‘जहाँ शोषण हुुन्छ, त्यहाँ संघर्ष हुन्छ, जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ’ भनेझैं समाजमा व्याप्त पितृसत्तात्मक विभेदमा लामो समय चुपचाप रहेका महिलाहरू चेतनाको विकास र अनुकूल वातावरणको निर्माणसँगै विस्तारै आफ्नो अधिकारका लागि संगठित रूपमा आवाज उठाउन थाले । समानताका पक्षपाती पुरुषहरू पनि यस अभियानको सहयोगी बन्दै आए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् मार्च ८ यही प्रक्रियाको उपज हो ।

पन्ध्रौं, सोह्रंौं शताब्दीमा पश्चिमी युरोपमा पुँजीवादी उत्पादन तीव्र रूपमा बढ्न थाल्यो । अठारौं शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिको सफलतासँगै श्रमिकको आवश्यकता बढ्दै जाँदा महिलाहरू पनि घर बाहिरको उत्पादनमा भाग लिनथाले, तर उनीहरूलाई दिइने कम पारिश्रमिक, लामो कार्य घन्टा, महिलाजन्य आवश्यकतामा बेवास्ता लगायतका कारणले उनीहरूमा असन्तुष्टि बढ्न थाल्यो । अनि विभिन्न क्षेत्रका व्यक्तिहरूले महिलाविरुद्ध हुने शोषण, दमन र यस किसिमका अमानवीय व्यवहारविरुद्ध आवाज उठाउन थाले । सन् १७७९ मा बेलायती महिला मेरी ओल्स्टोनक्र्याफ्टबाट पहिलोपटक महिलामाथि भइरहेको पितृसत्तात्मक शोषण र शासनकोे विरोध गर्दै राज्यसंयन्त्रमा महिलाको समान अधिकारको माग

भयो । यही क्रममा उनको समाजवाद र महिला नामको पुुस्तक पनि प्रकाशित भयो, जसले आन्दोलनमा इन्धन थप्ने काम गर्‍यो । यसको १० वर्षपछि १७८९ अक्टोबरमा पेरिसका गरिब र श्रमजीवी महिलाहरू तथा साना व्यापारीका श्रीमतीहरूले चरम महँगीको विरोध गर्दै पेटभरि रोटीको माग गर्दै जुलुससहित धर्नामा बसेे ।

श्रमिक महिलाको विरोध विस्तार हुँदै जाने क्रममा सन् १८५७-८ मार्चको दिन अमेरिकाको सुती कपडा उद्योगमा काम गर्ने महिलाहरू कामको घन्टा कम गराउने मागसहित आन्दोलनमा उत्रिए । यही आन्दोलन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् मार्च ८ को जग बन्यो । श्रमिक बीचको एकता र सहकार्य राष्ट्रिय सीमाभन्दा फराकिलो बन्दै गयोे । ‘एकतामा मात्र श्रमजीवी वर्गको बल हुन्छ’ भन्ने कुरा बुझ्न थालेका श्रमिकले अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई संस्थागत गर्दै सन् १८६४ मा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक संघ गठन गरे, जसमा बेलायतको एकजना महिलाको पनि सहभागिता थियोे ।

यही अवधिताका बेलायतका महिलाहरूले पनि संगठित रूपमा मताधिकारको आवाज उठाउन थाले । यसको २ वर्षपछि १८६७ मा जोन स्टार्ट मिलले बि्रटिस संसदमा १५०० व्यक्तिको हस्ताक्षरसहित विधेयक पेस गरे, जसमा महिलाको समान मताधिकारको विषय पनि समावेश थियो । महिला मताधिकारको विषयले संसदमा औपचारिक प्रवेश पाएको यो पहिलो घटना हो ।

सन् १८६८ मा कार्लमाक्र्सले महिला अधिकारको प्रश्नलाई सशक्त ढंगले उठाउँदै ‘समाजमा महिलाले समान अधिकार पाउनका लागि आर्थिक उत्पादनको क्षेत्रमा भाग लिनुपर्ने, रोजगारीमा महिलाले समान अवसर पाउनुपर्ने र उनीहरूको निम्ति शिशु स्याहार लगायतका अलग र उचित प्रबन्ध हुनुपर्ने’ कुरामा जोड दिए । यस कुराले धेरै महिला श्रमिकलाई संगठित हुन र आफ्नो अधिकारको बारेमा आवाज उठाउन प्रेरणा थप्यो । फलस्वरूप १८८९ मा पेरिसमा सम्पन्न श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको मञ्चबाट क्लारा जेट्किनले महिला र पुरुषको समान अधिकारको कुरालाई पहिलोपटक व्यवस्थित र सशक्त रूपमा उठाउनुभयो । जेन्डर समानताको आन्दोलनमा यो घटना कोशेढुंगा बन्न पुग्यो ।

१८९० बाट महिला मताधिकारसम्बन्धी संगठनहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा नै एकजुट हुनथाले । परिणामस्वरूप सन् १८९३ मा न्युजिल्यान्डका महिलाले विश्व इतिहासमा नै पहिलोपटक मताधिकार प्राप्त गरे ।

१८९२ बाट क्लारा जेट्किनकोे सम्पादकत्वमा जर्मनीको महिला श्रमिक आन्दोलनको मुखपत्रको रूपमा ‘समानता’ नामक पाक्षिक पत्रिका प्रकाशित हुन थाल्यो । यसले अन्तर्राष्ट्रिय तहमा श्रमिक महिलाबीच चेतना फैलाउन र अधिकारको निम्ति संगठित

हुन प्रेरित गर्‍यो । फलतः ८ मार्च १८९७ मा महिलाका लागि उचित पारिश्रमिक र १० घन्टाको कार्यदिन माग गर्दै न्युयोर्कका श्रमिक महिलाहरू आन्दोलनमा उत्रिए ।

१९०८ को मार्च ८ का दिन न्युयोर्क र १९०९ मार्च ८ का दिन सिकागो सहरमा कारखाना हडताल गर्दै महिलाहरू जुलुस प्रदर्शन र आमसभा गर्दै अधिकारको माग गरे । विश्व श्रमिक आन्दोलनको इतिहासमा यसलाई महत्त्वपूर्ण घटना मानिन्छ ।

१९०७ मार्च ८ का दिन जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरी स्थापना भएको श्रमिक महिला संघले १९१० मा समाजवादी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन गरे । १७ देशका महिला श्रमिक, राजनीतिकर्मी, श्रमिक क्लबका सदस्यहरू र महिला सांसदसहित झन्डै १०० जनाको सहभागिता रहेको यस सम्मेलनमा क्लारा जेट्किनले मार्च ८ लाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा मनाउन राखेको प्रस्ताव सर्वसम्मत पारित भयो र क्लारा जेट्किनलाई यस दिवसको प्रबर्धकका रूपमा लिन थालियो । सन् १९११ बाट विश्वका विभिन्न देशमा उत्पादनमूलक रोजगारीमा महिलाका लागि स्थान देऊ भन्दै पुरुष श्रमिकहरूलाई समेत आह्वान गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।

नेपालमा ८ मार्चको सार्थकता

नेपालमा यस दिवसको खोजी गर्दा विसं २०१७ मा धनकुटाका केही शिक्षिकाले मनाएका थिए भन्ने सुनिन्छ, तर त्यसपछि पञ्चायती कालरात्रिमा यसको बारेमा चर्चा हुने अवस्थै रहेन ।

विश्वभरका श्रमिक महिलाहरूले यस दिवस मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्रसंघले १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्षका रूपमा मनाउने र मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने घोषणा गर्‍यो । त्यसपछि २०३२ बाट रानीको नेतृत्वमा दरबारिया र घरानियाँ महिलाहरूको बीचमा नारी दिवसका रूपमा भोजभतेरसहित मनाउन थालियो, जुन यस दिवसको ऐतिहासिकताभन्दा विलकुल फरक थियो ।

२०३५-३६ सालको विद्यार्थी आन्दोलनपछि २०३७ मा सम्पन्न ७१ औं वर्षदेखि यस दिवसलाई वास्तविक मर्म र सार्थकताअनुसार नेपाली श्रमजीवीे र मुक्तिकामी महिलाहरूले समानताप्रेमी समुदायको साथमा राष्ट्रव्यापी रूपमा मनाउन थालेका हुन् । एकीकृत विश्व महिला आन्दोलनले शताब्दी पार गरिरहँदा नेपाली महिला आन्दोलनले पनि धेरै फड्को मारिसकेको छ । सन् १९१७ मा रूसका महिलाहरू क्रान्ति-उत्सव मनाइरहँदा नेपालमा योगमाया न्यौपानेहरू सतीप्रथाको अन्त्य लगायतका सामाजिक सुधारका माग लिएर आन्दोलित हुँदै थिए । सन् १९४० को दसकमा चिनियाँ महिलाहरू ऋणमूल परिवर्तनको सपनासहित लम्मे यात्रामा लामबद्ध भइरहँदा नेपालमा सहाना प्रधान र मंगलादेवीहरू शिक्षा, मताधिकार र नागरिक अधिकारको माग गर्दै सडकमा उत्रँदै थिए । १९९० को दसकमा विश्वका महिला राज्यशक्तिमा समान हैसियत र सहभागिताको माग गरिरहँदा हामी पाँच प्रतिशत सहभागिताको कुरा संविधानमा लेख्दै थियौं ।

आज समाज धेरै अगाडि बढिसकेको छ । नेपाली समाजको चेतना र क्रियाशीलतामा धेरै प्रगति भएको छ । विगत दुई दसकमा नेपाली महिला आन्दोलनले ठूलो फड्को मारेको छ । यसको सबैभन्दा उत्कृष्ट र तथ्यगत उदाहरण २०६२-६३ को जनआन्दोलनमा महिलाको सहभागिता हो । शासकको बन्दुकको अगाडि छाती खोलेर मैदानमा उत्रनसक्ने नेपाली महिलाहरू अवसर पाएमा राज्य सञ्चालनका हरेक क्षेत्रमा सिर्जनात्मक र रचनात्मक रूपमा क्रियाशील हुनसक्छन् भन्ने आत्मविश्वास र तत्परतालाई सार्थक भूमिका दिनु आजको आवश्यकता हो ।

संविधान निर्माणको संघारैमा उभिन पुगेको यस घडीमा महिलालाई समान हैसियतको नागरिकको रूपमा स्वीकार गर्दै वंश, अंश र सहभागितामा समान अधिकारको सुनिश्चिततासहित निश्चित समयका लागि शिक्षा, स्वास्थ्य, रोजागारी र सामाजिक सुरक्षामा सकारात्मक कार्यको ठोस योजनासहित अगाडि बढ्नु नै हो ।

यसका साथै महिलाप्रति राखिँदै आएको हेय दृष्टिकोण, सोच, मानसिकता, प्रवृत्ति र व्यवहारमा परिवर्तन गरी महिलाविरुद्ध हुने सबै किसिमका हिंसाको अन्त्य आफैंबाट सुरु गरिनुपर्छ । आफ्नो शरीरमाथि आफ्नो अधिकारको सिद्धान्तलाई स्थापित गर्दै प्रजनन दायित्व सामाजिक दायित्वका रूपमा मातृत्व संरक्षण राज्यको सरोकारको विषय बन्नुपर्छ । आर्थिक उपार्जनका क्षेत्रमा महिलाको समान सहभागिता प्रभावकारी बनाउन घरायसी काममा पुरुषको सहकार्यको संस्कारमा जोड दिनुपर्छ । यसो गर्न सक्यौं भनेे हामीले कल्पना गरेको समतामूलक समाज अवश्यम्भावी छ ।

यसका लागि आमनागरिकको सचेत, संवेदनशील र जागरुक एकता, सहकार्य, समन्वय र ऐक्यबद्धतासहितको क्रियाशीलता अझै कसिलो हुनुपर्छ । कम्तीमा नेतृत्वको भनाइ र गराइमा एकरूपता आवश्यक छ । यसो गर्न सकिएमा समयको माग र गतिलाई आत्मसात गर्दै समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणले सार्थकता पाउनेछ । सम्मानित नागरिक र समृद्ध जीवनको कल्पनाले सार्थकता पाउनेछ ।

प्रकाशित मिति: २०६७ फाल्गुन २४ ०७:३०
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=238013