दाजोमा शिक्षाको थप अवसर पाउन सक्यौ । यसलाई अभिभावक भन्दा पनि समयले पारेको फरक भनेर नै मान्नु पर्ला ।

तर मानवीय जीवनको महत्वपुर्ण पक्ष, सामाजिक न्याय र मानवीय मुल्य मान्यताका साथ जीवन जीउनका लागि तपाइले जुन संस्कार र आत्मविश्वास सवै सन्तानलाई दिनु भयो, त्यसले सवैलाई आ–आफनो ठाउमा कर्तव्यनिष्ट जीवन जीउन सिकाएको छ । जसका कारण आजका मितिसम्म पनि तपाइले कुनै सन्तानप्रति गुनासो गर्न पर्ने अवस्था छैन । सवैले आ–आफ्नो ठाउवाट सक्षमतापुर्वक भुमिका निर्वाह गरेका र संस्कारयुक्त व्यवहारकासाथ क्रियासिल रहेका छन् । कुनै पनि रुपमा शिर झुकाउन पर्ने काम कसैवाट भएको छैन । यो कुरा सुन्दा अवश्य पनि तपाइ आफ्नै जीवनप्रति पनि गर्व गर्नुहुनेछ, मैले यही अपेक्षा राखेको छु ।

यस कुराले आजकल अनुभुती हुन थालेको छ, हरेक व्यक्तिको असल जीवनका लागि आमाहरुले सानैदेखि असल र सुसंस्कृत हुन सिकाइ दिन सक्नुपर्ने रहेछ । यसको लागि समाजमा महिलाहरुले सानैदेखि त्यो संस्कार सिक्ने र सिकाउने अवसर पाउनु पर्दो रहेछ । समग्रमा भन्दा जुन परिवार वा समाजमा महिलाहरुलाई अवसरवाट बञ्चित गरिन्छ, समान र सम्मानजनक व्यवहार गरिदैन वा विभेदपुर्ण र दासतापुर्ण जीवन जिउन वाध्य पारिन्छ, उनका सन्तानहरु “असल, सम्मानीत र मर्यादित” हुन भावना र चाहनाले मात्र सक्दा रहेनछन् । आज समाजलाई नियाल्दा यसतै लाग्न थालेकोछ ।

भोली आफ्ना छोरीहरु सम्मानीत र मर्यादित हुन भन्ने चाहने आमाहरुले अर्काकी छोरी वा आफ्नो बुहारीप्रति पनि समान दृष्टिकोण र व्यवहार गर्नुपर्छ भन्ने कुरा कति महत्वपुर्ण रहेछ भन्ने कुरा आज म अनुभुती गर्दैछु । ति दिनहरु जव म भरखर विद्यालय जाने उमेरको थिए, कुनै पनि दिन तपाइले विहान–साझ घरायसी काममा भाउजुलाई सहयोग नगरी रहन दिनु भएन । सायद यही संस्कारले होला परिवारमा कहिल्यै छोरी र बुहारीका कारण तपाइले विवाद झेल्नु परेन । अरु कतिपय परिवारमा समेत त्यस किसिमको समस्या आउदा तपाइ मध्यस्तकर्ताको भुमिकामा जानु हुन्थ्यो । आज त्यस किसिमको मध्यस्तकर्ताको भुमिकाको कुरा राष्ट्रिय रुपमा उठिरहदा तपाईको त्यो दुरदर्शिताप्रति साच्चै गर्व लागेर आउछ ।

अर्कातर्फ, आज महिला मुक्तीको कुरा गरिरहदा धेरै ठाउमा कुरा उठ्ने गर्दछ, महिलामाथि अन्याय महिलाले नै गरिरहेका हुन्छन् । महिलामाथिको शोषण महिलावाटै बढी हुने गर्दछ । यस्ता कुरा उठिरहदा धेरैले दिने उदाहरण भनेको सासु–बुहारी वा भाउजु÷वुहारी र नन्द÷आमाजु विचको सम्बन्धमा रहेको तिक्तता र असमानता हुने गर्दछ । तर, आमा तपाइले आफ्नो परिवारमा यो कहिल्यै अनुभुत हुन दिनु भएन । म आज पनि सम्झन्छु, जुन दिन तपाइ हामिवाट टाढा हुदै हुनुहुन्थ्यो, त्यस दिन सायद छोरीहरुभन्दा बढी हाम्रा भाउजुहरु चिन्तित र दुखी भएका थिए । त्यसैले पनि देखाउथ्यो, परिवारमा तपाइले बुहारीप्रति गर्नु भएको व्यवहार र दिनु भएको संस्कारको परिणाम । आज नेपाली महिला आन्दोलनमा त्यही संस्कार जहा बुहारीलाई छोरीको रुपमा, अनि सासुलाई आमाको रुपमा हेर र व्यवहार गर भन्ने कुरालाई कसरी स्थापित गर्ने ? भन्ने कुरा एउटा ज्वलन्त विषय बनेको छ ।

तपाइले दिनु भएको त्यही संस्कार र सम्बन्धका कारण आज पनि परिवारमा आपसी लुछाचुढी, मनमुटाव, रिसडाह र प्रतिस्पर्दा छैन । बरु सहयोग र समन्वयको भावना र व्यवहार निरन्तर छ । जसका कारण, जो जुन क्षेत्रमा लागेका छन्, तुलनात्मक रुपले सक्षम र सफल नै भएका छन् । यसका लागि तपाइले जागृत गराइ दिनुभएको आत्मविश्वास र श्रमप्रतिको सम्मानको भावना नै प्रमुख हो भन्ने लाग्दछ । यो कुरा सुन्दा तपाइलाई थप सन्तोष हुनेछ भन्ने अनुभुतीकासाथ म यस कुरालाई पत्रमा उल्लेख गर्दैछु ।

आमा, तपाइको जमानामा भन्दा आज छोरी सन्तानहरु तुलनात्मक रुपमा सचेत र सशक्त हुदै आएका छन् । यो कुराको जानकारीले तपाइ पनि थप खुशी लाग्ने नै छ । शिक्षा, स्वास्थ्य, रोजगारीदेखि राज्य सञ्चालनका हरेक क्षेत्रमा उनीहरु “हामी सक्छौ” भन्ने मानसिकताकासाथ आफ्नो क्षमता विकासको प्रक्रियामा पनि क्रियासिल छन् । अवसर पाएका ठाउमा आफ्नो प्रभावकारी भुमिका प्रदर्शन पनि गरेका छन् । समाज निर्माणको अभियानमा महिला समुदायको भुमिका अझै प्रभावकारी बनाउन उनीहरु लागि परेका छन् ।

म आज पनि सम्झन्छु, साझ परेपछि पल्लो घरसम्म जानुपर्दा पनि हामीलाई साना भाइ र भदाहरु साथ लगाएर साथि पठाउनु हुन्थ्यो । अलि परै मामाको घर वा ठुली आमाको घर जादा त एक्लै पठाउने अवस्थै थिएन । आज तपाइका ति छोरीहरु एक्लै विश्व घुम्ने भएका छन् । घरमा नया मानिस आउदा वारीको पाटातिर भाग्ने छोरीहरु लाखौ मानिसको विचमा उभिएर निर्धक्क आफ्नो कुरा राख्न सक्ने भएका छन् । तर, त्यसो भनिरहदा समाज कहा पुर्णत सुरक्षित भएको छ र । महिलाहरुमा चेतना, सोच, आट, साहस र इच्छाशक्ति तिव्र रुपमा विकास भए पनि समाजको दृष्टिकोण र व्यवहारमा पर्याप्त परिवर्तन आएको छैन । यसका लागि महिला मात्र परिवर्तन भएर नहुदो रहेछ । पुरुषप्रधान मानसिकता र व्यवहार परिवर्तनका लागि पुरुषहरुमा पनि संगसंगै परिवर्तन भएन भने महिला एक्लैमा आएको परिवर्तनले इच्छित परिणाम नदिदो रहेछ । यसर्थ अवको हाम्रो पहल भनेको महिलामा रहेको पछौटेपन र पुरुषमा रहेको प्रभुत्वशाली मानसिकता र व्यवहारमा परिवर्तन गरी मानवीय मुल्य र मान्यतासहितको समाज निर्माण नै हो । र, महिला र पुरुष प्राकृतिक रुपमा फरक दायित्वसहित जन्म लिएका मानिस भए पनि हामि समान हैसियतका नागरिक हौ भन्ने सोचयुक्त समाजको स्थापना नै हाम्रो लक्ष्य हो । हामी यसैमा लागि परेका छौ ।

एउटा अनुभव सुनाउ आमा । केही समय पहिला म वाहिरवाट आउदा केही ढिला भएको थियो । तपाइलाई थाहै छ, हाम्रो घर मुल वाटोवाट झण्डै एक किलोमिटर जतिभित्र जानु पर्दछ । भाइलाई चोकसम्म लिन आउ भनेको त उसले मसंग ठट्यौली गर्दै भन्यो – तपाइ समानताको कुरा गर्ने, सशक्त महिलालाई पनि साझ दशै वजे लिन आउनु पर्ने ? मेरो पनि दिमागमा झ्वाट्ट जवाफ आयो र जवाफ दिए “हो मलाई म जस्ता महिलासंग डर छैन । तिमिहरु जस्ता पुरुषमा रहेको हिंस्रक सोच, मनोवृत्ती र व्यवहारवाट म ढुक्कसंग सुरक्षित अनुभुत गर्न सकिरहेकी छैन ।” त्यसैले म जस्ता महिलाको कारणले होइन, तिमि पुरुष क्याटेगोरिका मानिसमा रहेको पशुवत व्यवहारका कारण … । उ त्यसदिनदेखि साच्चै गम्भिर रुपमा महिलाको सुृरक्षित भएर बाच्न पाउने अधिकारको वारेमा पुरुषको भुमिकाको व्याख्याता भएको छ । कहिले काही ठट्टाले पनि मानिसको सोचमा गम्भिर परिवर्तन ल्याउदो रहेछ ।

हो आमा, समाजको महिलाप्रतिको विभेदकारी दृष्टिकोण अझै परिवर्तन भइसकेकोे छैन । र, यो समस्या तुलनात्मक रुपमा छोरा सन्तानहरुमा बढी रहेको छ । बाल्यकालमा तिनै आमा, दिदि र भाउजुहरुको ठुलो त्याग र गहिरो माया ममता पाएर हुर्किए पनि जवान भए पछि आमा र तिनै महिलाहरुको योगदानलाईसमेत भुलेर महिलाहरुलाई हेप्ने, विभेद गर्ने र कतिपयले अपमानपुर्ण व्यवहार गर्न समेत पछि पर्दैनन् । विगत वर्षदेखि त अझै महिला हिंसाका लज्जाजनक घटनाहरुका कारण खास गरी स्वाभिमानी पुरुषहरुले शिर नुहेको अनुभुती गर्न थालेका छन् ।

कलिला बालिकाहरु आफ्नै बाबु, छिमेकी र शिक्षकवाट बलात्कृत भएका समाचारहरु वाहिर आएका छन् । कार्यालयमा काम गर्ने महिलाहरु सहकर्मीवाटै हिंसामा परेका छन् । विद्यालय जाने ३७ प्रतिशत वालिकाहरुले आफ्नै शिक्षकवाट यौन हिंसामा परेको कहाली लाग्दो कुरा बताएछन् । सोचनीय कुरा भनेको यी सवै घटनामा ९५ प्रतिशत पिडक पुरुष जाती रहेका छन् । यस कुराले पनि अनुभुती गराएको छ, अव प्रत्येक आमाबाबुले आफ्ना छोरा सन्तानहरुलाई सुसंस्कृत र असल मानिस हुन सानैदेखि ध्यान दिनुपर्ने आवश्यकता छ । सुसंस्कृत समाज निर्माणको अभियानमा छोरीलाई नियन्त्रण गर्नुभन्दा पनि छोरा सन्तानलाई सुसंस्कृत बनाउदै आमा, दिदी–बहिनी र छोरीका रुपमा सवै महिलाप्रति सम्मान, समान र मर्यादित रुपमा हेर्ने र व्यवहार गर्ने संस्कार दिनुपर्ने आजको आवश्यकता र प्रत्येक आमाबाबुको दायित्व बनेको छ ।

हो आमा जवसम्म पुरुषहरुमा महिलालाई देख्दा मनमा आफ्नो आमा, दिदिवहिनी र छोरीको याद आउने संस्कार र संस्कृतीको विकास हुदैन, महिलाहरु जतिसुकै आत्मविश्वासी, सक्षम र आटी भएर पनि पुरुषप्रधान समाजले सिर्जना गरेका चुनौतीवाट मुक्त हुन सक्दा रहेन छन् । यसर्थ, महिलाको पुर्ण मानव अधिकार प्राप्तीका लागि पुरुषमा परिवर्तन अपरिहार्य पक्ष हो र त्यसका लागि पुरुष पक्षवाट नै पहल हुनु जरुरी छ । यसको लागि सानैदेखि छोराहरुलाई मानवीय संस्कारयुक्त बनाउनु जरुरी छ । धन्न आमा तपाइले आफ्ना सवै सन्तानलाई सुसंस्कार सिकाउनु भएकोले यस परिवारभित्र आजका मितिसम्म कुनै पनि किसिमका विभेद र हिंसाको अनुभती गर्न परेको छैन । समाजले तपाइका सन्तानमाथि औला उठाउने अवस्था आएको छैन । यो तपाइहरुले जन्म दिनुकासाथै मानवीय मर्यादा सिकाएर सन्तानप्रति गरेको न्याय पनि हो । कहिलेकाही मनमा आउछ, सवैका आमा–बाबुले सन्तानलाई हाम्रा आमा–बाबुले झै न्याय गर्न सकेको भए ???

आमा, अर्को खुशीको कुरा पनि सुनाउन चाहन्छु । आज राज्यका सवै निकायहरुमा महिलाको समानुपातिक सहभागिताको मुद्दाले उचाइ लिइरहेको छ । म सम्झदैछु, त्यस जमानामा पनि तपाइ समुदायमा हुने गतिविधिहरुमा सहभागिता जनाउने गर्नुहुन्थ्यो । हामी विद्यालय जान थालेपछि विभिन्न गतिविधिमा भाग लिन चाहदा तपाइले कहिल्यै रोक्नु भएन । बरु पछिल्ला दिनहरुमा विद्यार्थी आन्दोलनमा सहभागि हुने क्रममा देखा परेका कतिपय अप्ठेरा र खवरदारी स्वरुप उठेका औलाहरु विरुद्ध ढाल बनेर हामिलाई जोगाउनु भएको थियो । तपाइलाई अझै याद होला, एकदिन म अखिलको कार्यक्रममा गएर राति अवेर आउदा वुवा सिंह झै गर्जेर बस्नु भएको थियो । त्यो परिवेसमा घर आइपुगेर पनि मलाई भित्र पस्ने आट आइरहेको थिएन । लामोसम्म वाहिर कुर्दा पनि बुवा सुत्न नगएपछि “नचाहिदो काममा गएकी होइन क्यारे । किन डराउनु । आइजभित्र” भनेर बुवाको अगाडी बघिनीले झै सन्तानको पक्ष लिनु भएको थियो र म डराउदै भित्र पसेकी थिए । सन्तानको पक्षमा तपाइको गर्जाइपछि बुवा कुनै प्रतिक्रिया विना आफ्नो कोठा तर्फ लाग्नु भएको थियो । सायद त्यही दिनको प्रभावले होला मेरो मानसिकतामा मात्र होइन बुवाको मानसिकता र व्यवहारमा पनि परिवर्तन आयो । र, त्यसपछिका दिनमा परिवर्तनको पक्षमा म संलग्न हुदा कहिल्यै त्यस किसिमको अवरोध भोग्नु परेन ।

यसरी घरभित्रैवाट महिला समानता र सामाजिक न्यायको विषयमा संलग्न हुने क्रममा संधै तपाइले उत्प्रेरणा दिनु भएकै कारण आज महिलामुक्तीको आवाजमा निरन्तर आवाज थप्न सकेकी छु र समाज सामु थोरै नै भए पनि प्रेरणा छर्न सकेको छु भन्ने लाग्दछ । यसको पुर्णत श्रेय तपाइलाई जान्छ भन्ने कुरामा कुनै द्धिविधा छैन । अव त महिलाहरु राज्यका हरेक क्षेत्र र तहमा एकतिहाइ त टेक्ने आधार मात्र हो, अधिकार समान सहभागिताको हो भन्ने तहमा पुगिसकेका छन् । यही लडाइमा आज महिला आन्दोलन केन्द्रीत हुदैछ ।

आमा, आज यो पत्र लेख्न वसिरहदा मलाई २०३९ सालतिरको याद आइ रहेको छ । त्यतिखेर जव हाम्रो परिवारमा अंशवण्डा हुदै थियो, म अखिलमा लागि सकेकोले अलिअलि कुरा बुझ्ने भइसकेकी थिए । त्यसैले भएको सम्पत्ती सवै छोराहरुलाई मात्र भाग लगाएको कुरामा मैले त्यसको प्रतिवाद गर्दा तपाइले भन्नु भएको थियो “के गर्नु कानुन नै त्यस्तै रहेछ । छोरीहरुका लागि अंश भाग लगाउन सकिएन । ठिकै छ, तिमिहरुले चाहे जति पढाइ दिने कुरा भएकोछ । राम्ररी पढ र आफ्नै कमाइमा बाच्न सिक । बाबुको सम्पत्तीले कसलाई पुगेकोछ र ।” तपाइको मनले नमान्दा नमान्दै पनि सम्झाउने प्रयत्न स्वरुप ति कुराहरु भनिएका भए पनि त्यही कुरा हाम्रा लागि अध्यारोको सहारा जुनकिरीको उज्यालो सावित भएकोछ । तपाइका छोरीहरु आफ्ना खुट्टामा उभिएका छन् ।

तर आमा, आज परिस्थितिले कोल्टो फेरेको छ । खुशीको कुरा २०६३ सालमा घोषणा भएको अन्तरिम संविधानले छोराछोरीलाई पैत्रिक सम्पत्तीमा समान अधिकारको व्यवस्था गरेकोछ । अझ गर्वको कुरा उक्त प्रावधान कार्यान्वयनको अगुवाई गर्न नेकपा एमालेले २०६४ सालमा नै आफ्ना सदस्यहरुलाई निर्देशन गरिसकेको छ । आमा, छोरीलाई पनि छोरा समान अंश दिन सवैभन्दा पहिला निर्देश गर्ने त्यही पार्टीको कार्यकर्ता हुन पाउदा मैले गर्व अनुभुत गरेकी छु । अवका छोरीहरुले आफै जन्मेका घरमा पराइ सरहको अनुभुत गर्दै अर्काको सम्पत्तीमा मात्र भर पर्नुपर्ने र दासतालाई स्विकार गर्नुपर्ने अवस्थाको अन्त्य भएकोछ । यो व्यवस्था अव क्रमश कार्यान्वयनमा जान थालेको छ । म कल्पना गर्छु, आज तपाइ यस धर्तीमा हुनु भएको भए यो कुरा सुन्दा सायद सवैभन्दा बढी खुशी हुनुहुन्थ्यो होला ।

आज धेरै छोरीहरु आफ्नो व्यक्तित्व विकास र आत्मनिर्भरताको वाटोवाट अगाडी बढ्दैछन् । तपाइलाई थाहै छ, एउटा आमा भइसकेपछि उसले घरपरिवारकै काममा त धेरै फरक पर्दछ भने वाह्य रोजगारीमा लाग्ने महिलाको जीवनमा यसले झनै धेरै अप्ठेराहरु पर्ने गर्दछन् । त्यसैले, पनि तपाइको पालामा जस्तो दर्जनौ सन्तान जन्माउने कुरा आजका महिलाले कल्पना पनि गर्न सक्दैनन् भने आफ्नो व्यक्तित्व विकास, आत्सम्मान, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व समेतमा समान हैसियत खोजिरहेका महिलाहरु परिवारकै लागि भनेर सन्तान जन्माइ रहने कुरामा सहमत हुन छाडेका छन् । त्यसैले सन्तान जन्माउने कुरा महिलाको शरिर र व्यक्तित्वसंग जोडिएको हुनाले कति सन्तान जन्माउने, कहिले जन्माउने लगायतका प्रजनन अधिकार महिलामा हुनुपर्ने कुरा पनि सुविचारित रुपमा उठ्न थालेकाछन् ।

अर्को कुरा, छोरीलाई सन्तान नै हैन झै ठानेर छोराको पर्खाइमा दर्जनौ छोरी जन्माउने संस्कारमा आमुल परिवर्तन आएकोछ । बृद्धा अवस्थाकै कुरा गर्ने हो भने पनि अव धेरै मानिसहरु छोरीवाट धेरै आशा गर्न थालेका छन् । ग्रामिण क्षेत्रमा छोरीको कमाइ खान हुन्न, छोरीको घरमा बस्नु हुन्न भन्ने सोच केही मात्रामा वाकी रहे पनि, आम रुपमा छोराछोरीको अधिकार र दायित्व दुवै वरावर हुन्छ भन्ने तर्ककासाथ आमाबाबुको मात्र होइन, छोरा–बुहारी र छोरी–ज्वाइको सोचमा पनि परिवर्तन हुन थालेको छ । आमा साच्चै आज यी सव परिवर्तन देख्न पाउनु भएको भए तपाइ कति खुशी हुनुहुन्थ्यो होला भन्ने म कल्पना मात्र गर्न सक्दछु ।

आमा, अझै पनि हाम्रो लडाइ जारी छ । हाम्रो गाउको पुछारमा रातमाटेकी दिदिले छोरा जन्माइन्, तर उसको बाबुको पत्तो नलाग्दा उनले सहनु परेको अपमान र सामाजिक दुरव्यवहारको वारेमा तपाइले लिनु भएको चिन्ता र ति दिदिको पक्षमा गरेको पहरेदारी आज पनि मेरो आखा अगाडी आइ रहेकोछ । र, अझै पनि आमाका सन्तानहरुले सहजतापुर्वक नागरिक पहिचान नपाउदाको पिडा सुन्दा त्यस समय तपाईले गर्नु भएको चिन्ता स्मरण भइरहन्छ । आमाको नाममा सन्तानले नागरिकता पाउने कुरा अझै सहज हुन सकेको छैन । तर, विश्वास गर्नोस आमा हामीले हार खाएका छैनौ । निरन्तर हाम्रो पहल जारी छ । आज रातमाटेकी ति दिदि जस्ता सैयौ आमाहरु आफ्ना सन्तानको नागरिक पहिचानको समस्या वोकेर आउने गरेका छन् । सन्तानलाई जन्म दिएपछि बाबुको दायित्व पुरा गर्नुको बदला वेवास्ता गर्ने वा वेपत्ता भइदिने गैरजिम्मेवार पुरुषवाट सिर्जना हुने समस्याको भागिदार आज महिलाहरु हुनु परिरहेको छ । जसोतसो बढाउने पढाउने काम आमाले गरे पनि पुरुषवादी सोचवाट मुक्त नभइसकेको हाम्रो प्रशासनयन्त्र ति नानीहरुलाई आमाको नामवाट नागरिक पहिचान दिन अझै सहज मानिरहेको छैन । यो विषय राजनीतिक पार्टीदेखि सामाजिक आन्दोलनसमेत विभाजित मनस्थितिमा छ । महिला समानताको कुरा गर्ने शिर्ष व्यक्तिहरु समेत यस विषयमा स्पष्ट नभइदिनु अर्को विडम्वना हो । तर, उच्च मानसिकता र गहिरो विश्वासकासाथ यो सामाजिक न्यायको लडाइमा एकदिन अवश्य पनि जित हाम्रै हुनेछ भन्ने कुरामा हामी अभियन्ताहरु निश्चिन्त छौ । चाहे लडाइ जतिसुकै गाहे र लामो किन नहोस ।

समयले हामिलाई एक्काइशौ शताव्दीमा अगाडी बढाइरहेको छ । तर आमा, देश अझै पनि राजनीतिक अस्थिरताको भुमरीवाट पुर्णत मुक्त नभइसकेको मात्र होइन, पितृसत्तात्मक सोच र मानसिकताको भुमरीवाट पनि मुक्त हुन सकेको छैन । तर, महिलाको अंश, बंश र सहभागितामा समान हकको अभियान नया उचाइमा प्रवेश गरेको छ । महिला विरुद्ध हिंसा अन्त्यको लागि पुरुष युवाहरु समेत संगठित रुपमा उठ्न थालेका छन् । यसको ज्वलन्त उदाहरण गत वर्षको “अकुपाइ वालुवाटार” अभियानलाई लिन सकिन्छ ।

आर्थिक रुपमा पनि महिलाहरु पराश्रित होइन, स्वाभिमानीपुर्वक आफ्नो खुट्टामा उभिन थालेका छन् । औेपचारिक रोजगारीमा पछाडी परेको अवस्था विद्यमान भए पनि श्रम सहभागिताको आधारमा नेपाल विश्वको वाहै स्थानमा रहेको छ । तर, श्रमको गणना, प्राप्त हुने पारिश्रमिक र सेवाको रुपमा भने अझै पनि ९६औ स्थानमा छ । १०० जना पुरुष श्रम वजारमा रहदा ९४ जना महिला पनि श्रम वजारमा सहभागि भएको तथ्यांकले बताउदछ । यस अवस्थामा सुधारका लागि श्रमजीवी महिलाहरु संगठित आवाज निर्माणको अभियानमा क्रियासिल हुदैछन् भने श्रमिक युनियनहरुको पनि सकारात्मक सहयोग रहदै आएकोछ ।

शिक्षाको क्षेत्रमा महिलाहरुको सहभागिता तिव्र गतिमा बृद्धी हुदोछ । प्रौढ महिलाहरुलाई तपाइले जस्तै विद्यालय जाने छोराहरुको छेउमा बसेर अक्षर चिन्नु पर्ने बाध्यता आज छैन । गाउ–गाउमा साक्षरता कक्षाहरु सञ्चालन भएका छन् भने ठाउ–ठाउमा प्रौढ महिलाका लागि विद्यालय नै खुलेका छन् । तपाइका लागि विशेष खुशीको कुरा आमा, जमानाको बाध्यतावस तपाइहरुले विद्यालय पठाउन नपाउनु भएका तपाइका छोरीहरु समेत ति विद्यालयमा गएर पढ्न थालेका छ्न । त्यो दृश्य तपाइ आफैले देख्न पाउनु भएको भए साच्चै, समयले ल्याएको यो परिवर्तनप्रति तपाइले गौरव गर्नुहुने थियो होला ।
यसैले त आमा, तपाइले भन्ने गर्नु भएको कुरा “समय बलवान हुन्छ । न त यसले कसैलाई पर्खेर वस्दछ , न त यसलाई कसैले रोक्न सक्दछ । त्यसैले समयलाई ठिक हिसावले पक्रन र अगाडी बढ्न सक्नु पर्छ । यसको लागि बुद्धी र विवेकको विच सामञ्जस्यता कायम गर्न सक्नुपर्दछ ।” को मलाई हर वखत याद आउने गर्छ र त्यसलाई पछ्याउने प्रयत्नमा म निरन्तर प्रयत्नरत छु ।

यति नै कुरा लेख्दा पनि पत्र लामै भएछ । माथि उल्लेख भएका कतिपय उपलव्धीलाई संस्थागत गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने काम अझै जारी छ । आगामी दिनमा प्राप्त हुदै गएका उपलव्धीलाई सफलताको टाकुरामा बसेर तपाइलाई जानकारी गराउदै जाने बचनवद्धताकासाथ आजलाई यो पत्र यही अन्त्य गर्ने अनुमती चाहन्छु ।

तपाईको आदर्शलाई सदा प्रेरणाको रुपमा शीरमा राखेर अग्रगामी यात्राको निरन्तर अभियन्ता तपाइकी छोरी ।

बिन्दा ।

May 27, 2014